साझा नेटवर्क
हुमाकान्त पोखरेल,गुल्मी जेठ २२ ।
गुल्मीमा क्वारेन्टाइनमा बसेकाहरुलाई मनोवैज्ञानिक तालिम दिन सुरु गरिएको छ । पछिल्लो समय क्वारेन्टाइनभित्रै आत्महत्या हुन थालेपछि त्यसलाई न्यूनिकरण गर्नका लागि मनोवैज्ञानिक तालिम दिन सुरु गरिएको हो । तालिम प्रदान गर्नको लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीले अगुवाई गरेको छ । बुधबार रेडक्रस सोसाइटी धुर्कोट उप–शाखाको आयोजनामा धुर्कोट गाउँपालिका ४ जैसिथोक र ५ वस्तुमा क्वारेन्टाइनमा रहेकाहरुलाई मनोवैज्ञानिक तालिम प्रदान गरिएको छ ।
सकारात्मक सोचको विकास, क्वारेन्टाइनको खालि समयको सदुपयोगको तरिका, क्वारेन्टाइनमा सामाजिक दुरी, कोरोनाबाट बच्ने उपायका बारेमा तालिममार्फत जानकारी प्रदान गरिएको छ । त्यस्तै कोरोनाका सम्बन्धमा आएका भ्रमपूर्ण बिषयहरु र सावधान रहने उपाय, मनोवैज्ञानिक असरलाई कम गर्ने उपाय, योगा, यसको महत्व र योगा गर्ने तरिका लगायतका बिषयमा तालिम प्रदान गरिएको पाञ्चायन माविमा प्रशिक्षकको भमिका निर्वाह गरेका ऋणिराम पाण्डेयले जानकारी दिए । ‘आपतकालिन स्वास्थ्य प्रतिकार्य योजना २०७५’ अनुसार समुदायमा आधारित मनोवैज्ञानिक सहयोग सम्बन्धि प्रशिक्षण लिएका रेडक्रस स्वयम्सेवकहरुबाट गाउँपालिकाभरि क्वारेन्टाइनमा रहेकाहरुलाई उक्त तालिम दिन थालिएको तालिमका संयोजक एवम् रेडक्रस सोसाइटी जिल्ला उप–सभापति कृष्ण प्रसाद भण्डारीले जानकारी दिए । ‘मनोसामाजिक सहयोग प्रशिक्षण’ सम्बन्धि सुरक्षा अपनाएर क्वारेन्टाइनमा रहेका तथा जोखिम समुदायका नागरिकलाई कोरोना भाइरसको रोकथाम गर्न तालिम प्रदान गरिने भण्डारीले जानकारी दिए ।
यस कार्यको लागि रेडक्रस सोसाइटीले सबै वडामा तालिमप्राप्त स्वयम्सेवकको व्यवस्था गरेको छ । जसअन्तरगत वडा नम्बर १ मा विष्णु कडेँल, २ मा हरी बहादुर थापा र केशवराज खनाल, ३ मा चन्द्र गौतम, ४ मा ऋषि पाण्डेय र उमा थापा रहेका छन् । त्यस्तै वडा नम्बर ५ मा विष्णु प्रसाद भण्डारी, देवेन्द्र भण्डारी, सावित्रा भण्डारी र कृष्ण प्रसाद भण्डारी, ६ मा कृष्ण केसी र दुर्गा पन्थी तथा वडा नम्बर ७ मा भेषराज खनाल र चिन्तामणी पौड्यालले प्रशिक्षण दिनेछन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend