साझा नेटवर्क
रमेश विश्वकर्मा,गुल्मी फागुन ६ ।
पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति भागवत ज्ञवालीको ७७ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको अल्का अस्पतालमा उपचार गर्दागर्दै ज्ञवालीको मंगलबार बिहान तीन बजे निधन भएको हो । ज्ञवाली गुल्मीका संस्थापक पार्टी सभापति तथा २०४८ सांसद, प्रतिनिधि सभा सदस्य थिए । ज्ञवालीको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उहाँको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्व गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु ।’ ज्ञवालीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
साथै नेपाली काँग्रेस गुल्मीको साँगठनिक विकासका लागि लामो समय देखि क्रियाशिल स्व. ज्ञवालीको निधनप्रति नेपाली कांग्रेस गुल्मीले तेह्र दिनसम्म पार्टी कार्यालय तम्घासमा शोक पुस्तिका राख्ने, नेपाली काँग्रेस गुल्मी र मातहतका सबै कार्य समिति एवं भातृ सङ्गठनका कार्यालयहरुमा सात दिनसम्म आधा झण्डा झुकाउने र शोकको घडिमा सम्पूर्ण काँगे्रस पार्टीका पालिका स्तरिय कार्यालयहरुमा पाँचौं दिन शोक सभा गर्ने निर्णय समेत गरेको सभापती भुवन प्रशाद श्रेष्ठ द्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।
विषय : प्रेस विज्ञप्ति
नेपाली काँग्रेस गुल्मीका संस्थापक सभापति तथा पूर्व सांसद भागवत ज्ञवालीको मिति २०७६ साल फागुन ०६ गते बिहान ३ः३० बजे काठमान्डौमा भएको असामयिक, अकल्पनीय निधनको खबरले हामी स्तब्ध भएका छौं । उहाँको जन्म वि.सं. २००१ साल कात्तिक १ गते गुल्मीको मानकोटमा भएको थियो । आत्मबोध माध्यमिक विद्यालय गुल्मीका संस्थापक प्रधानाध्यापक समेत रहनुभएका सादा जीवन उच्च विचारका अनुयायी विद्वान ज्ञवालीले आफ्नो सम्पूर्ण जीवन नेपाली काँग्रेसको विकास र विस्तारका लागि खर्चनु भएको थियो । प्रजातन्त्र प्राप्तीको लागि निरङ्कुश शासन विरुद्धको लडाईमा २०४२ साल फागुनमा प्रहरी हिरासतमा रहँनुभएको थियो ।
वि.सं. २०४८ सालमा तत्कालिन गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको निर्वाचनमा विजयी भई आफ्नो संसदीय कार्यकालमा मानवअधिकार तथा परराष्ट्र समितिका सभापति समेत रहनु भएको थियो । उहाँ पञ्चायती शासन व्यवस्थाको विरोध तथा लोकतन्त्रको पक्षमा निरन्तर लाग्नु भएको थियो । प्रतिबन्धित अवस्थामा समेत नेपाली काँग्रेसको सङ्गठन विस्तार लगायतका महत्वपूर्ण कार्यहरुमा उहाँको ठुलो योगदान रहेको छ ।
नेपाली काँग्रेसको सैद्धान्तिक विचार एवं दार्शनिक पक्षका ज्ञाता ज्ञवालीमा प्रष्ट धारणा, अडान एवं जस्तोसुकै समयमा पनि बिचलित नहुने स्वभाव थियो । नेपाली काँग्रेस गुल्मीको साँगठनिक विकासका लागि लामो समय देखि क्रियाशिल रहदै आउनु भएका ज्ञवालीको निधनले गुल्मी काँग्रेस मात्र होईन, प्रजातन्त्रलाई निकै ठुलो क्षति पुगेको छ । नेपाली काँग्रेस गुल्मी जिल्ला कार्य समितिको तर्फबाट दिवंगत आत्माको चीरशान्तीको कामना गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।
साथै आजका मिति देखि सात दिनसम्म पार्टीका कुनै पनि कार्यक्रमहरु नगर्ने, आज देखि तेह्र दिनसम्म पार्टी कार्यालय तम्घासमा शोक पुस्तिका राख्ने, नेपाली काँग्रेस गुल्मी र मातहतका सबै कार्य समिति एवं भातृ सङ्गठनका कार्यालयहरुमा सात दिनसम्म आधा झण्डा झुकाउने र शोकको यस घडिमा सम्पूर्ण काँगे्रस पार्टीका पालिका स्तरिय कार्यालयहरुमा पाँचौं दिन शोक सभा गर्ने निर्णय समेत गरेको जानकारी गराउँछौं ।
जय नेपाल !
भुवन प्रसाद श्रेष्ठ
सभापति
नेपाली काँग्रेस, गुल्मी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend