logo
  • शनिबार, साउन ३० २०८३

संक्रमित गाउँपालिका अध्यक्षद्वारा प्रेस विज्ञप्ति जारी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हुमाकान्त पोखरेल, गुल्मी जेठ १३ ।
गुल्मीमा एकजना कोरोना संक्रमित गाउँपालिका अध्यक्षले प्रेस विज्ञप्ति जारी गरेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । रोगको पहिचान समयमै भएकोले केहि दिन आफु एकान्तबासमा बस्ने र उक्त समयलाई गाउँपालिकाका आगामी योजना बनाउने अवसरको रुपमा लिने बताए ।

तर उक्त अवधिभर आफुसँग सम्पर्कमा रहेका जो कोहि पनिलाई संक्रमणको जोखिम हुने हुँदा सुरक्षित रहन सबैलाई आग्रह गरे । चारदिन स्वाब संकलन गरी पठाएकोमा सोमबार साँझ उनमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएसँगै चौतर्फि रुपमा चासो भएपछि उनले विज्ञप्ति नै जारी गरी आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

उनले आफु गाउँपालिकामा निर्माण गरिएका क्वारेन्टाइन कक्षको अनुगमन तथा जिल्लास्तरिय कार्यक्रममा तम्घाससम्म पुगेको र अन्य ठाउँमा नगएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । गुल्मीमा पहिलोपटक मदाने गाउँपालिकामा जेठ ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि धुर्कोट गाउँपालिकाका सुरक्षाकर्मी, गाउँपालिकाका सवारी चालक र स्थानीय प्रहरीको आर.डि.टि. गरिएको थियो । जसमध्ये एकजना पदाधिकारीको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

त्यसपछि अध्यक्ष पोखरेल र उक्त पदाधिकारीको स्वाब संकलन गरी पठाइएकोमा स्वयम् अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ । धुर्कोटकै अर्का संक्रमित भने हाल वडा नम्बर ४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा रहेका छन् । उनी दीर्घरोगी पनि भएकोले उनलाई थप उपचारको लागि बुटबल लैजाने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend