साझा नेटवर्क
जयश्वर जैसी, प्युठान जेठ ११ ।
प्युठानको गौमुखी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र ठुलाबेसी बजार लकडाउन भित्र थप लकडाउन हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण एवं जोखिम तीब्र बन्दै गएको भन्दै सरकारले गरेको लकडाउनमा पनि बजार एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरू सञ्चालन हुँदा उच्च जोखिम बढ्ने खतरा भएको भन्दै एक हप्ताका लागि बजार एवं संघ-संस्थाहरू पूर्णतः बन्द(लकडाउन) गरिने भएको छ ।
गौमुखी गाउँपालिकासँग सिमाना जोडिएको गुल्मीको मदाने गाउँपालिकामा १ जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको र १ जना व्यक्तिमा संक्रमण पुष्टि भएकोले ठुलाबेसी बजार उच्च जोखिममा हुन सक्ने भन्दै आज बसेको ठुलाबेसी बजार व्यवस्थापन समितिको बैठकले जेठ १३ गतेदेखि १९ गतेसम्मको लागि होटल, पसल, बैंक, सहकारी, वित्तीय संस्था लगायत पूर्ण रूपमा बन्द गर्न अनुरोध गर्ने निर्णय गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष जनक केसीले बताए ।
उद्योग बाणिज्य संघ गौमुखी बजार क्षेत्रका अध्यक्ष समेत रहेका केसी भन्छन्, ” कोरोना महामारी तीब्र बन्दै गएकाले पालिकाकै केन्द्र ठुलाबेसी बजारका कारण थप जोखिम नहोस् भन्नको लागि बजार थप लकडाउन गर्ने निर्णय गरेका हौँ । हामीले हाम्रो निर्णय प्रतिलिपीसहित सम्बन्धित होटल, पसल सहकारी, विभिन्न संघ-संस्था तथा निकायहरूमा बन्दको लागि अनुरोध गरेका छौँ । हाम्रो अनुरोधलाई बेवास्ता गरेर बन्द नगरेमा कोरोनाका कारण कुनै क्षति भए सम्बन्धित पक्ष नै जवाफदेही हुनुपर्ने छ ।
” केसीले थप भने, ” निर्णयलाई थप सहजीकरण गर्नको लागि गौमुखी गाउँपालिका र ईलाका प्रहरी कार्यालय पुजा लिवासेलाई बोधार्थ दिएका छौँ ।” कोरोना भाइरस विश्वभर फैलिएसँगै नेपालमा पनि तीब्र गतिमा संक्रमण बढेकाले लकडाउनको पूर्ण पालना गर्दै सामाजिक एवं भौगोलिक दूरी कायम गर्न समेत बजारबासीहरूलाई अनुरोध गर्दै प्रचा समेत टाँस एवं वितरण गरिएको स्थानीय बजारवासी महेन्द्र चन्दले बताए ।
अत्यावश्यक काम बाहेक अन्य काममा जथाभावी बाहिर निस्कने र अन्यत्र ठाँउबाट आएका अपरिचित मानिससँग लसपस तथा प्रत्येक्ष सम्पर्कमा रहेका व्यक्तिलाई बजार प्रवेश रोक लागाउनुका साथै क्वारेन्टाइनमा बस्नको लागि प्रहरी प्रशासनमा बुझाउन सकिने स्थानीय युवा बालाराम न्यौपानेले बताए । यो निर्णयको कार्यान्वयन भए जेठ १३ देखि १८ गतेसम्मको लागि ठुलाबेसी बजारमा रहेका सम्पूर्ण होटल, पसल, सहकारी, लघुवित्त, बैंक लगायत मानिसहरूका ओहोरदोहोर समेत बन्द हुने छन् ।
सिमा जोडिएको गुल्मीको मदानेमा कोरोनाका कारण एक व्यक्तिको मृत्यु र एक जनामा कोरोना पुष्टि एवं छिमेकी राष्ट्र भारतबाट मानिसहरू दैनिक आउने क्रम बढेसँगै गौमुखीवासीमा थप त्रास फैलिएको छ । आज मात्रै भारतबाट गौमुखी गाउँपालिकामा २५ जना आएको पालिकाका स्वाथ्य संयोजक हरिप्रसाद जैसीले जानकारी दिए । उनीहरूलाई महेन्द्र मावि पुजाको क्वारेन्टाइनमा राखिने संयोजक जैसीले बताए ।





© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend