साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं जेष्ठ १६।
पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले देशलाई ऋणको भारी बोकाउने बजेट आएको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै डा. महतले यो बजेट अत्यन्तै महत्वाकांक्षी र भविष्यको पिडीलाई पनि निकै अप्ठेरो पार्ने गरी ल्याइएको बताए ।
उनले भने, ‘आन्तरिक र बाह्य गरी करिब ३६% ऋण छ, जीडीपीको ५% भन्दा बढी अर्थात् २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने भनिएको छ । तसर्थ, यसले बजारमा तरलताको अभाव हुने र आगामी पुस्ताका लागि ऋणको भारी बोकाउने नै हो ।’ यो बजेट बढी प्रचारात्मक भएको पनि उनले टिप्पणी गरे । ७% आर्थिक वृद्धिको लक्ष्य पनि महत्वाकांक्षी रहेको डा. महतले बताए ।
साना तथा मझौला उद्यम व्यवसायलाई दिइएको कर छुट राम्रो भए पनि कर्पाेरेट कर कम नहुनु दुःखद भएको उनको भनाइ छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै १५०% कर लगाएर निरुत्साहित गर्न खोजिएको उनले बताए । विद्युत महसुल घटाउनु पर्नेमा त्यसो पनि नगरिएको उनले आरोप लगाए ।
‘विद्युत आपूर्तिमा झण्डै आधाजति निजी क्षेत्रले ओगिटरहेको छ । तर, अहिले निजी क्षेत्र पीडित छन् । विद्युतमा लगानी भएकाहरुको सेयर भाउ पनि धेरै घटेको छ । उनीहरुलाई विभिन्न छुटहरु गरिदिनुपर्ने थियो, तर बजेटले कत्ति पनि सम्बोधन गरेन, अर्थमन्त्रीले भने ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend