logo
  • सोमबार, असोज १२ २०८३

पत्रकारहरुलाई कामबाट निकाल्ने मिडिया मालिक विरुद्ध पत्रकारहरु आन्दोलित


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अरुणा मानन्धर,काठमाडौं असार २३ ।

श्रमजीवि पत्रकारहरुलाई कोरोना महामारी र त्यसले निम्त्याएको आर्थिक संकटको कारण देखाउँदै विभिन्न सञ्चार गृहहरुले कामबाट निकाल्ने, बेतलबि बिदामा बस्न लगाउने, पारिश्रमिक नदिने, मानसिक तनाव बढाउने खालको अमान्य गतिविधि बढाएकोप्रति विरोध गर्दै पत्रकारहरु आन्दोलित भएका छन ।श्रमजिवि पत्रकार ऐन, न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्बन्धी कानुन, अन्तराष्ट्रि श्रम कानुन तथा पत्रकार हक, हित तथा अधिकार सम्बन्धी तमाम कानुनी व्यवस्थाको मर्म विरुद्ध मिडिया मालिकहरुले गरिरहेको गतिविधिको विरोधमा पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन । कोरोना संकटले विश्व मानव समूदायलाई नै प्रभाव पारेको अवस्थामा मुलुकको नामि र आर्थिक रुपमा समेत सक्षम देखिने मिडिया हाउने नै श्रमजीवी कामदारलाई हटाउने हर्कत पत्रकारहरुको काम गरेर बाँच्न पाउने अधिकारका विरुद्ध रहेको भन्दै पत्रकारहरुले त्यस्ता मिडिया मालिकहरुलाई आन्दोलनको माध्यमबाट तह लगाउने बताए ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, प्रगतिशिल पत्रकार संघ, जनपत्रकार संगठन लगायतका विभिन्न संघ संगठनहरुको एक्यवद्धतामा अघि बढेको आन्दोलन समस्याको हल नहुँदासम्म निरन्तर अघि बढ्ने महासंघले बताएको छ । गत शुक्रबार दिउँसो काठमाडौंको बबरमहलमा विरोध प्रदर्शन गर्दै मिडिया मालिकहरुलाई श्रमजीवी पत्रकारहरुलाई अपमानजनक ढंगले कामबाट निकाल्ने काम बन्द गर्न माग गर्दै त्यसप्रति राज्यलाई समेत सचेत गराइएकोमा मिडिया मालिकहरुले मागको सुनुवाई नगरेकाले आजबाट पुनः आन्दोलन अघि बढाइएको हो । पत्रकार महासंघले यस विषयमा अध्यक्ष गोविन्द आर्यायको नेतृत्वमा महासचिव रमेश बिष्ट र सचिव रामप्रसाद दाहाल समेत रहेको तीन सदस्यीय वार्ता तथा छलफल समिति समेत गठन गरेर आन्दोलन र छलफललाई सँगसँगै अघि बढाउने नीति तय गरेको छ ।

मिडिया हाउसहरुसँग श्रमजीवी पत्रकारहरुको हक, हित र अधिकारको ग्यारेन्टी गर भन्दै महासंघको टिमले गरेको छलफलको पहिलो चरणको प्रयासबाट समाधानको संकेत नदेखिएको कारण आज पुर्न पत्रकारहरु मिडियामा हाउसको गेटमै पुगेर कालो ब्यानर टासेर माग कार्यान्वयनको लागि चेतावनी दिएका छन । पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका श्रमजीवी पत्रकारको पक्षमा लामो समयदेखि संघर्षको नेतृत्व गर्दै आएका पत्रकार, जन्मदेव जैसीको नेतृत्वमा विभिन्न पत्रकार संघ संगठनको एक्यवद्धता सहित आज नागरिक दैनिक, एपिवान टेलिभिजन लगायतका मिडियाहरुको गेटमा मागपुरा नगरेमा कडा आन्दोलनमा उत्रिने चेतावनी सहित कालो ब्यान टासिएको छ । ‘श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर । पेशागत सुरक्षाको ग्यारेण्टी गर ।’ लेखिएको कालो ब्यानरमा आयोजना गरिएको उक्त विरोध कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जैसीले कुनैपनि हालतमा श्रमजीवी पत्रकारहरुलाई काममा फकाउँने र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण गराउन राज्य र सम्बन्धीत पक्षलाई चेतावनी दिए । उनले कोरोनाको कारण देखाउँदै पत्रकार तथा सञ्चारमाध्यममा काम गर्ने कामदारलाई मनमर्जि निकाल्ने हर्कत महासंघलाई अमान्य हुने र त्यसका विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने बताए । उनले समयमै पत्रकारहरुका जायज मागको सम्बोधन नभएमा महासंघ मिडिया हाउसले कल्पना नगेको ढंगको आन्दोलन अघि बढाउने भन्दै उनले कडा चेतावनी दिएका थिए ।

उक्त कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले महासंघको विरोध कार्यक्रममा आफ्नो संगठनको एक्यवद्धता जाहेर गर्दै श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाको लागि राज्यले समेत जिम्मेवार बन्नुपर्ने धारणा राखे । अध्यक्ष राउतले महासंघको आन्दोलनमा पेशागत संघ, संगठनहरुलार्य पनि जोड्दै माग पुरा गराउन व्यापक दवावमूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए । श्रमजीवी पत्रकारहरुमाथि मिडिया हाउसको हेपाहा प्रवृति पुरानै भएको तर्क गर्दै कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अधयक्ष लोकराज जैसीले कोरोनाको कारण देखाउँदै पत्रकारहरुलाई मुलुककै नामि र आर्थिक हिसाबले समेत सबल भनिएका मिडियाहरुले कामबाट निकाल्नु, बेतलवि बिदामा राख्नु, तलव नदिनु सबै बेइमानिपूर्ण कुरा भएको भन्दै कडा आलोचना गरे । प्रेस सेन्टर नेपालका अध्यक्ष जैसीले मिडिया मालिकहरुले आफुलाई आवश्यक पर्दै विभिन्न सेवा, सुविधा सहितको नियुक्ति पत्र दिएर पत्रकारहरुलाई भित्र्याउने र मन नलागेमा आफैले दिएको नियुक्तिपत्रको अपमान गरेर पत्रकारहरुलाई हटाउने काम गैह्र जिम्मेवार तथा अमान्य रहेको भन्दै त्यस्ता मिडिया मालिकहरुलाई कार्बाही गर्नुपर्ने तर्क गरे । अध्यक्ष जैसीले श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक समितिको निर्णय, अन्तराष्ट्रि श्रम संगठन, श्रम कानुन र राज्यका अन्य कानुनहरुको खिलाफमा मुलुककै ठूला भनिएका मिडिया हाउसहरु उभिनुले कानुनी राज्यको समेत अपमान गरेको छ । उनले भने–‘श्रम कानुन वा त्यस सँग सम्बन्धीत राज्यका अन्य कानुनहरुले पनि मालिकले आफु खुशी कामदारलाई निकाल्न नमिल्ने व्यवस्था गरेको छ । तर यहाँ मिडिया मालिकहरु कानुनभन्दा माथि चढेर श्रमजीवी पत्रकारहरुको पेटमा लात हान्न खोज्दै छन, यो किमार्थ मान्य हुदैन ।’ उनले अधिकार खोसेरै लिनुपर्ने विज्ञानसम्मद्ध नियमलाई जोड्दै महासंघ र संघ, संगठनहरुले नेतृत्व गरेको आन्दोलनमा अन्यायमा परेका, समस्यामा परेका सबै मिडिया हाउसमा कार्यरत पत्रकारहरु पनि उपस्थित हुनुपर्ने र सबै समस्याको हल संघर्षको माध्यमबाट सम्भव हुनेमा विश्वास गर्न समेत आग्रह गरे ।

उनले प्रेस सेन्टर नेपाल आफ्नो स्थापनाकालदेखि नै श्रमजीवी पत्रकारको हक, हित र अधिकारका साथैं पेशागत स्वतन्त्रता, सुरक्षा लगायतका मुद्दामा प्रतिपद्धताका साथ संघर्षमा जोडिएको तथ्य राख्दै निरन्तर संघर्ष अघि बढाउनुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा क्रान्तिकरी पत्रकार संगठनका नेता कमल बुढाले मिडिया हाउसले सृजना गरेको श्रमजीवी पत्रकारहरुको समस्यालाई तत्काल हल गर्न स्वयम मिडिया मालिकहरु तयार हुनुपर्ने र त्यसो नभएमा आन्दोलनको स्वरुप बदलिने भन्दै कडा चेतावनी दिएका थिए । उनले पत्रकार महासंघको विरोध कार्यक्रममा आफ्नो संगठनको तर्फबाट एक्यवद्धता जाहेर गर्दै पत्रकारहरुलाई बिनासर्त काममा फर्कने वातावरण नबन्दासम्म चरणबद्ध आन्दोलनको घोषणा गरेर अघि बढ्नुपर्ने विचार समेत राखें । कार्यक्रममा पत्रकार महासंघ काठमाडौका अध्यक्ष शान्तराम बिडारीले मिडिया मालिकको प्रेस कानुन विरुद्धको रबैया कुनैपनि हालतमा स्विकार्य नहुने भन्दै त्यसका विरुद्ध संगठित र कडा आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए । त्यसैगरी महासंघको उपत्यका प्रदेश समितिका कोषाध्यक्ष टेनिस रोकाले श्रमजीवी पत्रकारको पेटमा लात हान्ने ढंगले मिडिया मालिकहरु जसरी आफ्नो नियत उजागर गर्दैछन त्यसले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा उनीहरुको वास्तविक प्रतिवद्धता देखिएको बताए । उनले प्रेस चलाउने तर त्यससँग सम्बन्धीत कानुनको अपमान गर्दै पत्रकारहरुलाई भाडाका कामदारको रुपमा बुझ्ने र दुव्यवहार गर्ने मालिकहरुलाई आन्दोलनको माध्यमबाट राम्रै सपथ सिकाउनुपर्ने बेला आएको बताए ।

कार्यक्रममा कान्तिपुर दैनिक मिडियामा कार्यरत पत्रकारहरुद्धारा गठित संघर्ष समितिका श्रीराम वागलेले समेत आफ्नो कुरा राख्दै पत्रकारहरुमाथी गरिएको अपमानजनक व्यवहार तुरुन्त सच्याउन खबदारी गरेका थिए । कार्यक्रममा विभिन्न संघ, संगठनमा आवद्ध पत्रकार, सञ्चारकर्मि तथा न्यायका पक्षधर करिब दुई दर्जनभन्दा बढि नागरिकहरु, सञ्चारकर्मिहरको सहभागिता रहेको थियो । महासंघले वार्ता र आन्दोलनलाई संग संगै अघि बढाउने नीति अघि सारेको भएपनि अधिकाशं पत्रकार संवद्ध संघ संगठनहरुले भने पहिले संघर्षमा उत्रिने र वार्ताको माग स्वियम मिडिया मालिकले आह्वान गर्नुपर्ने बताउँदै आएका छन । महासंघले विभिन्न पक्षहरुसँग सल्लाह, समन्वयन गर्दै श्रमजीवी पत्रकारहरुको माग कुनैपनि हालतमा कायाृन्वयन गरेरै छाड्ने प्रतिवद्धता गरेको छ । आन्दोलन निरन्तर अघि बढ्ने महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend