साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी फागुन ३० ।
गुल्मीको सत्यवति २ ठुुलोलुम्पेक चेहेमीका ८७ बर्षीय थानेश्वर कुवंरले बाँदर धपाउन थालेको ६० बर्ष भए । उनले बाँदरको समस्या तन्नेरीदेखि थापा पाउँछन् । अहिले कपाल फुल्यो यद्यपी समस्या ज्यूँका त्यूँ छ । ‘बाँदरले खेति मात्रै खाएन मान्छे बँच्न मुस्किल पार्यो,’ कुवंरले भने,’घाम उदाएदेखि रात नपरुन्जेल खेतबारीमै बस्नुपर्ने बाध्यता परेको छ ।’ कुवर दम्पती मात्रै घरमा छन् । बिहानदेखि बेलुकासम्म बाँदर हेर्ने युवा गाउँमा छैनन् । केहि बसाई सरेर गए । कति विभिन्न शिलसिलामा शहर छन् । कुवरले अहिलेदेखि तीन चार रोपनी खेतबारी बाँझै राखेका छन् ।
फोटो : सत्यवति गाउँपालिका २ ठुलोलुम्पेककी खुनीकला कुवंर । बाँदरले नष्ट गरेको मकै सिमल्दै ।
गाउँमा मान्छेको भन्दा बाँदरको संख्या धेरै छ । बाँदरले कसैलाई टेर्दैन । तीन÷चार सय बाँदर आएपछि आफुहरु ढोका लगाएर लुक्ने अवस्था रहेको कुवंरले बताए । बाँदरले बर्षदिनलाई पुग्ने खेतीबालीसंगै घरमै आएर समान लैजाने, आक्रमण गर्ने क्रम गाउँ–गाउँमा बढ्दै गएको छ । बसाइसराईको कारण गाउँमा मान्छे पनि कम छन् । भएका पनि बाँदर आतंक कारण गाउँमा बस्ने मनस्थितीमा नरहेको लक्ष्मीपुर माविका शिक्षक शेर बहादुर कुवंरले बताए ।
बाँदरले ठुलोलुम्पेक र अस्लेवाका ढुसेनी, पाँदी, चेहेमी, ढाव, गुलम्दी, रामबारी र चौर लगायतका स्थानमा बढि सताउने गरेका छन् । ‘मान्छे शहर झरे, बाँदर मात्रै गाउँमा छन,’ स्थानीय धनपति कुवरले भने,‘केहि समय पहिले १५ रोपनी खेतबारीको मकै एकछिनमा नष्ट ग¥यो ।’ सोहि स्थानका रुद्रलाल कुवंरको करिव तीन रोपनी खेत बाँझै छ । घरमा बुढाबुढी मात्रै छन् । ‘बुढाबुढी बाँदर लखेट्न सकिएन, खेतीको लोभमा ज्यानमै धराप किन पार्नु,’उनले भने,‘खेतबारी बाँझिएपछि बाँदरले झन घरमा बल गर्यो ।’
खेतीसगै मान्छे पनि असुरक्षित
बाँदरले मकै रोप्दा खोर्सेर खाने, अल्ली ठुलो भए गुवो खाने, फल लागेसी भाँचेर खाने तथा घरमै स्याहारेको अन्नपात समेत खाने गरेको छ । खेतबारी बाहेक घरमै भएका मुला, आलु र भकारीमा राखेको मकै समेत खाने गरेको मालिका गाउँपालिका ५ भुस्खातका ठगिश्वर गिरीले बताए । उनले बारीमा एक्लै महिला केटाकेटी हिडन सक्ने अवस्था नरहेको बताए । ‘बिउ छरेदेखि उम्रिएर घरमा स्याहार गरेको पनि बाँदरले खायो,’उनले भने,‘महिला र बालबालिका एक्लै बारी र घरमा समेत असुरक्षित भए, बगालै आएर पिट्छ ।’ त्यहि कारण छापहिलेका गोमा गिरी, डम्बर गिरीले खेतबारी बाँझै राखेर बसाईनै सरेर गएको स्थानीय गिरी बताए । बाँदरकै कुटाइबाट सत्यवति गाउँपालिका १ अस्लेवाकी उमकला कुवंर घाइते समेत भएकी थिइन् ।
नियन्त्रण र क्षतिपूर्तिको माग
स्थानीयले बाँदरका कारण जिविकोपार्जनमा मुस्किल परेको भन्दै नियन्त्रण र क्षतिपूर्तिको माग गरेका छन् । जनशक्ति अभाव, महङ्गी र कम उब्जनीका कारण धेरैले कृषि कर्म छाडेका छन् । त्यसमाथै खेतीबाली गरिरहेकाहरु पनि उत्पादन स्याहार्न पाउने आशमा छैनन् । ठुलो संख्यामा आउने बाँदरले खेतबारीनै कब्जा गर्ने गरेको मालिका गाउँपालिका ७ का राजु लम्सालले बताए । उनले यो समस्याका कारण गाउँनै छोड्ने अवस्था आएकाले स्थानीय सरकारले चासो दिनुपर्ने बताए । ‘नियन्त्रण छैन, क्षतिपूर्ति पनि छैन किसानले कसरी काम गर्ने,’उनले भने,‘धेरैले खेति गर्न छाडे ।’
तीनै तहमा उपाय छैन
पहाडी जिल्लाहरुमा बाँदरको समस्या निकै रहेको छ । गुल्मीबाट प्रतिनिधी सभा सदस्य मैना भण्डारीले जिल्लाको बाँदर समस्याको बारे संसदमा समेत कुरा उठाइन् । उनले बाँदरले गाउँमा किसान उठिबास लागेकाले नियन्त्रणमा सरकारले चासो दिनुपर्नेमा जोड दिइन् । मालिका, मदाने, सत्यवति, छत्रकोट लगायतका स्थानीय तहका प्रमुखहरुले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको समेत ध्यानाकर्षण गराए । भने स्थानीय तहमा पनि बाँदर नियन्त्रणको माग स्थानीयले पटक–पटक गर्ने गरेका छन् । तीनै तहसंग नियन्त्रणको कुनै उपाय छैन् । ‘बाँदर नियन्त्रणको लागि कुनै उपाय भए बजेट बिनियोजन गर्ने थियौ,’सत्यवति गाउँपालिका प्रमुख पारिश्वर ढकालले भने,‘समस्या समाधान गर्न नसकेपछि निरिह जस्तै भएका छौ ।’ बाँदर समस्या देशभर भएपनि नियन्त्रणको उपाय तीनै तहका सरकारसंग छैन् ।
बाली जोगाउन पुतली बाघ
बाँदर लगायतका बन्यजन्तुले बालीनाली जोेगाउन स्थानीयले अनेक उपाय गरेका छन् । तर सवै उपायले काम गरेको छैन् । बाँदर धपाउने उपायका रुपमा रुरु गाउँपालिका १ चिउरेकमा स्थानीयले पुतली बाघको डमी बनाएर राखेका छन् । बाली जोगाउने अनेक उपायले काम नगरेपछि अहिले बाघको डमी बनाएर खेतबारीमा राखिएको च्यूरेकका मित्र ज्ञवालीले बताए । साथै कुकुरलाई रंगाएर बाघ जस्तो बनाएर पनि छाडिएको छ । उनले गएको बर्ष डमीले केहि काम गरे पनि पछि त्यो पनि बाँदरले नपत्याउने गरेको बताए ।
फोटो:रुरु क्षेत्र गाउँपालिका १ रिडीका स्थानीयले बाँदर धपाउन गरेको स्थानीय उपाय । कुकुरलाई बाघ जस्तै बनाएका छन् । भने बाघको डमी पनि बनाएका छन् । खुनीकला कुवंर ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend