साझा नेटवर्क
रमेश विश्वकर्मा, गुल्मी पुष २७ ।
गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा गुणानिधि शर्मा निर्विरोध चयन भएका छ्न् । संस्थाको १२ औं साधारणसभा तथा ५ औं अधिवेशनमा शर्मा अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् ।
गत पुस १२ गते जिल्ला सदरमुकाम तम्घासमा संस्थाको अधिवेशनमा शर्माको प्रतिद्वन्दीका रुपमा अध्यक्ष पदमा अरु कसैले उम्मेदवार दिएका थिएनन् । उपाध्यक्षसमेत अरू सबै पदमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामा गएको बताइएको छ ।
पुस २५ गते शुक्रबारसम्पन्न निर्वाचनमा उपाध्यक्षमा २ जना, सचिवमा २ जना, कोषाध्यक्षमा ३ जना र सदस्यमा १३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचनमा उपाध्यक्षमा रामप्रसाद पन्थी शेयर सदस्य नं २२९ ले ३ सय ४३, सचिवमा रामप्रसाद पन्थी शेयर सदस्य नं। ३२ ले ३ सय २९ र कोषाध्यक्षमा तुल्सिराम पाण्डेले ३ सय ४७ मत प्राप्त गरी निर्वाचित भएका छ्न् ।
त्यस्तै सदस्यमा विनोद पाण्डे ४ सय ४५, जमुना न्यौपाने ४ सय ४३, निर्मला खत्री ४ सय ४१, किशोरप्रसाद मरासिनी ४ सय ३५, प्रकाश भलामी ४ सय १०, युवराज भण्डारी ४ सय ४, मनिराम अर्याल ३ सय ८९, शोभाखर पाण्डे ३ सय ५३ र सावित्रा आचार्यले ३ सय ४१ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।
वि सं २०६४ सालमा स्थापना भएको यो संस्थामा कूल १२ सय बढी सदस्य भएकोमा शेयर मतदाता मध्ये ९ सय ५६ मतदाता रहेका र बाँकी नाबालक छन् । जस्मा ६ सय ४७ मत अर्थात् ६८ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।
संस्थाले अहिलेसम्म शेयर सदस्यहरुको आर्थिक समृद्धिको साथै सामाजिक दायित्वका क्षेत्रमा समेत काम गर्दै आएको छ । शिक्षाको स्तरोन्तिका लागि रेसुंगा बहुमुखि क्याम्पसलाई पचास हजारका साथै अन्य क्षेत्रमासमेत आर्थिक सहयोग गरेको नवनिर्वाचित अध्यक्ष शर्माले जानकारी दिए ।
त्यस्तै बजार क्षेत्रमा अपराध नियन्त्रणमा सहयोग पुर्याउनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मी मार्फत् सिसि क्यामेरा जडानको लागि पनि आर्थिक सहयोग गरेको अध्यक्ष शर्माले बताए । रेसुङ्गामा आउने जाने तिर्थालुहरुको लागि विश्राम स्थल बनाउने अहिलेको नीति तथा तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
रेसुङ्गाको संरक्षण र पर्यटन विकासमा टेवा पुर्याउने यो संस्थाको उदेश्य भएकोले यो नीति नै पास गरेको अध्यक्ष शर्माले बताए । सदस्यहरूको व्यावसायिक उद्दमशीलता मार्फत् पर्यटन विकासको लागि संस्थाले आगामी दिनमा अन्य सहकारी तथा सरोकारवाला सँस्थाहरूसँग सहकार्य गर्ने नीति सभाले पारित गरेको बताइएको छ ।
समाजको आर्थिक समृद्धि, शेयर सदस्य र समुदायको हित र कल्याणका लागि सहकारीको राष्ट्रिय अभियानलाई गुल्मी युनाइटेडले पनि जिल्लाबाट सबैलाई एकताबद्ध बनाएर साथ दिने अध्यक्ष शर्माले बताए ।
त्यस्तै राष्ट्रिय सहकारी अभियान अनुसार जिल्लाको सहकारी आन्दोलनलाई प्रभावकारी रुपमा अगाडि लैजानको लागि गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहयोग पुर्याउने बताए ।
उनले यो संस्था वित्तीय क्षेत्रमा एकल उद्धेश्य सहकारी भएतापनि भोलिका दिनमा विशिष्टीकरण सहकारीहरु, उदेश्यमूलक सहकारी गठन गरी व्यवसायिक र उत्पादनमुखी क्षेत्रमा पनि सहकारीले महत्त्वपूर्ण काम गर्ने जानकारी दिदै भने गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्थाले सदस्यको नेतृत्व विकास गर्दै सदस्यको आर्थिक गतिशीलतालाई सहजीकरण र व्यवसायिक उद्यमशिलता क्षेत्रमा लगानी गर्नेछ ।
यो संस्थाले अन्य सहकारीहरुलाई पनि एकीकरणको लागि आह्वान गर्ने र सामुहिक कोष निर्माण गरेर लगानी गर्ने नीति लिनेछ । स्थानीय सरकार र प्रदेश सरकारसंग समन्वय र सहकार्य गर्दै सहकारीलाई व्यवसायिक ढङ्गले उत्पादनमुखीतर्फ लैजाने अध्यक्ष शर्माको भनाई रहेको छ । उनले यसकालागि सदस्यता विस्तार र अन्य सहकारीहरुसंग एकीकरण र सहकार्यमा काम गर्ने बताए ।
सहकारीको तरल र स्थीर रहेको कोषलाई एकीकृत गरेर सहकारीको व्यवसायिकरण र उद्यम विकास लगानीका लागि विशेष प्रयास गर्ने अध्यक्ष शर्माले बताए । आर्थिक गतिशीलताबाट मात्र व्यक्तिको समृद्धि संभव भएको हुँदा उनले सहकारीमा आबद्ध नभएका नागरिकहरुलाई पनि सहकारीमा आबद्ध हुन आग्रह गरेका छन्।
सहकारीले घरको आर्थिक विकासमा पनि ठूलो सहयोग पुर्याउछ भन्दै अध्यक्ष शर्माले भने सामाजिक सम्बन्ध, परिवारको जीवनशैलीमा रूपान्तरण, सामाजिक कल्याण र विकासमा पनि सहकारीले सहयोग पुर्याउदै आएको छ । सहकारीले सेवा प्रदान गर्नुका साथै उद्दमशीलता र व्यवसायिकताको वातावरणको निर्माण पनि गर्दछ ।
ग्रामीण समाज सहरोन्मुख गराउनको लागि आर्थिक विकास गर्ने सबैभन्दा ठूलो संस्था सहकारी भएको बताए । सहकारीले संस्थागत र संरचनागत रुपमा समाज परिवर्तन गर्न सहयोग गर्ने हुनाले यसलाई मजबुत बनाएमा समृद्धि आउने अध्यक्ष शर्माको भनाई छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend