logo
  • सोमबार, असोज १२ २०८३

पर्वतमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखियो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,पर्वत असार ५ ।

पर्वतमा कोरोना सङ्क्रमितको उपचारका लागि खटिएका २ जना डाक्टरसहित ५ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि ८१ जनाको स्वाब सङ्कलन गरिएको छ ।राष्ट्रिय प्रयोगशाला टेकुमा भएको स्वाब परीक्षणका क्रममा स्वास्थ्यकर्मीहरुमा सङ्क्रमण देखिएको हो । स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि शुक्रबार पर्वत जिल्ला अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीसहित सङ्क्रमित स्वास्थ्यकर्मीका परिवार र अस्पतालमा सञ्चालित क्यान्टिन सञ्चालकहरुको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालय पर्वतका सूचना अधिकारी प्रवीण भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ८१ जनाको स्वाब सङ्कलन गरी पोखरा प्रयोगशालामा पठाइएको हो । सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि पर्वत अस्पतालमा इमर्जेन्सी बाहेकका सबै सेवा शुक्रबार बिहानैदेखि बन्द गरिएको छ । पर्वत जिल्ला अस्पताल सञ्चालित क्षेत्र सिल गरिएको भण्डारीले जानकारी दिनुभयो ।

स्रोतका अनुसार कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीहरुले पर्वत जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई समेत सेवा प्रवाह गरेको बुझिएको छ । परीक्षणका लागि पठाइएको रिपोर्टको नतिजा नआउँदै स्वास्थ्यकर्मीहरु असार २ गतेदेखि ४ गते साँझसम्म नियमित ड्युटीमा रहेको स्रोतले जनाएको छ । स्वास्थ्यकर्मीहरु असार ४ गते राती कोरोना पोजेटिभ भएको जानकारी पाएपछि मात्रै ड्युटीबाट बाहिरिएको जानकारी प्राप्त भएको छ ।

-उज्यालो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend