साझा नेटवर्क
जायश्वर जैसी,प्यूठान पुष २९ ।
पाँच नम्वर प्रदेश सभा सदस्य तारा जिसीले गौमुखी माध्यमिक विद्यालयलाई प्रदेश सरकारबाट नमूना विद्यालय घोषणा गर्नका लागि आफूले पहल गरिरहेको बताएकी छन् । विद्यालयको २८ औँ वार्षिक उत्सव समारोहको अवसरमा प्रमुख अथितिको रुपमा बोल्दै उनले दुर्गम स्थानमा रहेर पनि विद्यालयले छोटो समयमा गरेको प्रगतिलाई प्रशंसा गरिन् । विद्यालयले गरेको प्रगतीलाई समाज र देश विकासको लागि एउटा महत्वपूर्ण आधार हुने उनको भनाई छ ।
गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले शिक्षा क्षेत्र राम्रो नभएमा समाज र राष्ट्र पनि सही बाटोमा हिड्न नसक्ने बताए । उनले यसका लागि सरोकारवाला पक्ष शिक्षा क्षेत्र राम्रो बनाउन लाग्नुपर्ने उल्लेख गरे । विद्यालयका भूतपूर्व प्रधानाध्यापक तेजप्रसाद मिश्रणले विद्यालयमा आफ्ना छोराछोरीले के सिके ? कति पढाइ भयो ? शिक्षक उपस्थित छन् कि छैनन् ? अभिभावकले ध्यान नदिएसम्म विद्यालयले प्रगति गर्न र छोराछोरी राम्रा बन्न नसक्ने कुरा व्यक्त गरे । व्यवसायी ज्ञामुराम न्यौपानेले शिक्षा क्षेत्रमा राज्यले प्राप्त लगानी गर्न नसकेकाले शिक्षा क्षेत्र पछि परेको बताए ।
कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन कार्य गर्ने अभिभावक, प्रधानाध्यापक तथा शिक्षकहरूलाई पुरस्कृत गरिएको छ । विभिन्न अतिरिक्त क्रियाकलाप एवं २०७५ सालको वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई समेत विद्यालयले पुरष्कृत गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुक बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वार्षिक शैक्षिक एवं प्रगति प्रतिवेदन प्रधानाध्यापक अर्जुन बहादुर केसीले प्रस्तुत गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend