साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असार ३ ।
गुल्मीमा स्वाब संकलन गरेको १० दिनसम्म पनि रिपोर्ट नआउदाँ समस्या भएको छ । पछिल्लो समय भारतबाट आउने र कोरोना संक्रमण भएका लक्षणहरु समेत देखापरेपछि स्वास्थ्य कार्यालयले स्वाब संकलन गरेर पठाएको छ । तर १० दिनसम्म पनि रिपोर्ट नआउदाँ सक्रमण फैलिने डर बढेको छ ।
चन्द्रकोट गाउँपालिका २ का रामप्रसाद सापकोटा भारतको बम्बैबाट २४ दिनअघि अर्थात जेठ ०९ गते गाउँ आए । उनी अहिले गाउँपालिकाले बनाएको एक विद्यालयको क्वारेन्टिनमा बसेका छन् । सुरुमा क्वारेन्टिमा बस्दा १४ दिनपछि अर्थात २३ गते घर जाने कुरा थियो । तर अहिले २४ दिनसम्म पनि क्वारेन्टिन छोड्न पाएका छैनन् । गाउँपालिकामा सुरुमा आरडिटी गरी त्यसैको रिपोर्टअनुसार पिसिआर् स्वाब संकलन गरी कोरोना परीक्षणको लागि पठाउने गरिएको थियो ।
तर पछिल्लो समय धेरैको आर्डिटी रिपोर्ट पोजेटिभ आउन थालेपछि सबैको स्वाब संकलन गरी कोरोना परीक्षणको लागि पठाइएको थियो । त्यसैअनुसार सापकोटाको पनि जेठ २३ गते कोरोना संक्रमण भए÷नभएको पुष्टि गर्नको लागि स्वाब संकलन गरियो । तर अझैसम्म पनि रिपोर्ट नआउदाँ उनी निराश भएका छन् । ‘क्वारेन्टिनमा १४ दिन बस्ने र आरडिटी पोजेटिभ आए थप एक हप्ता बस्ने, नेगेटिभ आए घरमा जाने कुरा थियो ।
उनले भने, ‘रिपोर्टको बाटो कुर्दाकुर्दै आज १० दिन कट्यो ।’ आफ्नो शरिरमा कोरोनासँग सम्बन्धित कुनै लक्षण नदेखिएपनि राज्यले बनाएको नियम आफुले पालना गर्ने बताए । सोहि दिन भारतबाट गाउँ आएका नवराज शर्माको पनि पिसिआर् रिपोर्ट अझै आएको छैन । १४ दिनपछि कोरोना परिक्षण गरेर घरमा जाने भनेपनि २४ दिन कट्दासमेत उनी घर जान पाएका छैनन् ।
‘हाम्रो दुर्गम गाउँमा परिक्षण गर्ने मेसिन पनि छैनन्, यसले संक्रमण फैलिने डर बढ्दै गएको छ ।’ उनले भने, ‘भारतबाट गाउँ आउदा खुसि लागेपनि रिपोर्ट समयमा नआउदाँ नराम्रो लागेको छ ।’ त्यसका साथै उनले आफुले हरेक समय आफ्नो स्वाब परीक्षणको नजिता कुरेर समय कटाउने गरेको बताए ।
शर्मा र सापकोटा मात्र होइन्, अहिले जिल्लाका धेरै मानिसहरु आफ्नो स्वाबको नजिता कुरेर बसेका छन् । सुरु–सुरुमा स्वाब संकलन गरेर पठाएको तीन देखि चार दिनमा रिपोर्ट आउने गरेको थियो । तर पछिल्लो समय १० दिनसम्म पनि रिपोर्ट आउन सकेको छैन । ‘स्थानीय तहले परिक्षण गर्ने सामग्री खरिद गर्दा खर्चले धान्दैन, पठाउँदा धेरै दिन लाग्छ ।
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले भने, ‘रिपोर्ट आउन ढिलाई हुँदा क्वारेन्टिन व्यवस्थापनमा पनि चुनौति थपिदैँ गएको छ ।’ सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले पनि संकलन गरेर पठाएका स्वाबको रिपोर्ट नआउँदा स्वारेन्टिन व्यवस्थापन, खाना खाजा खर्च लगायतका कुराहरुमा चुनौति थपिदैँ गएको बताए ।
केहि दिन पहिले ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले जिल्लाका विभिन्न गाउँपालिकाले बनाएको क्वारेन्टिन अनुगमन गरेका थिए । त्यसबेला पनि अध्यक्ष ढकालले परीक्षणको दायरा बढाउन आग्रह गरेका थिए । ‘जिल्ला स्तरीय बैठक र मन्त्रीज्यूसँग पनि समस्याबारे छलफल भएको छ ।’ उनले भने, ‘परीक्षणको दायरा साघुँरो हुँदा समस्या थपिदैँ गएको छ ।
गुल्मीको मदाने गाउँपालिका ६ का एक पुरुषमा जेठ ५ गते बुटबलमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि जिल्लामा पिसिआर् परीक्षणको लागि स्वाब संकलन गर्न सुरु गरिएको थियो । त्यसदेखि हालसम्म कुल छ सय ८५ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ । जसमध्ये अझै तीन सय १९ जनाको रिपोर्ट नै आएको छैन ।
तीन सय ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भने १४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय, गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । आचार्यका अनुसार संकलन गरिएका स्वाब रुपन्देहीस्थिति प्रयोगशालामा पठाएपनि धेरै भिड भएका कारण रिपोर्ट आएको छैन । बाँकी रहेको स्वाबको रिपोर्ट आउने मितिबारे आफुहरु अनविज्ञ रहेको उनले बताए ।
जिल्लामा संकलन गरिएका स्वाबको रिपोर्ट आउन ढिलाई भएपछि गुल्मीमै पिसिआर् परीक्षण गर्न ल्याब स्थापना गरिने भएको छ । त्यसका साथै संक्रमण फैलिदै जाने अवस्थालाई मध्यनजर गर्दै कोरोना संक्रमितहरुलाई उपचार गर्नको लागि ५० बेडको आइसोलेशन हाउस पनि स्थापना गरिने भएको छ ।
जिल्ला स्तरिय विपद् व्यावस्थापन समितिले तीन वटै सरकार तथा निजी क्षेत्रहरुको सहयोग र समन्वयमा प्रयोगशाला र आइसोलेसन संचालन गर्ने निर्णय गरेको हो । ल्याब तथा आइसोलेसन संचालनको लागि एक हप्ता अगाडी गणेश श्रीपालीको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको थियो । कार्यदलले जेठ २९ गते प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मालाई प्रतिवेदन बुझाएको थियो ।
कार्यदलको प्रस्ताव अनुसार नै महिला विकास कार्यालयमा ल्याब संचालन गर्ने र त्यसको सम्पूर्ण व्यावस्थापन गुल्मी अस्पतालले गर्ने निर्णय भएको श्रीपालीले जानकारी दिए । ल्याब संचालनको लागि पिसिआर मेसिन सहित आवश्यक उपकरण खरिद गर्न तत्काल कार्यविधी निर्माण गर्ने र सबैसँग सहयोगको लागि अनुरोध गर्ने निर्णय समितिको बैठकले गरेको छ । श्रीपालीका अनुसार खरिद प्रक्रियामा कुनै समस्या नआए असार तेस्रो हप्तासम्म ल्याब संचालन हुनेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend