साझा नेटवर्क
काठमाडौं- ललितपुरको पाटन अस्पतालको आईसीयू वार्डबाट अल्ट्रासाउन्ड मेसिन चोरेको आरोपमा एक डाक्टर र एक सीएमए पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरले बर्दिबासस्थित डीएन्डबी मेडिकेयर सेन्टरका कार्यकारी निर्देशक डा. प्रवीण मिश्र र सीएमए रमेशकुमार शर्मालाई अल्ट्रासाउन्ड मेसिन चोरेको आरोपमा पक्राउ गरेको हो।
परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले चिकित्सकीय अभ्यास गरिरहेका मिश्र र उनका साथी शर्मालाई चोरी गरेको मेसिनसहित पक्राउ गरेको बताए। उनका अनुसार १६ गते साँझ महोत्तरीस्थित आफ्नै अस्पतालबाट रिफर गरेका बिरामी भेट्न गएका मिश्र र शर्माले अर्को दिन प्राविधिकको भेषमा अस्पताल पुगेर चोरी गरेको खुलेको छ।
जेठ १७ गते बिहान अस्पताल पुगेका दुवैले सुरक्षाकर्मी र अस्पतालका कर्मचारीलाई आफूहरू मेशिन बनाउन आएका प्राविधिक भएको बताएर चोरी गरेका थिए। एसएसपी राईका अनुसार उनीहरूले मेसिन सर्भिसिङ गर्ने भन्दै खोलेर त्यसमा रहेका महत्वपूर्ण र महँगा पाटपुर्जा चोरी गरेका हुन्। यी सबैको मूल्य २१ लाख रुपैयाँ पर्छ।
मिश्र सर्लाही बलराका स्थायी बासिन्दा हुन् । उनी काठमाडौं–३१ मा डेरा गरी बसेका थिए। यस्तै अर्का आरोपित शर्मा महोत्तरीका हुन्। यी दुवैले साझेदारीमा बर्दिबासमा अस्पताल सञ्चालन गरिरहेको एसएसपी राईले बताए।
दुवै जनालाई ललितपुर जिल्ला अदालतबाट चोरी मुद्दामा पाँच दिनको म्याद थपेर हिरासतमा राखिएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend