साझा नेटवर्क
तिलोत्तमा, १५ असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोमबार १७ औं राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव मनाएको छ । वडा नम्बर ६ स्थित नगरपालिकाको नवनिर्मित भवन परिसरको खेतमा धान दिवस मनाइएको हो ।दिवसको अवसरमा नगरपालिकाको आफ्नै झण्डै चार विगाहा खेतमा धान रोपाइँ गरिएको संयोजक एवं वडा नम्बर ६ का वडा अध्यक्ष सुखदेव न्यौपानेले जानकारी दिए ।
‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्यदिन सोमबार तिलोत्तमाका जनप्रतिनिधिहरु धान रोपाईंमा जुटेका हुन् ।
नगरपालिकाले धानको सम्पूर्ण व्यवस्थापन आफै गर्ने गरी रोपाइँ गरेको हो । यस अघि सो खेतमा मकैं तथा गहुँ खेती गरिएको थियो । कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई बढी प्राथमिकता दिएको उल्लेख गर्दै कृषिमा व्यवसायिकता हुनुपर्नेमा जोड दिए । निर्वाहमुखी कृषिले किसानको जीवनस्तर उठ्न नसक्ने चर्चा गर्दै उनले तिलोत्तमाले किसानलाई प्रोत्साहन गर्न विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । वडाअध्यक्ष सुखदेव न्यौपानेले रोपाइँमा सहयोग पु¥याउने क्लब, कुलापानी समिति लगायत सबैप्रति आभार व्यक्त गरे ।
यसैबीच तिलोत्तमामा कयौं वर्षदेखि बाँझो रहेका जमिनमा यस वर्ष धान रोपाइँ भएको छ । नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए सधियाँर वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेपछि बाँझो रहने जग्गामा रोपाइँ भएको हो ।
कुल खेतीयोग्य जमिन ८ हजार ४४९ हेक्टरमध्ये ८४५ हेक्टर जग्गा बाँझो रहने गरेकोमा अहिले त्यसको झण्डै ६० प्रतिशतमा रोपाइँ भएको कृषि शाखाको तथ्यांक छ । यस वर्ष जेठ दोस्रो साताबाटैं तिलोत्तमामा रोपाइँ सुरु भएकोमा असार दोस्रो सातासम्म झण्डै ९० प्रतिशत खेतमा रोपाइँ सकिएको छ ।
लकडाउनको कारण नगरबासीहरु फुर्सदिला रहँदा धान रोपाइँ विगतका वर्षमा भन्दा यो वर्ष छिटो सकिने कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए । नगरपालिकाले कोरोना महामारीले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावसँग जुध्न खेतीयोग्य जमिन बाँझो नराख्ने निर्णय गरेको हो ।
तीव्र शहरीकरण भइरहेको तिलोत्तमामा घडेरीको रुपमा विकास भएका कतिपय जग्गा बाँझा छन् । मूलतः यस्तै जग्गालाई लक्षित गरी नगरपालिकाले यस्तो निर्णय गरेको हो । यो निर्णयसंगै आफ्नो घर वरिपरी भएका खाली जग्गामा मौसमी खेती गर्न तिलोत्तमावासीलाई बाटो खुलेको हो । यो वर्ष धान, तरकारी लगायत कृषि उत्पादन बढ्ने नगरपालिकाको विश्वास छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend