साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार १३ ।
गुल्मीको इस्मा गाउँपालिकालाई बाख्राको श्रोत केन्द्रको रुपमा विास गरिने भएको छ । इस्मा गाउँपालिकाको आर्थिक बर्ष ०७७÷०७८ सालको नीति, कायक्रम र बजेटमा दुई बर्षभित्र मासु, अण्डा र दुघमा आत्मनिर्भर बनाउँदै बाख्रो श्रोत केन्द्र बनाउने कुरा उल्लेख गरिएको छ ।

जस अन्तगत सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजनालाई आर्थिक बर्ष ०७७÷०७८ मा निरन्तरता दिइएको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले जानकारी दिए । इस्मा गाउँपालिका ४ का महिला समुहलाई बाख्रा वितरण गर्दै इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले कोरोना महामारीको नियन्त्रण, रोजगारी सिर्जना, कृषि, पशुपालन र उद्यम व्यवसायलाई उच्च प्राथमिकता दिई आगामी बर्षको नीति कार्यक्रम तयार पारिएको बताए ।
सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना मार्फत चार वटा वडामा १६ बोका वितरण गरिएको छ । इस्मा गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा नवप्रभाव युवासंघको साझेदारीमा इस्मा गाउँपालिकामा चार वडामा परियोजना संचालन भएको छ ।
इस्मा गाउँपालिकाका चार वडामा १६ समुह मार्फत चार सय २७ महिलाहरु परियोजनामा आवद्ध छन् । जसमा वडा नं १ मा पाँच वटा, वडा नं २ मा एक, वडा नं ३ मा चार र वडा नं ४ मा ६ वटा समुह निर्माण गरिएको परियोजना संयोजक प्रयाश अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार समुह गठनसंगै हेफर आधारशिला र उचित पशु व्यावस्थापन तालिम सम्पन्न भएका छन् । साथै समुहहरुलाई घाँस वितरण, बिउ बोका वितरण र खोर निर्माण काम सम्पन्न भएका छन् ।
अब केहि दिनभित्र समुहलाई बाख्रा वितरण गरिने परियोजना कार्यान्वयन गरिरहेको संस्था नवप्रभाव युवा संघका फोकल प्रर्सन ज्ञान बहादुर महतराले बताए । यो बर्ष करिव छ सय बाख्रा वितरण गर्ने योजना भए पनि कोरोना संक्रमणको कारण अहिले न्यूनतम ४६ वटासम्म वितरण गरिने महतराले जानकारी दिए । इस्मा गाउँपालिकाका वडा नं ५ र ६ मा हेफर इन्टरनेशन मार्फत परियोजना संचालन भएको थियो । अहिले बाँकी चार वटा वडामा इस्मा गाउँपालिका र हेफर प्रोजेक्टको आर्थिक सहयोगमा परियोजना संचालन भएको छ ।
परियोजना मार्फत थुप्रै महिलाहरु उद्यम तर्फ आकर्षित भएका छन् । मदनपोखरी स्वाबलम्बन महिला समुहमा आवद्ध हिमा रानाले महिलाहरुलाई व्यावसायीक उर्जा प्रदान गरेको बताइन् । उनले आधारशिला तालिम मार्फत पारिवारीक सम्बन्ध सुमधुरसंगै व्यावसायीक सोचमा समेत परिवर्तन आएको बताइन् ।
त्यस्तै दोहली स्वाबलम्बन महिला समुहमा आवद्ध सरस्वति अर्यालले परियोजनाले महिला दिदिबहिनीहरुलाई समुहमा आवद्ध बन्ने, व्यावसायीक कुरा गर्ने, बचत गर्ने, पारिवारीक सम्बन्ध सुधार गर्ने लगायतका काममा उत्प्रेरित गरिरहेको प्रति खुसी व्यक्त गरिन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend