logo
  • मंगलबार, असोज १३ २०८३

नयाँ दिल्लीमा एक नेपाली युवकको मृत्यु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क,काठमाडौं जेठ २४ ।

भारतको नयाँ दिल्लीमा भोकले एक नेपाली युवकको मृत्यु भएको उनका छिमेकीले बताएका छन्। नयाँ दिल्लीको एक सिलाई कारखानामा काम गर्दै आएका महोत्तरीको मनरासिसवा नगरपालिका ८ सहसरामका १६ वर्षीय रोस्तम अन्सारीको खान नपाएर मृत्यु भएको छिमेकी रमेशकुमार साहले बताए।

रोस्तमसँगै उनका छिमेकी इन्ताज अन्सारी र मेहबुब अन्सारी तीन वर्षदेखि उक्त सिलाइ कारखानामा कार्यरत्त थिए। कोरोना महामारीबाट बच्न भारत सरकारले लकडाउन गरेपछि कारखाना बन्द भएको थियो। त्यसपछि कारखानाले उनीहरुलाई खाना नदिँदा तीनैजना मागेर खाने गरेका थिए।

‘रोस्तमसँगै काम गरेका छिमेकी भाइहरूले दिल्लीमा मागेर खाने अवस्थामा पुगेकाले सधैं खान नपाएको र अरुले दिएको खण्डमा मात्र खान पाउने गरेको बताएका छन्’, छिमेकी रमेशकुमार साहले फोनमा भने।

दिल्ली सरकारले लकडाउनले गर्दा आपतमा परेकाहरूलाई निशुल्क खाने बस्ने व्यवस्था गरेको भएपनि उनीहरू त्यस्तो व्यवस्था गरिएको ठाउँसम्म पुग्न नसकेकोजस्तो देखिएको छ। खानाको अभावसँगै अन्य कारणले पनि ती युवकको मृत्यु भएको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ, जसबारे थप बुझ्ने काम भइरहेको छ।

गएको मंगलबार राति भोकले सहकर्मी रोस्तमको मृत्यु भएपछि आत्तिएका छिमेकी दुई युवक भागेर नयाँ दिल्लीबाट रेल चढेर नेपाल आउन हिंडेको फोनबाट घरमा जानकारी गराएका साहले बताए। सीमा सिल गरिएका कारण उनीहरु सीमावर्ती भारतीय क्वारेन्टिनमा रहेको स्थानीय साहको भनाइ छ।

मृतक युवक रोस्तमका बुबा अन्बर अन्सारीको ११ वर्ष अघि ट्रक दुर्घटनामा मृत्यु भएको थियो। घरमा रोस्तमकी आमा र १२ वर्षीय भाइ मात्रै रहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend