साझा नेटवर्क
सर्जना कार्की,रुकुमपूर्व पुष २८ ।
भ्रमण वर्ष २०२० लाई सफल बनाउनको लागि प्रचारात्मक अभियानमा निस्किएको टोली रुकुम (पूर्व) मा पुगेको छ । भ्रमण वर्ष सफल बनाउनको लागि विभिन्न जिल्लाको अवलोकन तथा प्रचारप्रसार गर्दै प्रदेश नम्बर १ अन्तर्गत पाँथर जिल्लाको युवा टोली प्रदेश नम्बर ५ को हिमाली जिल्ला रुकुम (पूर्व) मा पुगेको हो ।
भ्रमण वर्ष उद्धघाटनकै अवसर पारेर पुस १६ गतेबाट पूर्व पाँचथरको चिवाभञ्याङ देखि प्रचारात्मक अभियान सुरु गरेको टोलीको यात्रा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) लोकमार्ग हुदै पश्चिम बैतडीको झुलाघाटमा पुगेर टुङ्गीने छ । यात्राका क्रममा टोलीले मध्यपहाडि लोकमार्ग आसपासका पर्यटकिय गन्तव्यहरुको अध्यन, अवलोकन तथा प्रचारप्रसार गर्ने टोलीका नेतृत्वकर्ता प्रदेश नम्बर १ का नेकपा प्रदेश कमिटी सदस्य हर्क नेम्वाङ मिक्सोले बताउनुभयो । भ्रमण वर्षको शुभारम्भसँगै आफ्नो यात्रा तय गरेको टोली रुकुम (पूर्व) १२ औ दिनमा पुगेको र २० जिल्ला पार गरी २१ औ जिल्लाको रुपमा रुकुम (पूर्व) पुगेको टोलीले जनाएको छ ।
टोलीले भ्रमणका क्रममा मध्यपहाडी लोकमार्ग आसपासमा पर्ने बस्तीका सामाजिक, आर्थिक, पर्यटकिय तथा भौगोलिक अवस्थाको अध्यन तथा छलफल गर्ने र सबै जिल्लाका पर्यटकिय गन्तव्यहरुको प्रचारप्रसार गर्ने मुख्य लक्ष रहेको नेतृत्वकर्ता नेम्वाङले बताउनुभयो । ‘पर्यटकिय क्षेत्रको अध्यन, अवलोकन, प्रचारप्रसारसँगसँगै हामीले मध्यपहाडी लोकमार्गको काम र मध्यपहाडी लोकमार्गले ल्याएको परिवर्तनको पनि अवलोकन गर्दै आएका छौ,’ नेम्वाङले भन्नुभयो, ‘पूर्व चिवाभञ्याङदेखि पश्चिम झुलाघाटसम्मका २३ जिल्लाको भ्रमणका क्रममा पुगेका र भेटेका सबै ठाउँ, संस्कृति र भेषभुषा लगाएतको प्रचारप्रसार गरेर भ्रमण वर्ष २०२० लाई उपलब्धिमुलक बनाउने हाम्रो लक्ष रहेको छ ।’ ६ वटा बाइकमा नेकपा, कांग्रेस, राप्रपा लगाएतका दलमा आवद्ध युवा र पत्रकार गरी ११ जनाको टोली रहेको उहाँले बताउनुभयो ।
मध्यपहाडी लोकमार्गले छोएका स्थानीय तहहरुसँग पर्यटकिय स्थलहरुको बारेमा जानकारी लिने र छलफल गर्ने क्रममा रुकुम (पूर्व) मा पनि जिल्ला समन्वय समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा टोलीले अहिलेसम्मको यात्राको क्रममा भेटिएका पर्यटकिय गन्तव्य र अनुभवहरु सुनाउनुका साथै प्रदेश नम्बर १ का रहेका प्रर्यटकिय गन्तव्यहरुको फोटोसहितको व्यानर रुकुम (पूर्व) का जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र बहादुर ओलीलाई हस्तान्त्रण गर्दै जिल्लाबासीलाई प्रदेश नम्बर १ भ्रमणको निम्तो दिएको छ । समन्वय प्रमुख ओलीले पनि जिल्लामा रहेको पर्यटकिय गन्तव्यहरुको परिचय दिनुभएको छ । यसैगरी प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य तेजबहादुर ओलीले जिल्लाका पर्यटकिय गन्तव्यहरुको फोटो र जानकारीसहितको पुस्तक हस्तान्त्रण पाँचथरको टोलीलाई गर्नुभएको छ । अबको तीनचार दिनमा झुलाघाट पुग्ने र यो यात्रालाई टुङ्ग्याउने टोलीले जनाएको छ ।
सबैभन्दा कठीन यात्राा रुकुम (पूर्व) को
यात्राको क्रममा २० जिल्ला पार गरिसकेको टोलीले सबैभन्दा कठीन यात्रा रुकुम (पूर्व) मा भएको बताएको छ । मङ्सिरको अन्तिम साता परेको हिमपातले अबरुद्ध बनेको मध्यपहाडी लोकमार्गमै बाइक गुडाएर टोली रुकुम (पूर्व) को सदरमुकाम रुकुमकोट पुगेको हो ।
४ देखि ५ फीटसम्म हिउँ जमेको सडकमा बाइकलाई तान्दै मान्छे हिडदै आएको टोलीका अर्का युवा छवी चापागाईले बताउनुभयो । बाटो कठिन भएकाले बागलुङको भुर्तीवाङबाट अगाडि यात्रा नबढाउन त्यहाँका स्थानीयले भनेपनि लक्षबाट पछि नहट्ने भन्दै टोली अगाडी बढेको थियो । तर बागलुङ र रुकुम (पूर्व) को सिमाना पातीहाल्ने भन्ने ठाउँमा पुग्दा त्यस ठाउँको हिउँ छिचोलेर निस्कन २४ घण्टा लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिउँमा बाइक गाडीएपछि २० जिल्लामा स्वागत गरेका सबैका खादाको डोरी गासेर बाइक निकाल्यौ ।’
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नेपाल भारतको सिमाना पर्ने पूर्व पाँचथरको चिवाभञ्याङदेखि पश्चिम वैतडीको झुलाघाटसम्म फैलीएको छ । १७ सय ७६ किलोमिटर लामो यस लोकमार्गले छोएका २३ जिल्लाका २ सय १५ भन्दा बढी बस्तीका सामाजिक, आर्थिक, पर्यटकिय तथा भौगोलिक अवस्थाको अध्यन, अवलोकन तथा प्रचारसार गर्ने उदेश्यसहित ‘नेपाल यात्रा २०७६’ मोटरसाइकल यात्रा अघि बढाइएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend