साझा नेटवर्क
कुमार अविरल पन्थी, कतार साउन २१ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वार्ड नम्बर ५ स्थित आटिपाटामा गत साउन १६ गते राती माथीबाट आएको पहिरो र ढुङ्गाले घर पुरिएका परिवारलाई गुल्मी सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ । संस्थाले पिडित परिवारलाई राहत स्वरुप (२१,०००) एक्काइस हजार रुपैयाँ प्रदान गरेको हो ।

समाजले सोहि घटनाबाट पिडित बनेका परिवारलाई मल्हम लगाउने काम गर्दै आज एक औपचारिक कार्यक्रमका बीच राहत वितरण गरेको हो । अविरल वर्षा सँगै आएको पहिरोले घर पुरिदा बिना माझी र उनका दुई छोरा र एक छोरिको घटना स्थलमै मृत्यु भएको थियो । श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका कारण उक्त घटनामा परेनन ।

यतिबेला मृतकका श्रीमान राजु माझी क्वारेन्टाइनमा रहेकाले सहयोग रकम गाउपालिका अध्यक्षलाई प्रदान गरिएको कुरा सदस्य भास्कर पौड्यालले जानकारी दिए । राहत वितरण कार्यक्रममा बोल्दै गाउपालीका अध्यक्ष निलकण्ठ गौतमले सेवा समाज कतारको सिङ्गो टिम तथा राहत सहयोग अभियानमा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त औपचारिक कार्यक्रमको अध्यक्षता सेवा समाज कतारका सचिवालय सदस्य अच्युत पौड्याल, प्रमुख अतिथि रुरु क्षेत्र गा.पा. अध्यक्ष निलकण्ठ गौतम अतिथीहरुमा वार्ड नम्बर ५ का वार्ड अध्यक्ष हरि प्रसाद ज्ञवाली, सदस्य सिद्धिनाथ श्रेष्ठ, एभिन्युज टेलिभिजनका गुल्मी सम्बादाता जनार्दन घिमिरे, गुल्मी चेम्बर अध्यक्ष बालकृष्ण न्यौपाने, रेडियो श्रृङ्गेश्वर एफ.एम.का समाचार प्रमुख भुवन भुसाल, गुल्मी सेवा समाज कतारका सदस्य भास्कर पौड्याल र समाजसेवी तिर्थराज पौड्याल रहनु भएको थियो ।

त्यसैगरि सचिवालय सदस्य अच्युत पौड्यालले यसरी आपत बिपतमा परेका गुल्मेलीलाई सहयोग गर्न पाउँदा समाजले पुण्य प्राप्त गरेको र आफु जस्तै वैदेशिक रोजगारीमा रहेका गुल्मेलीहरुको सानो सहयोगबाट आपत र बिपतमा परेकाहरुलाइ केही मात्रामा भएपनी सहयोग गर्नसक्ने कुरा बताए ।

साथै आगामी दिनमा सहयोगको क्रमलाइ निरन्तरता दिने पनि जानकारी दिए । समाजले कतारमा रोजगारी गुमेका कारण खानाको ब्यवस्था नभएका र टिकट प्राप्त गर्न नसकी अलपत्र परेका गुल्मेलीहरुलाइ नि:शुल्क खानाको साथै नेपाल फर्कन टिकटको ब्यवस्था पनि गर्दै आएको छ । समाजले हस्तिचौरमा रहेका पहिरो पीडितलाई सहयोग गरिसकेको छ भने जिल्लाका अन्य स्थानमा रहेका पिडितहरुलाई पनि सहयोग गर्ने जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend