logo
  • शनिबार, कार्तिक २२ २०८३

काजकिरियामा कलिला अनुहार


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल, गुल्मी मंसिर २८।
बाग्लुङको बडिगाडमा १७ मंसिरमा भएको जिप दुर्घटनामा गुल्मी पैयाँपाटाका १० कार्की परिवारका १२ जनाको ज्यान गयो, बालबालिकाले गर्दै छन् बा–आमाको काजकिरिया आमा र बहिनी गुमाएको भयानक पीडा ।
तर, काजकिरिया उम्काउनुपर्ने जिम्मेवारी त्यही कलिलो काँधमा । इस्मा गाउँपालिका–४ पैयाँपाटास्थित घरमा १६ वर्षीया ईशा कार्की बिहीबारदेखि आमाको किरियामा छिन् । १७ मंसिरमा बाग्लुङको बडिगाडमा भएको जिप दुर्घटनामा उनले ४२ वर्षीया आमा सीता र दुई वर्षकी बहिनी अनुष्कालाई गुमाएकी थिइन् ।

बुबा प्रेम मजदुरीका लागि भारतमा थिए । दुर्घटनाको खबर सोही दिन थाहा पाए । श्रीमती र छोरी गुमाएका कार्की विक्षिप्त अवस्थामै बुधबार साँझ घर आएका छन् । अब उनी काजकिरिया सकेर मजदुरीमा फर्किने कि बस्ने अन्योलमा छन् । ‘घर धानेकी श्रीमतीको निधन भयो, घरमा साना छोरीहरू मात्रै छाडेर फर्किन सक्ने अवस्था छैन, मजदुरी नगरे यिनलाई कसरी पाल्ने ?’ उनले भने ।

बाग्लुङ दुर्घटनामा पैयाँपाटाकै महेन्द्र कार्कीको पनि ज्यान गएको थियो । छोराहरू १७ वर्षीय मेघराज र १३ वर्षीय प्रेमले पनि बिहीबारबाट बुबाको किरिया थालेका छन् । महेन्द्र कूलपूजामा सहभागी हुन २० वर्षपछि भारतबाट गाउँ आएका थिए । भारतमा उनी नशारोग बिशेषज्ञ डाक्टरका सहयोगीका रुपमा कार्यरत थिए । कमाइ राम्रो भएकाले दुई छोरालाई राम्रैसँग पढाएका थिए । सानो र खुसी परिवार थियो । ‘नियतीले खुसी सहेन त्यसैले बज्रपात पर्‍यो’ महेन्द्रका बुवा झविले भने, ‘खाउँ–खाउँ, लाउँ–लाउँ भन्ने उमेरमा परिवार बिचल्लीमा परे ।’ दुर्घटनाकै दिन खबर पाएकी प्रेमकी श्रीमति जमुना छोराहरू लिएर बुधबार भारतबाट गाउँ आएकी हुन् ।

पैयाँपाटाकै १३ वर्षीया सुनिल बस्नेत पनि आमा मिनाको काजकिरियामा छन् । बुबा चन्द्रदीप परदेशमा छन् । घरमा साथमा नौ वर्षीया बहिनी रबिना पनि छिन् । तर, आमा गुमाएको पीडामा बहिनीलाई सम्हाल्दै काजकिरिया गर्नुपर्ने जिम्मेवारी १३ वर्षीय बालकको काँधमा छ । ‘सानो मान्छे आमाको शोकले आफै पीडामा छ, त्यसैमाथी काज किरिया र चिसोले थला पर्ने भो,’ हजुरबुवा लालबहादुरले भने,‘ जस्तो पनि भोग्नु पर्ने रहेछ ।‘

दुर्घटनामा ज्यान गुमाएकी भुमि कार्कीको पनि १६ वर्षीया छोरा विष्णुले काजकिरिया गरिरहेका छन् । यही बेला बाबु तिलबहादुर पनि बिरामी छन् । धनबहादुर कार्की र उनकी बुहारी सूचनाको पनि दुर्घटनामा ज्यान गयो । नाति हिमाल अस्पतालको शैय्यामा छन् । श्रीमती उमा, छोरा वसन्त, टीका र बिष्णुले किरिया गरिरहेका छन् ।

सहयोग गर्ने मान्छे छैनन्

१७ मंसिरमा बाग्लुङ दुर्घटनामा पर्नेहरू पैयाँपाटाका कार्की धेरै थिए । उनीहरू कुलपुजा मान्न बाग्लुङ जाँदै गर्दा जिप दुर्घटनामा परेको थियो । पैयाँपाटामा कार्की थरका १२ घर छन् । अहिले अधिकांश घर शोकमा डुबेका छन् । केहि घरमा त दुई/तीन जनाकै ज्यान गएको छ । सबैजसो घर शोकमा हुँदा सहयोग गर्ने मान्छेकै अभाव छ । ‘एक परिवारमा मात्र दुःख छैन, सिंगो गाउँनै शोकमा छ’, बद्री कार्कीले भने, ‘सहयोग गर्ने मान्छेको अभाव छ ।’ किरिया बसेका प्रत्येक घरमा स्याहार, खानपान, किरिया–कर्म र पशुचौपायको रेखदेख गर्न जनशक्ति अभाव भएको उनले बताए ।

चिसो छेक्न कम्बल वितरण

पैयाँपाटाको कार्की गाउँमा कम्बल वितरण गरिएको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र इस्मा गाउँपालिकाको समन्वयमा काज किरियामा बसेका परिवारलाई चिसो छेक्न कम्बल वितरण गरिएको हो । जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुली र इस्माका अध्यक्ष लक्ष्मण बिष्टले गाउँमै पुगेर शोकमा परेका परिवारसँग भेटघाटगरी कम्बल वितरण गरेका थिए । जिल्ला विपत् व्यावस्थापन समिति, रेडक्रस र उद्योग बाणिज्य संघले उपलब्ध गराएका ३० थान कम्बल वितरण गरिएको इस्माका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend