साझा नेटवर्क
Blood sample tube positive with COVID-19 or novel coronavirus 2019 found in Wuhan, China
काठमाडौं, वैशाख ३१ ।
बुधबार थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । नयाँ संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षका महिलामा संक्रमण भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । थपिएका संक्रमित मध्ये ९ जना गैडहवा गाउँपालिकाका वडा नं. २ जोगडाको एकै परिवारका हुन् । उनीहरु तीन महिला र ६ जना पुरुष छन् । अर्का एकजना पुरुष पनि गैडहवा गाउंपालिका जोगडाकै हुन् ।
उनीहरु सबै एक हप्ता अघि भारतको मुम्बईबाट आएका हुन् । उनीहरु घर आउँदै गरेको थाहा भएपछि स्थानीयबासीले जोगडा माविको क्वारेन्टाइनमा ल्याएर राखेका गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए ।त्यस्तै कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ । उनीहरू मध्ये चार जना सुरक्षाकर्मी हुन् ।
दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना सशस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई छन् । यसैगरी पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार दिउँसो २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु कपिलवस्तु र बाँकेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend