साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी भदौ २।
मुसिकोट नगरपालिका २ की ६० बर्षीया तिलादेवि घिमिरेलाई घरमै पानी आउला भन्ने कल्पना पनि थिएन्। जीवनका उर्जाशिल समय पँधेराको पानी बोकेरै बिते ।
घाम नउँदाउँदै मसुरपानी पँधेरामा पुग्नु पथ्र्यो । दिनभरको मेलापातको कामले लखतरान शरिर । साँझ पनि पुन:पँधेरा नधाउनुको विकल्प थिएन् । अहिले जलकुने सौरपाटा लिफ्ट खानेपानी आयोजनाले भने घिमिरेको दैनिकी फेरिएको छ । ‘घरमै पानी आउन थालेका दुई बर्ष पुग्न थाले, बिगत सपना जस्तो लाग्छ,’उनले भनिन,‘अहिले समयको बचत र पानी पनि प्रसस्तै भएको छ ।’ उच्च भु–भागमा बस्ती भएकाले नेटा, मुसिकोट र वडागाउँका नागरिकले बर्षौदेखि खानेपानीको संकट भोग्दै आएका थिए।
अहिले गाउँ–गाउँमा लिफ्ट प्रविधी मार्फत खानेपानी आपूर्ति भएपछि स्थानीय खुसी छन्। पानी बोक्न खर्च गर्ने समय खेतीपाती र अन्य व्यावसायमा लगाउन थालिएको स्थानीय युवा बसन्त अधिकारीले बताए। अरबाँज सोलार लिफ्ट खानेपानी योजना निर्माण भएपछि ३८ घर परिवार र सिद्ध प्राविका बिद्यार्थीहरुलाई खानेपानी सहज भएको छ। त्यो भन्दा पहिले एक डेढ घण्टा हिडेर पँधेरा पुग्नुपर्ने बाध्यता थियो। ०७५ चैतबाट सोलार लिफ्ट संचालनमा आएपछि बिद्यालय र स्थानीयलाई सहज भएको स्थानीय केशव बहादुर रायमाझी बताए ।
मुसिकोटमा मात्रै १० लिफ्ट खानेपानी
मुसिकोट वडागाउँ खानेपानी योजनाले थेग्न नसकेपछि मुसिकोटमा स्थानीय तहको गठनसंगै धमाधम लिफ्टिङ्ग खानेपानी संचालनमा आएका छन् । मुसिकोट वडागाउँ खानेपानी योजना ठुलो र पुरानो योजना हो। ३६ किलोमिटर टाढा दुनाममा मुल भएकाले पटक–पटक फुट्ने, पहिरोले बगाउने लगायतका समस्याले खानेपानी नियमित थिएन्। सुख्खा समयमा मुसिकोट र वडागाउँका स्थानीयले टयांकरमा पानी किनेर खानुपर्ने बाध्यता समेत बिगतमा रहेको स्थानीय महेन्द्र घिमिरेले बताए ।
बिद्यूतको पहुँच बिस्तारसंगै मुसिकोट नगरपालिकाले १० स्थानमा लिफ्ट खानेपानी योजना संचालन भएका छन् । मुसिकोट नगरपालिका वडा नं १ मा दुई, वडा नं २ मा एक, वडा नं ३ मा २, वडा न ४ मा तीन, वडा नं ८ मा एक र वडा नं ९ मा एउटा लिफ्ट खानेपानी योजना संचालन भएको वास संयोजक सिता भुसालले जानकारी दिइन् । बिद्युत विस्तार भएपछि बर्षौदेखि धेरै टाढाबाट खानेपानी बोकेर पिउन बाध्य थुप्रै नागरिकलाई लिफ्ट मार्फत खानेपानीको पहुँच स्थापित गरिएको भुसालले बताइन् ।
खोलापानी–धरमपानी–मैदान लिफ्ट खानेपानी योजना मार्फत दुई ४३ घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । जसका कारण एक÷डेढ घण्टा हिडेर पँधेरा र कुवा धाउनुपर्ने नागरिकको बाध्यता टरेको छ। तर अनियमित बिद्युतको चपेटामा उपभोक्ता समिति र नागरिक परिरहेका छन् । बिद्युत नियमित नुहँदा पम्पहरु बिग्रने, लामो समय बिद्युत मर्मत नहुँदा पुन:पँधेरा र कुवा धाउनु पर्ने साथै पम्पहरुमा समस्या भए तत्काल मर्मत गर्ने जनशक्ति नहुँदा समस्या भएको खोलापानी–धरमपानी–मैदान लिफ्ट खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष हिरण्यराज घिमिरेले बताए । लिफ्ट खानेपानी महङ्गो छ । मासिक आठ युनिट सम्मको लागि न्यूनतम तीन सय ७० मुल्य निर्धारण गरिएको छ । घिमिरेले मासिक ५०/५५ हजार बिद्युत महसुल बुझाउने र तीन कर्मचारीको पारिश्रमीक र नियमित मर्मतका थुप्रै रकम खर्च हुने गरेको छ ।
बिद्युत र सोलार लिफ्ट सिचाई
मुसिकोट नगरपालिकाका विभिन्न स्थानमा चार वटा सोलार लिफ्ट सिंचाई आयोजना संचालनमा रहेका छन्। सिंचाईको समस्या भएका स्थानमा सोलार लिफ्ट प्रयोग गरिएको छ। बडिगाढ–ताल्तुङ्ग सोलार लिफ्ट सिंचाइँ मार्फत एक सय ३० रोपनीमा खेती गरिएको वडा सदस्य बाबुराम खत्रीले जानकारी दिए । उनले सोलार लिफ्ट बेमौसममा खेती गर्न समेत निकै उपयोगी भएको बताए । धेरै दिन घाम नलागे सोलार प्रविधीमा गाह्रो हुन्छ। अरु बेला बिहानदेखि बेलुकासम्म पानी तान्न सकिने भएकाले सिंचाँइको अभाव हुँदैन् । सिचाईँ सुविधा पाएपछि खेतमा धेरै कृषकले केहि न केहि उत्पादन गरिरहेको खत्रीले बताए । सोहि ठाउँमा बिद्युती लिफ्ट सिंचाईको काम भइरहेको छ। खत्रीले बिद्युत र सोलारबाट संचालित लिफ्ट सिस्टमका पम्पहरु बिग्रिएपछि मर्मत गर्ने जनशक्ति गाउँमा नभएका कारण पनि उपभोक्ताहरु बुटवल पुग्नुपर्ने बाध्यता रहेको जानकारी दिए ।
त्यस्तै मुसिकोट नगरपालिकामा बिद्युत मार्फत दुई र सोलार मार्फत चार लिफ्ट सिंचाई आयोजना निर्माण भइरहेका छन् । मुसिकोट नगरपालिका १ पौदी अमराईको अरेवामा निर्माण भइरहेको बिद्युतीय लिफ्ट सिंचाई आयोजना सम्पन्न भएपछि चार सय घरधुरी लाभाम्बित हुनेछन् । सिंचाईको व्यावस्था नहुँदा २२ सय रोपनी खेतमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता थियो । यो योजना समयमै सम्पन्न भए बे–मौसमी खेति गर्ने आशामा कृषकहरु रहेको स्थानीय भुपेन्द्र रायमाझीले बताए । त्यस्तै मुसिकोट नगरपालिका वडा नं ७ वामी टार सिंचाई आयोजना निर्माणको काम जारी रहेको छ ।
युवाहरुलाई कुटानी पिसानीका मेसिन
मुसिकोट नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम मार्फत कुटानी पिसानी मेसिनहरु वितरण गरिरहेको छ । बिद्युत मार्फत संचालन हुने करिव एक सय कुटानी पिसानी मेसिनहरु ५० प्रतिशत अनुदानमा युवा उद्यमीहरुलाई प्रदान गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए । यो कार्यक्रम साविकका प्रत्येक वडासम्म पुराउने लक्ष्य नगरपालिकाको रहेको भण्डारीले बताए । उनले स्वरोजगारसंगै उर्जाको खपत गर्ने र वायु प्रदुषणलाई कम गर्न बिद्युतीय कुटानी पिसानीका मेसिनहरु वितरण गरिएको बताए । भर्खरै मेसिन संचालन गरेका मुसिकोट नगरपालिका २ का इश्वरी आचार्यले बिद्युतीय मेसिनबाट छिटो छरितो, कम परिश्रम र बायु प्रदुषण नहुने बताए । अहिले कुटानी पिसानीको मुल्य पनि कम छ ।
लघु जलविबद्युत केन्द्रिय प्रसारणसंग जोडिदै
मुसिकोट नगरपालिकामा लघु जलविद्युत परियोजना, लिफ्ट खानेपानी, सिंचाँई, कुटानी पिसानीका मेसिन तथा किसानहरुलाई साना बिद्युतीय पम्प र कृषि औजारहरु वितरणका काम भइरहेको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जानकारी दिए । नगरपालिकामा परोपकारी लघु जलविद्युत परियोजना, दरमखोला लघु जलविद्युत परियोजना, बडिगाढखोला लघु जलविद्युत परियोजना, करङ्गखोला लघु जलविद्युत परियोजना संचालनमा छन् । अहिले दरम र परोपकारी लघु जलबिद्युत परियोजनालाई केन्द्रिय प्रसारण लाइनसंग जोड्न सवै प्रक्रिया पुरा गरेको सापकोटाले बताए । गल्कोट नगरपालिका ८ को दरमखोला लघु जलबिद्युत परियोजना मार्फत पनि मुसिकोट नगरपालिका ९ का चार सय ५० घरमा भर्खरै बिद्युतीकरण गरिएको छ। मेयर सापकोटाका अनुसार मुसिकोट नगरपालिकाले उज्यालो मुसिकोट घोषणा गर्नको लागि वडा नं १, ८ र ९ मा २० घर विपन्न परिवारलाई सोलार सिस्टम समेत वितरण गरेको छ ।
उर्जा इकाई र उपशाखा छैनन्
स्थानीय तहमा ऊर्जा कार्यक्रमको विस्तार र पहुच बढाउन ऊर्जा इकाई र ऊर्जा उप–समितिको गठन गर्नुपर्छ । तर जिल्लाका अधिकांश स्थानीय तहमा इकाई र उपसमिति गठन भएका छैनन् । जसका कारण उर्जाका छुट्टै योजना निर्माण गरेर लगानी बढाउन समस्या भइरहेको मुसिकोट नगरपालिकाका उपमेयर कमाला शर्माले बताइन् । उर्जाको क्षेत्रमा विवेकले काम भइरहेको भएपनि इकाई र उपसमिति नभएका कारण व्यवस्थित बनाउन गाह्रो भएको शर्माको भनाई छ । उनले आफुहरुले अब त्यो बिषयलाई पनि अगाडी बढाउन कार्यपालिकामा छलफल गर्ने बताइन् । प्रभावकारी उर्जा योजनाको तयारी तथा कार्यान्वयनको अवस्थाको बारेमा प्राक्टिक एक्सनले एउटा अनुसन्धान गरेको छ।
जसमा स्थानीय तहमा उर्जा योजना र बजेटको बिषयमा काम गर्न उर्जा इकाई र समितिको गठन, लैंगिक समानता र समावेशीरण, सार्वजनिक निजी साझेदारी, तीन तहका सरकारहरु, वैकल्पिक उर्जा प्रवद्र्घन केन्द्र, नेपाल विद्युत प्राधिकरण, अन्य ऊर्जा आपूर्तिकर्ता र ऊर्जा सेवा प्रदान गर्ने सरोकारवालाहरु बीच समन्वय आवश्यक रहेको नीतिगत सुझाव पेश गरेको छ । तीन वटै सरकारले कृषि र उर्जाको क्षेत्रमा प्रदान गर्ने प्रविधिको बारेमा स्थानीयलाई प्राविधिक ज्ञान छैन् ।
साना ठुला औजार र उपकरणहरु बिग्रेपछि मर्मत गर्ने जनशक्ति नहुँदा उपभोक्ता समिति र योजनासंग सम्बन्धित स्थानीयले सास्ती खेप्नु पर्ने स्थिती रहेको छ। जसका लागि प्रविधीको विकाससंगै प्राविधीक र सोहि बिषयको सीपका बारेमा तीन वटै सरकार ध्यान दिनुपर्छ ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend