साझा नेटवर्क
करिम बक्स मियाँ, दोहा – नेपाल वायुसेवा निगमले २२ जुनमा हुने दोहाको लागि आफ्नो उद्वार उडान स्थगन गरेको जनाएको छ। दोहा स्थित “नेपाली राजदुताबासको अनुरोधमा उडान स्थगन गर्नु परेको” निगमद्वारा जारी सुचनामा जनाईएको छ।
गत जुन १८ मा दोहास्थित नेपाली राजदुतावासले जारी गरेको सुचनामा नेपाल वायुसेवाको उडान २२ जुनमा हुनेबारे कुनै उल्लेख छैन। निगमको सुचनाबारे दूतावास समक्ष बुझ्दा कुनैपनि उडान स्थगन गर्न दुतावासले अनुरोध नगरेको जनाएको छ।
दोहा स्थित नेपाली राजदुतावासका नियोग उप प्रमुख लक्षमण खनालले दिएको जानकारी अनुसार उद्वार उडान मार्फत नेपालीहरुलाई स्वदेश फर्काउन अफिसियल प्रकृयाको लागिमात्र कम्तिमा ४ दिन लाग्छ। उद्वार उडान मार्फत नागरिकलाई स्वदेश पठाउन कतार सरकारको प्रोटोकल बिभाग, आन्तरिक मन्त्रालय तथा सिभियल एभिएसन सबैबाट अनुमति र क्लियरेन्स लिनु पर्ने व्यबस्था भएको हुनाले पटक पटक निगमलाई उडान सम्वन्धी कागजातहरु पठाउन आग्रह गरिएको भएपनि निगमले भने समय मै आवस्यक कागजात दिन ढिलाई गर्दै आई रहेको छ।
गत जुन १६ र १७ मा हुने भनिएको नेपाल वायुसेवाको उडान दूतावासको कारण स्थगन भएको भनी बिभिन्न मिडियामा आएको तथा दुतावासले अनाहक आलोचना खेप्नु परेको गुनासो नियोग उपप्रमुखले गरे ।
“हामीले व्यबस्था बारे अवगत गराउँदै पटक पटक आग्रह गर्दापनि निगमले डक्युमेण्ट पठाउन ढिला गरेकोले जुन १६ र १७ को उडान रोकिएको हो” उनले भने।
निगमले १६ र १७मा हुन नसकेको उडान २२ मा गर्ने मनशायले एकदिन पहिलामात्र २२ जुनमा उडान हुने जानकारी दिएको थियो। तर हालसम्म कुनै कागजात दूतावासमा आई नपुगेको भनाई दुतावासको छ।
न एकदिनमा दुतावासले स्वदेस फर्काउने व्यबस्था मिलाउन सक्छ न त जाने नेपालीले तुरुन्तै टिकट व्यबस्था गर्न सक्छन् “हामीले निगमलाई कम्तिमा ५ वा ६ दिनको समय दिएर उडान तालीका तय गर्न सुझाई रहेका छौं” खनालले बताए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend