logo
  • सोमबार, असोज १२ २०८३

लिपुलेक र लिम्पियाधुरा सहितका भूभाग समेटिएको नेपालको नक्सा राष्ट्रियसभाबाट पनि सर्वसम्मत पारित


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,काठमाडौं असार ४ ।

भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहित कालापानी, लिपुलेकको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । राष्ट्रियसभामा बिहीबार प्रतिनिधिसभाले गत शनिबार सर्वसम्मत पारित गरेको विधेयक छलफलपछि सर्वसम्मत पारित गरेको हो ।प्रतिनिधिसभाले शनिबार सर्वसम्मत पारित गरेको विधेयक राष्ट्रियसभामा आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेकी थिइन् । त्यसलगत्तै राष्ट्रियसभामा विधेयकमाथिको छलफल सुरु भएको थियो । छलफलपछि कानुनमन्त्री तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष गरेकी थिइन् । उनले नेपालको स्वाभिमान र राष्ट्रियताको पक्षमा सबै दलहरु एकजुट भएर नेपाल बलियो रहेको सन्देश दिएको बताउँदै भारतसँग ऐतिहासिक तथ्यका आधारमा वार्ता गर्ने उल्लेख गरिन् । त्यसपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले विधेयक निर्णयार्थ पेस गरेका थिए ।

५७ जना सांसद बैठकमा उपस्थित भएका थिए । मत विभाजन गर्दा प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्नेमा ५७ जना सांसदले हस्ताक्षर गरेका थिए भने विपक्षमा अर्थात् हुन्न भन्नेमा हस्ताक्षर गर्ने कोही पनि सांसद थिएनन् । सबै सांसदले विधेयकको पक्षमा मतदान गरेपछि राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक पारित भएको घोषणा गरे ।

अब राष्ट्रिय सभाले विधेयक पारित भएको सूचना प्रतिनिधिसभालाई दिनेछ । प्रतिनिधि सभाले विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष प्रस्तुत गर्नेछ । राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै नेपालको संविधानमा नयाँ निशान छाप समेटिनेछ ।  गत जेठ ७ गते सरकारले लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend