logo
  • शनिबार, साउन ३० २०८३

नयाँगाउँमा सुन्तला पहेँलपुर, सुन्तलाबाटै हमालको कमाल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी पुष १५ ।
बारीमा सुन्तला लटरम्मै । गोठमा बाख्रा टम्मै । टीका बहादुर हमाल कहिल्यै फुर्सर्दिला भेटिदैनन् । उमेरले ५३ पुगे । मेहनत युवाको भन्दा कम छैन् । धुर्कोट गाउँपालिका १ नयाँगाउँका हमालकोमा साढे दुई सय सुन्तलाका बोट छन् । अहिले पाकेर बारी पहेँलपुर भएको छ ।

गत बर्ष ७ लाखको सुन्तला बेचे । अहिले अझै बेच्न थालेका छैनन् । त्यो संगै हमालले सुन्तला र कागतीको नर्सरी समेत गर्दै आएका छन् । दुई टर्नेलमा करिव ५० हजार सुन्तला र पाँच हजार कागतीका विरुवा रोपेका छन् । उनले गत बर्ष सुन्तलाका विरुवा पनि सात लाखकै बिक्री गरेको बताए । अहिले पनि सुन्तला र कागतीका विरुवा तयार हुँदैछन् ।

बर्षाद सुरु भएपछि असारमा प्रति वोट २२ रुपैयाँका दरले जिल्लाका विभिन्न स्थान तथा पर्वत, बाग्लुङ्ग र अर्घाखाँचीमा बिरुवा बिक्री गर्ने गरिएको हमालले बताए । उनले बर्षमा सुन्तला र बिरुवाबाट १० देखि १२ लाखको कारोवार गर्ने गरेको बताए ।

तीन पुस्ते सुन्तला

हमालको बारीमा करिव सय बर्ष अगाडीका सुल्तलाका बोट पनि अझै फल्दै छन् । ती सवै बाबुले रोपेका हुन् । आफुले रोपेका पनि अधिकांश फलेका छन् । भने अहिले पनि करिब ५० बिरुवा थपेका छन् । नर्सरीमा विरुवा समेत उत्पादन भइरहेका छन् । ‘राम्रो स्याहार पाए सुन्तलाले तीनदेखि चार पुस्ता राम्रो आम्दानी दिने रहेछ,’उनले भने,‘मेरो बगैचामा अधिकांश तीन पुस्ते सुन्तलाका बोट छन् ।

त्यस्तै सुन्तलाको कारोबार पनि तीन पुस्तासम्म चल्दै आएको छ । उनलाई बुवा तुल बहादुर हमालले पनि नुन ल्याउन पथ्थरकोट र बटौली जाँदा सुन्तला लगेर बिक्री गर्ने गरेको सम्झना छ । त्यसपछि गाउँमा कोदो मकैमा सुन्तला साट्नेदेखि पैसा लिएरै घरमा खरिद गर्न आउने स्थिती समेत हमालले भोगे ।

बाख्रा र मौरीबाट पनि राम्रो आम्दानी

गोठमा २५ बाख्रा छन् । थुप्रै बर्षदेखि व्यावसायीक बाख्रा पालन गर्दै आएका छन् । भर्खरै ९० हजारका छ वटा खसीबोका बेचेको श्रीमति पार्वता हमालले बताइन् । त्यस्तै हमाल परिवारले व्यावसायीक मौरीपालन पनि थालेको छ । अहिले घरमा १२ वटा मौरीका आधुनिक घार छन् ।

वर्षमा बाख्रा र मौरीबाट तीन लाख बढि आम्दानी गर्ने गरेको पार्वताले बताइन् । ठूलो छोरा शिव हमाल परदेश छन् । दुई छोरी तारा र सुमित्राको बिहे भयो । एक छोरा अनिल र छोरी रचना बुटवलमा पढाउँदै आएका छन् ।

गाउँकै प्रमुख आम्दानी सुन्तला

नयाँगाउँका स्थानीयको प्रमुख आम्दानी सुन्तला हो । प्राय घरमा सुन्तला छन् । सोहि गाउँकी माया जिसीको बारी पनि सुन्तला पाकेर पहेँलपुर छ । छोराछोरी शहर । घरमा आफु मात्रै छन् । बारीमा अरु अन्नबाली हुँदैन् । बर्षमा सुन्तलाबाट हुने आम्दानीले जिसीको जिविकोपार्जन राम्रै भएको छ ।

नयाँगाउँकै बिष्णु बहादुर हमालले गाउँ छोडेकै १५÷२० बर्ष भए । बारीभरी डेढ सय सुन्तलाका रुख छन् । बुटवल बस्दै आएका हमाल प्रत्येक बर्ष सुन्तला स्याहार्न मात्रै गाउँ आउँछन् । करिव दुई लाखको सुन्तला उत्पादन हुने गरेको छ । त्यस्तै सोहि गाउँकै हिम बहादुर मल्लले पनि बर्षमा साढे दुई लाखका सुन्तला बिक्री गर्दै आएका छन् ।

परदेशभन्दा गाउँकै सुन्तला प्यारो

नयाँगाउँका दल बहादुर खनाल पनि व्यावसायीक सुन्तला कृषक हुन् । पहिले दुई पटक मलेसिया पुगे । कमाई पनि राम्रो हो । तर फेरि फर्किनन् । गाउँमै सुन्तलाबाट थप भविष्य देखे । अहिले डेढ सय सुन्तलाका बोटहरु खनालको बारीमा छन् । अझै रोप्दैछन् । बर्षमा डेढदेखि दुई लाखका सुन्तला बुटवल पठाउँछन् ।

दुई वटा टर्नेलमा सुन्तला र कागतीको नर्सरी गरेका छन् । ३५ हजार सुन्तला र १५ हजार कागतीका बिरुवा बेच्ने भएका छन् । बर्षमा आठदेखि नौ लाख आम्दानी घरमै बसेर गर्न थालेपछि परदेश मोह हराएको खनालले बताए ।

कोल्ड स्टोर नहुँदा मुल्य नपाएको गुनासो

नयाँगाउँको सुन्तला मंसिर र पुस महिनामै सकिन्छ । गाउँमा टिपेर राख्ने कुनै उपाय छैन् । अहिलेको सुन्तालालाई कोल्ड स्टोर गर्न सके पछि राम्रो मुल्य पर्नेमा धेरै जना आशावादी छन् ।

नयाँगाउँका सवैभन्दा ठुला सुन्तला व्यावसायी टीका हमालले कोल्ड स्टोर भाषणमा मात्रै सुनेको गुनासो गरे । उनले आफैले अहिले सस्तोमा सुन्तला बेचेर बेमौषममा भारतको सुन्तला महङ्गोमा किनेर खाने स्थिती रहेको बताए । नयाँगाउँको सुन्तला अहिले ५० देखि ७० रुपैयाँसम्ममा बिक्री गर्नु पर्ने बाध्यतामा कृषक छन् ।

नयाँगाउँको सुन्तलाको बजार अर्घाखाँची, वुटवल र कपिलवस्तु कृष्णनगर हो । केहि समय स्टक गरेर चैत बैशाखमा सुन्तला बजार पठाउन पाए डेढ सयसम्म मुल्य पर्ने अर्का व्यासायीक सुन्तला कृषक दल बहादुर खनालले बताए ।

गाउँमै तीन करोडको सुन्तला उत्पादन

धुर्कोट गाउँपालिका सवैभन्दा बढि सुन्तला उत्पादन हुने स्थानीय तह हो । धुर्कोट गाउँपालिकाको नयाँगाउँ, पिपलधारा, भनभने लगायतका स्थानमा सुन्तलाको राम्रो उत्पादन रहेको छ । गत बर्ष मात्रै दुई करोड ८६ लाखको सुन्तला उत्पादन भएको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले जानकारी दिए ।

अहिले पनि राम्रो सुन्तला फलेको छ । नयाँगाउँमा यो बर्ष कोल्ड स्टोर निर्माणको लागि संघिय सरकारबाट ५० लाख बिनियोजन भएको पोख्रेलले बताए । गुल्मीमा एक हजार ९२ हेक्टर क्षेत्रफलमा सुन्तला रोपिएको छ ।

जसमा छ सय ७० हेक्टरका सुन्तलाले उत्पादन दिने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सन बहादुर रानाले बताए । गत बर्ष गुल्मीमा आठ हजार दुई सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएका थिए ।

यो बर्ष आठ हजार तीन सय ७५ मेटिन टन सुन्तला उत्पादन हुने अपेक्षा गरिएको रानाले बताए । उनले अहिले बजारमा ७० देखि ८० रुपैयाँमा बिक्री भएको छ । बोटबाट ४५ रुपैयाँका बिक्री गरेपनि करिव ३८ करोडका सुन्तला बिक्री हुने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend