साझा नेटवर्क
एजेन्सी, पेरु ।
पेरुले अमेजन क्षेत्रभित्र द्रुत रुपमा अस्पताल निर्माण गर्ने जनाएको छ । यहाँको आदिवासी समुदायमा कोभिड १९ का बिरामीको संख्या बढ्न थालेपछि उनीहरुको उपचारका लागि अमेजनमा अस्पताल बनाउन लागेको हो । स्थानीय मिडियाका अनुसार १ सय शैय्याको अस्पताल त्यहाँ निर्माण हुनेछ ।

ब्राजिलसँग जोडिएको पेरुभियन अमेजनभित्र पर्ने ग्रामिण भेग उक्याली क्षेत्रमा अस्पताल बन्ने बताइएको छ । जुन तीन हप्ताभित्रै बनाइसक्ने तयारी छ । पेरु सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै कोभिड १९ का बिरामीको उपचारका लागि द्रुत गतिमा अस्पताल निर्माण गरिने जनाएको हो । सरकारले छिट्टै त्यहाँ २ सय २० जना स्वास्थ्यकर्मी खटाउने पनि जनाएको छ ।
पेरु सरकारले अस्पताल बनाउने भनेको पेरुभियन अमेजन जंगल विश्वमै सबैभन्दा धेरै जैवीक विविधता भएको क्षेत्रमध्ये एक हो । प्रधानमन्त्री गुस्ताभो जेबाल्लोसले सरकारले अक्सिजन र अन्य मेडिकल उपकरण हवाइ तथा जलमार्ग हुँदै त्यस क्षेत्रमा पठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पेरुभियन जंगल क्षेत्रमा पुग्न तथा ढुवानीका लागि सामान्यतः सडक मार्ग भन्दा पनि जलमार्गको प्रयोग हुँदैआएको छ । अस्पतालमा अक्सिजनको अभावका कारण पेरुमा कोभिड १९ का बिरामीको मृत्यु भएको यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । पेरुमा कोभिड १९ बाट संक्रमितको संख्या २ हजार २ सय ५० पुगिसकेको छ । साथै ९५ जनाको मृत्यु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend