logo
  • शनिबार, भाद्र २० २०८३

अझै कति नवराज छुवाछूतको झांतोमा पिसिएर मर्नुपर्ने हो ?


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सबिन बस्नेत, गुल्मी ।
गएको जेष्ठ १० गते शनिबार अति क्रुर र अमानवीय घटना नेपालको पश्चिम रुकुममा घटेको सुन्नमा आएको छ । घट्ना विवरण अनुसार तीन चार वर्षदेखी अन्तर्जातिय प्रेम सम्बन्धमा रहेको पश्चिम रुकुमकी मल्ल थरकी सत्र बर्षिय केटि र जाजरकोटका एकाइस बर्षका केटाबिचको सम्बन्ध बिबाहमा परिणत हुन नपाइ दुखद अन्त्य भएको छ ।

अठार जना जति साथिहरु लिएर केटि भगाउन भनेर गएका नबराज बिक गाउँलेको कुटाइबाट र अन्य पांचजना ज्यान बचाउन भेरीमा हाम फाल्दा डुबेर मरेको खबर छ । तर शब भेटिएको छैन । यस अघि यी दुई बीचको सम्बन्ध टुटाउन केटिका परिवारले प्रहरीमा उजुरी दिएका र केटाको परिवारलाइ धम्की दिएको पनि भनिएको छ ।

उता लक डाउनमा नै भिड गाउँमा प्रबेश गरेको र त्रसित गाउँलेले बुझ्न खोज्दा घटना भएको भनिएको छ भने वडा अध्यक्ष र केटिको आमाले गाउँलेको भिड बोलाइ घटना घटाइएको समेत उल्लेख छ । यो घटनालाइ हेर्दा चारवटा मनोबिज्ञानले काम गरेको देखिन्छ । पहिलो अपरिपक्क योजना, दोस्रो जनप्रतिनिधि जस्तो मान्छेमा भएको जातिय अन्धता , तेस्रो प्रशासनको लापरबाही र चौथो छुवाछुतको अबस्था कायम हुनुबाट घटना हुन पुगे झै लागेको छ ।

प्रेममा मान्छे अन्धो हुन्छ भने झै भर्खर बिसको हाराहारीमा रहेका युवायुवतीले एक अर्काको रोजाइलाइ भावनामा बहकिएर सफल पार्न खोजेको देखिन्छ । उनीहरुलाई थाहा थियो परिबार र समाजले स्विकार्दै भन्ने ।किनकी न दुबै शिक्षा र आर्थिक दृष्टिकोणले सक्षम देखिन्छन न कानुनी सहायता लिने अवस्थाका छन ।अझै भन्ने हो भने कोरोनाको यो सन्त्रासमा भिडभाड गरि गाउँ छिर्ने योजना भएको छ ।जसले कानुनी अपब्याख्या हुने प्रस्तत आधार देखिन्छ्न ।

दोस्रो घटना सुनियोजित भएको देखिन्छ । केटिलाइ फोन गर्न लगाएर तम्तयार भएका हुन कि भन्ने आशंका गर्न सकिन्छ ।ठूलो संख्यामा यसरी गाउँले एकैचोटि जुट्नु र चार किलोमिटर परसम्म लखेटेर मार्नु बर्बरताको नमुना पनि हो । प्रहरीले खवर पाएर पनि नरोक्नु र वडाअध्यक्ष समेतले हान्ने आदेश दिनुको पछाडी घटना पुर्वनिर्धारित योजना बमोजिम थियो ।जनप्रतिनिधि जस्तो मान्छेले सामाजिक परिवर्तन नबुझ्नु र प्रहरीले कानुन बमोजिम काम नगर्नुले जातिय थिचोमिचो त्यो समाजमा जिबितै रहेको देखाउछ ।

यी दुबै जिल्ला हिजो माओवादी आन्दोलनको प्रभाव रहेका जिल्ला पनि हुन । यसले माओवादी आन्दोलनको उपलब्धि छुवाछूत मुक्त राष्ट्र र समानतापुर्ण नेपालको घोषणालाइ नराम्रोसंग गिज्जाएको छ । हिजो आन्दोलनमा सारथि बनेका दलित बर्ग सत्तामा पुगेपछि अपहेलित हुनु र दलित बर्ग पनि आफ्नो हिजोको स्थितिबाट माथी उठन नसक्नुको कारण नै समाजको कुरुतिको रुपमा रहेको छुवाछूत र भेदभाव जिवित हुन सकेको हो ।

दलित अगुवा आफ्ना छोराछोरीलाई छात्रवृत्ति दिलाउन मात्रै दलित बन्ने अघिपछि आफ्नै समुदायलाई हेलोहोचो गर्ने र संगै बसेर खाना समेत असहज मानेकै कारण दलित आन्दोलनले उचाइ लिन नसकेको हो । समुदायको निम्ति भन्दा नि आफ्नो निम्ति नै चाकडी गर्ने बानीले आन्दोलनमा अग्र मोर्चामा खटेपनि निर्णायक भोटको बाहुल्यता रहेको दलित आफै नेता हुने भन्दा नि बुख्याचा मात्रै ठहरिएका छन ।

समग्र दलितको चेतनास्तर, शिक्षा र आर्थिक अवस्था सुधार्न प्रयत्न नगरेकै कारण हिंसामा पर्ने र अपमानको सिकार हुनुपरेको स्पष्ट छ ।केवल ब्राह्मणबाद र हिन्दु धर्मले शोषण गर्यो भन्दा नि राज्यको संयन्त्रमा दर्हो उपस्थिति जनाउन नसकेकै कारण अपहेलित भएको बुझ्नुपर्छ । किनकी हिजो बोक्सीको आरोपमा एकल महिला र त्यसमा पनि निमुखा नै प्रताडित हुने समाज यहि नै हो ।

बेदको पुर्न व्याख्या, बर्णाश्रमलाइ पेशा र जातलाइ पहिचानको रुपमा लिने स्थिती बनाउन दलित र गैरदलित मिलेर अब अघि बढ्नु जरुरी छ । यस्तो मान्छेले मान्छेलाइ घृणा गर्ने सामाजिक अपराधका बिरुद्द एक भएर लाग्नुपर्ने जनप्रतिनिधि र समाजका अगुवाहरुमा यो खाले अन्धता रहेकोले दलित संघ, संस्थाले उहाँहरुसंग पहिलो सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रम गर्नु अति जरुरी छ ।

अर्को कुरा, यो र यस्ता घटना हुनुमा प्रहरी प्रशासनको लापरबाही र बेवास्ता पनि देखिने गरेको छ ।उजुरी आइसकेपछी मिलापत्रका नाममा अलग गराउने वा उमेर नपुगेको देखाउने, अपहरणको आरोप लगाउने, घटनाको भावी प्रभाव नहेर्ने, कानुनी परामर्शको लागि ब्यबस्था नगर्ने र कथित उपल्लो जातको पक्षमा प्रमाण बिनै काम गरेको देखिदै आएको छ ।प्रहरी प्रशासनको पहलमा अदालती बिबाहको प्रयास गरेको कतै सुन्निदैन ।

यसो हुनुमा प्रहरी प्रशासनमा छुवाछूत सम्बन्धि बुझाइमा कमजोरी रहेको देखिन्छ ।यस घटनामा पनि प्रहरीले उजुरी आएपछी नवराज बिकलाइ एकचोटि थुनामा राखेको तर उनको कुरा नसुनिएको र हल्का रुपमा लिएकै कारण पनि यो पासबिक हत्या भएको हो भन्ने अनुमान यतिबेला गरिएको छ ।

पछिल्लो पटक पनि प्रहरी मुकदर्शक बनेको भनिएको छ त्यो बारेमा अनुसन्धान हुनैपर्छ ।प्रहरी प्रशासनले महिला,बालबालिका र जातीय छुवाछूत मुद्दालाइ छुट्टै सेल वा शाखा मार्फत बिशेष रुपमा हेरिनुपर्छ । उजुरी भन्दापनी घटनाको प्रकृति हेर्न सकेमा मात्रै यी घटना दोहोरिन सक्दैन्न । बास्तवमा एकाइसौ शताब्दीको कलंकको रुपमा रहेको छुवाछूतको घटना समाजमा भइरहनु भनेको कानुनी ब्यबस्थाले मात्रै नपुग्ने रैछ भन्ने देखियो ।

यसको निम्ति निरन्तर तलसम्म काम गर्ने संयन्त्र हुनु जरुरी छ । दलित आयोगको प्रतिनिधित्व स्थानीय तहमा पनि हुनुपर्ने देखियो ।पछिल्लो अनिबार्य एकजना दलित उम्मेदवार हुनैपर्ने ब्यबस्था निर्वाचन कानुनमा भएको परिवेशमा ती दलित उम्मेदवारको क्षमता बिकासमा बिशेष ध्यान दिनुपर्ने देखिन्छ । पछिल्लो गुल्मीको कालीगण्डकीमा कार्यपालिकाको दलित सदस्यको परिवार माथी भएको घटनाले यहि उजागर गरेको छ ।

दलित आन्दोलन एकल रुपमा भन्दा पनि सहकार्य र एक्यवद्धता मार्फत मात्रै सफल हुनसक्छ । समाजमा यो वा त्यो रुपमा छुवाछूत एउटै समुदाय र फरक समुदायभित्र जिवित छ । त्यो जनजाती, ब्राह्मण र दलित भित्रै पनि छ । यति हो अरुमा छोइछिटो देखिन्छ भने दलितसंग छुवाछूत नै गर्ने गरिएको देखिन्छ।

कुकुर घरभित्र छिर्न पाउने तर मान्छे छिर्न नपाउने न्यायसंगत छैन । सार्वजनिक ठाउँमा हुने यो भेदभाव नगण्य भएपनी बिबाहसम्बन्धमा अझै समस्या देखिएको छ ।यसको लागि दुबै पक्ष सामाजिक हैसियतमा माथी उठ्ने ,चुनौती सामाना गर्न सक्षम हुने र उदाहरणीय बिबाह सम्बन्ध राखेर समाजमा स्थापित हुने हो भने यस्तो अन्तर्जातिय बिबाह प्रोत्साहित हुने देखिन्छ ।

बिबाह भबिष्य बिताउन गरिने हुँदा सक्षमता खोजी जसले पनि गरेको हुन्छ । केटाकेटी दुबै सक्षम नभए पारिबारिक हस्तक्षेप रहने देखिन्छ । आफ्नै समुदायमा समेत शिक्षा,चरित्र र आर्थिक अवस्थालाई ध्यान दिएर बिबाह गराइन्छ भन्ने सामान्य बुझाइ राखिनुपर्छ । समग्रमा जातिय छुवाछूतको नाममा मान्छे मारिनु दुखद छ । मुलुकी एन २०२० ले बन्देज गरेको प्रथा अझै बिद्द्मान हुनुका पछाडि ब्यबहारिक कठिनाइमा ध्यान नदिनु नै हो ।

आज पाँचौ गणतन्त्र दिवस मनाउदै गर्दा जन्मकै आधारमा कोहि नागरिक रैती र कोहि शासक हुने स्थितिको अन्त्य नहुनुमा हामिमा रहेको संकिर्णता हो । सबैलाइ समान व्यबहार गर्न नसक्नु हो ।कानुन किनिनु हो । सानालाइ एन ठुलालाइ चैन हुनु नै हो । तसर्थ थर बदलेर हुन्छ कि सस्कारमा परिबर्तन ल्याएर हुन्छ त्यसको निम्ति खुल्ला कानुनको ब्यबस्था गरिनुपर्छ ।

धर्मको साझा उद्देश्य मानवसेवा हो, यससंग बाझिने ब्याख्या हटाइनुपर्छ । मान्छे, मान्छे बिचको विभेद जातको आधारमा रहनु हुदैन ।बैँस चल्ने पानी नचल्ने हुनुहुदैन । कला चल्ने मान्छे हेपिने हुनुहुदैन । सेते कामी, आइते सुनार र नबराज बिक जस्ता जातको झांतोमा पिसिएर घुन झै मारिन बन्द गरिनुपर्छ ।

सरकार यो घटनाको जरैसम्म पुगेर अनुसन्धान गरि दोषी सबै माथी कानुनी कारबाही गर्न तयार हुनैपर्छ ।सामुहिक घटना भएको हुँदा छानबिन आबश्यक छ । जोसुकैले आगोमा हात हाल्दा सेप्टी अपनाउन पर्छ । मुर्खता कतैबाट हुनुहुदैन ।सबै जात उपल्लो नै हुन । शिक्षा, आनिवानी र आर्थिक अबस्थामा सुधार ल्याउन लाग्नैपर्छ ।

आफ्नो समुदायका अब्बल मानिसहरु तयार गर्न आजैबाट लाग्ने प्रण गरिनुपर्छ । गणतन्त्र दिवस २०७७ ले छुवाछूत मुक्त नेपालको आभास दिलाएर सबै बर्ग र जातिको समान पहिचान स्थापित गर्न सकोस । शुभकामना !

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend