साझा नेटवर्क

साझाँ नेटवर्क संवाददाता
अर्घाखाँची माघ ८ गते । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा वडा स्तरीय नकआउट क्रीकेट प्रतियोगिता आज देखि सुरु भएको छ ।
गाउँपालिका भित्र रहेका ८ वटै वडाको सहभागिता रहेको प्रतियोगीतामा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले उद्धाटन गर्दै युवा पुस्ताहरुको पहिलो रोजाई बनेको क्रिकेट खेलको विकासमा सरकारको ध्यान जान जरुरी रहेको बताउनु भयो ।
ग्रामीण तथा शहरी क्षेत्र तिर क्रिकेट प्रति युवाहरुको आकर्षण बढेपछि दक्ष क्रिकेट खेलाडी उत्पादन गर्न वडा स्तरीय क्रिकेट प्रतियोगीताको आयोजना गरिएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउदै खेलकुदको माध्यमबाट युवाहरु बिच आपसी सद्भाव र भाइचाराको सम्बन्ध कायम गर्न उक्त क्रिकेट खेलको आयोजना गरिएको बताउनु भयो ।
उद्धाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा, छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल , वडा अध्यक्षहरु प्रकाश पन्थी, राजेश पनथी, तेज प्रसाद खनाल, अशोक कुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कमल पौडेल, शोभाखर पाण्डे, राजकुमार श्रेष्ठ, जिल्ला क्रिकेट संघका अध्यक्ष ऋषिकेस भट्टराई, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तव्य राख्नु भएको थियो ।
प्रतियोगीतामा प्रथमले ४० हजार दोस्रोले २५ हजार र तेस्रो हुनेले १५ हजार नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिनु भयो ।
कार्यक्रम छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलको अध्यक्षता ६ नम्बरका वडाअध्यक्ष कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend