साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी साउन ७ ।
नेपाल बिद्यार्थीसंघ गुल्मीका नेतासहित ४० जना नेकपामा प्रवेश गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा इस्मा गाउँ कमिटीले आयोजना गरेको सभामा नेविसंघ रेसुङ्गा बहुमुखी क्याम्पसका सचिव गगन सिंजाली, नेपाली कांग्रेस अमरपुर वडा कार्यसमिति सदस्य शालिक कुवंर र धनपति कुवर लगायत ४० जना नेकपामा प्रवेश गरेको नेकपा इस्मा गाउँकमिटीले जनाएको छ ।

वडा नं १ देखि ६ सम्मका युवाहरु कांग्रेस पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेको गाउँकमिटी अध्यक्ष नारायण पैयानीले जानकारी दिए । नेकपा प्रवेश गर्ने सवैलाई कार्यक्रमका प्रमुख अतिथी नेकपाका नेता हिरा एसी, गणेश श्रीपाली, गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट लगायतका जिल्ला तथा स्थानीय स्तरका नेताहरुले स्वागत गरेका थिए ।
नेकपा इस्मा गाउँकमिटीको जनसभालाई संवोधन गर्दै प्रमुख अतिथी तथा नेकपाका नेता हिरा एसीले इस्मामा नेपाली कांग्रेसले आफ्नो प्रवृति नसच्याए आउने चुनावमा उमेद्धवार नपाउने बताए । उनले गत स्थानीय तहको चुनावमा हारेकाहरुको झुण्डले इस्माको नेपाली कांग्रेसलाई आफ्नो स्वार्थमा मात्रै प्रयोग गरेकाले नेकपामा प्रवेशको लहर चलेको बताए ।
उनीहरुले आफु आवद्ध विभिन्न योजना र संस्थाहरुमा अनियमितता गरेकाले त्यो कर्तुत लुकाउन गाउँपालिका बिरुद्ध भ्रष्टचारको गलत प्रचार र नाराबाजी गर्दै हिडेको एसीले आरोप लगाए । ‘नाग पञ्चमीमा नागको चित्र भित्तामा टाँसेपछि सर्पले टोक्दैन भन्ने जस्तो कांग्रेसले नठानुन्,’उनले भने,‘भ्रष्टाचार जो सुकैले गर्न पाइदैन, अब उनीहरुको पाइपाइ हिसाब खोज्छौ ।’ उनले खानेपानी, वन, सहकारी र मन्दिरहरुमा बर्षौका हिसाव किताव गुमनाम बनाउने नेपाली कांग्रेसका नेतालाई स्थानीय सरकार र पार्टीले कुनै अवस्थामा नछोड्ने बताए ।
नेकपा इस्मा गाउँकमिटीको जनसभालाई संवोधन गर्दै नेकपाका नेता गणेश श्रीपालीले राजनीति जनताको मन जितेर गर्न काग्रेसलाई सुझाव दिएका छन् । आफुलाई प्रजातान्त्रिक पार्टी बताउने कांग्रेसले अझै पनि बाटो ढुकेर, गलहत्याएर, पैसा र मासुको भरमा जवरजस्त पार्टी प्रवेश गराउने सपना नदेख्न श्रीपालीले आग्रह गरे । ‘राजनीति गर्न जनताको मन जित्नुस, मुटु फोर्नु पर्दैन,’श्रीपालीले भने,‘इस्मा कांग्रेसमा पञ्चे शैली फेरिनुपर्छ ।’
उनले चुनावपछि समय कटाउने उपाय नपाएर चन्दा संकलन गर्ने र आफैले गरेको एकद्वारको नीति विपरित त्रिपालका खोस्टा र दुई किलो चामल बोकेर पहिरो प्रभावित क्षेत्रमा डुलिरहेकाले क्षणिक प्रभावमा नपर्न कार्यक्रतालाई आव्हान गरे । उनले तीन बर्षको अवधिमा इस्माले धेरै महत्वपूर्ण काम गरेको उदाहरण प्रस्तुत गर्दै नेकपाले प्रचारमा कन्जुस्याँइ गर्ने तर कांग्रेसले सधै झुटा प्रचारमा आफ्नो ध्यान लगाएकाले आम नागरिकमा भ्रम पैदा भएको बताए ।
त्यस्तै इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले गाउँपालिकाले गरेका कामबाट आत्तिएर कांग्रेस अराजकता तर्फ लागेको आरोप लगाए ।उनले प्रमाणहिन र झुटा कुरा बोकेर कांग्रेसले छापामार शैलीमा कांग्रेसले गाउँपालिका घेर्ने, नारा जुलुस गर्ने र नागरिकलाई गुम्राहमा पारेको बताउँदै पार्टीले त्यसको प्रतिरोध र खण्डन गर्दै जानुपर्ने बताए ।
नेकपा इस्मा गाउँपालिका अध्यक्ष नारायण पैयानी, इन्चार्ज दल बहादुर विक, गाउँपालिका उपाध्यक्ष बिमला खत्री, अनेरास्वाबियु जिल्ला संयोजक राजेन्द्र बिक्रम कुवरले कार्यक्रममा संवोधन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend