logo
  • शुक्रबार, असोज ९ २०८३

धर्मको नाममा कमाउने अधिकार कसैलाई छैन : मन्त्री ज्ञवाली

रुरु क्षेत्रलाई विश्व चिनाउन धार्मिक महोत्सव


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी भदौ २८।
नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले धर्मको नाम बेचेर पैसा कमाउने अधिकार कसैलाई नभएको बताएका छन् । पछिल्लो समय धर्मको नाममा विकृति फैलिएको भन्दै उनले त्यस्तो कार्य समाजका लागि अस्विकार्य हुने बताए ।

शनिबार गुल्मीको रुरु गाउँपालिका १ रिडीमा ‘ऐतिहासिक रुरु धार्मिक तथा साँस्कृतिक तुलादान महामहोत्सव एवम् संगितमय लिलामय श्रीमद्भागवत पितृमोक्ष विराट ज्ञान महायज्ञ’ को उद्घाटन गर्दै यस्तो बताएका हुन् । ‘हामि नेपाली आतिथ्यताले चिनिने हो, तर आजभोलि अलि स्वास्र्थी हुन थालेका छौ ।’ उनले भने, ‘पैसाको निम्ति हामिले हाम्रो कर्तव्य विर्सदैछौ ।’

राम्रो कामको लागि साइत कुर्नु पर्दैन

मन्त्री ज्ञवालीले राम्रो कामको लागि कुनै साइत कुर्नु नपर्ने बताए । रिडीमा संचालन हुन लागेको महायज्ञका सम्बन्धमा धर्मसम्बन्धी विभिन्न टिकाटिप्पणी भएपछि मन्त्री ज्ञवालीले राम्रो काम जहिले गरे पनि भगवानले आशिर्वाद दिने बताए । कलाकार, चित्रकार तथा कवि जो पनि आएर रिडीको प्रचार–प्रसारमा लागेमा जहिले पनि स्वागत गर्ने उनले बताए ।

प्रकृतिले विश्वमै ८ हजारभन्दा बढी उचाई भएका ८ वटा हिमाल नेपाललाई वरदान दिएको, नेपालमै जन्मिएका बुद्धले विश्वभर शान्ति फैलाएको जस्ता विषयले विश्वमा नेपालको शान उचोँ भएको र हामिले त्यसलाई जोगाउनुपर्ने धारणा राखे ।

रुरु क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा राख्ने प्रयास

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले रुरु क्षेत्र धामलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न प्रयास भइरहेको बताए । ०६३ सालबाटै नै उक्त प्रक्रिया सुरु भएको र अझै केहि समय लाग्ने बताए । जसको लागि मदन भण्डारी राजमार्ग र कालिगण्डकी करिडोर पनि रिडी हुँदै अगाडी बढाइएको बताए ।

त्यसका साथै रिडीमा जलासय बनाउने आफुहरुको सोच रहेको र त्यसको केहि कार्य यो बर्ष नै सुरु हुने बताए । त्यस्तै रुरु रेसुगां पर्यटन विकास समितिमार्फत विभिन्न कार्यहरु भइरहेकोले पनि रुरु क्षेत्र धामलाई पर्यटकिय स्थलको रुपमा विकास गरिने उनले प्रतिवद्धता जनाए ।

रुरुलाई विश्व चिनाउन धर्मिक महायज्ञ

गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल ऐतिहासिक रुरु क्षेत्र धामको विकास, राष्ट्रिय एव्ं अन्तराष्ट्रिय स्तरमा र प्रसार–प्रसार गर्नको लागि धार्मिक महोत्सव सुरु भएको हो । जिल्लाको रुरु गाउँपालिका १ रिडीमा रुरु क्षेत्र धामको लागि शनिबार देखि सुरु भएको महायज्ञ आश्विन १७ गतेसम्म २१ दिनसम्म संचालन हुनेछ ।

गुल्मीका साथसाथै पाल्पा, अर्घाखाँची, स्याङ्जा, पर्वत, वाग्लुङ, नवलपरसी, कपिलवस्तु लगायतका जिल्लाहरुलाई लिक्षित गर्दै महायज्ञ हुन लागेको हो । यस्तो किसिमको महायज्ञ नेपालमै पहिलो पटक आयोजना गरिएको आयोजकको दाबी छ ।

नेपालका चार धाममध्ये अन्य तीन धामको तिब्र गतिमा विकास भएपनि अत्याधिक सम्भावना बोकेको रुरु क्षेत्र धाम ओझेलमा परेको भन्दै यसको विकासको लागि धार्मिक महायज्ञ गर्न लागिएको हो । ‘रुरु क्षेत्र धाममा धेरै सम्भावना छ, तर हामि त्यसलाई समयमै चिन्न सकेनौ ।

रुरु गाउँपालिका १ रिडीका वडाध्यक्ष रामलाल वि.क. ले भने, ‘रुरु क्षेत्रलाई विश्व चिनाउने लक्ष्य छ ।’ उनले कालिगण्गकी नदि लगायतका नदिले रिडीमा सुन्दरता थपेपनि त्यसलाई उपयोग गर्न नसकेको बताए । ‘प्रकृतिले दिएका स्रोत र साधनको उपयोग गर्न सकेनौ, जसका कारण रिडी क्षेत्र पछाडी पर्दै आएको छ ।

उनले भने, ‘महायज्ञपछि हजारौको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक रिडी क्षेत्रमा आउनेछन् ।’ धार्मिक महायज्ञमा करिब डेढ करोड खर्च हुने र पाचँ करोड आम्दानी हुने लक्ष्य राखिएको छ । उठेको रकमबाट नेपालकै सबैभन्दा ठुलो शंख, मृगले स्तनपान गराउदैँ गरेको तस्विर लगायतका महत्वपूर्ण आकर्षणहरु निर्माण गरिने बालयोगेश्वर फाउन्डेसनले जनाएको छ ।

२१ करोड दीप प्रज्वलन, हेलिकप्टरबाट पुष्प वृष्टि

२१ दिनसम्म संचालन हुने महायज्ञमा दैनिक १ करोडका दरले २१ करोड दीप प्रज्वलन गर्ने लक्ष्य लिइएको छ । जसको लागि काठमाडौ, भक्तपुर लगायतका स्थानबाट अढाई करोड दीप संकलन गरिएको छ ।

त्यस्तै एक करोड पार्थिव शिवलिङ्ग निर्माण गरी पूजन गर्ने, भारतको काँशी र पशुपतिनाथमा जस्तै प्रत्येक दिन कालिगण्डगी नदिको विशेष सन्ध्या गर्ने कार्यक्रम आयोजकको रहेको छ । ५१ हजार व्यक्तिद्धारा तुलादान गर्ने, १०८ तिर्थस्थलको जलसहित हेलिकप्टरबाट पुष्प वृष्टि गर्ने, ५ हजार १०० शान्ति कलश पुजन गर्ने, प्रत्येक घरको माटो यज्ञस्थलमा ल्याई भूमि पूजन गर्ने पनि कार्यक्रम रहेको वडाध्यक्ष वि.क.ले जानकारी दिए ।

महायज्ञ अवधिभर ११ हजार भन्दा बढी स–साना कन्याहरुको पूजन गरिने, २५ हजार भन्दा बढी ७० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुको सम्मान गरिने, शारीरिक असक्तता भएका व्यक्तिहरुको सम्मान गरिने लगायतका पनि कार्यक्रम रहेका छन् ।

२१ सयमा विवाहसहित सबै धर्मकर्म

महायज्ञमा सोह् श्राद्धाको अवसरमा पृतिहरुको विधिवत श्राद्ध गर्ने कार्यक्रम छ । त्यस्तै रुद्री, ब्रतन लगायतका धार्मिक कार्यपनि महायज्ञमै गरिने आयोजकले जनाएको छ । जसको लागि सम्बन्धित पक्षले २ हजार १०० सय दिनुपर्ने छ । अझ रोचक कुरा त रिडी धार्मिक महायज्ञमा दुई हजार १०० मै विवाह समेत हुने भएको छ ।

त्यस्तो अवस्थामा विवाह गर्ने जोडिको नामबाट प्रसाद बाँडिने, आएका भक्तजनलाई जन्ति मानिने, टिका, माला तथा पञ्जेबाजा आयोजकले नै व्यवस्था गर्ने जनाइएको छ । जसको लागि नेपालको कानुनअनुसार उमेर पुगेको, केटाकेटी र तिनका अभिभावक दुवै सहमत भएको हुनुपर्नेछ ।

रुरु क्षेत्रको महत्व के ?

गुल्मी, पाल्पा र स्याङ्जा तीन जिल्लाको मुख्य संगम स्थल रुरु क्षेत्र कालीगण्डकीको नामले परिचित छ । नेपालको चार धाम मध्येको एक र नेपालको बनारस भनेर चिनिने रुरु क्षेत्र पर्यटकीय गन्तब्य पनि हो । रुरु क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वको एउटा धरोहर र खम्बा हो र गुल्मीको मुख्य प्रवेशद्वार पनि ।

रिडीदेखि डेढ किलोमिटर उत्तरमा भृगुतुंग नामक गुफा रहेको छ । यंहा भगवान शिबले आफ्नी पत्नी पार्बतीको शव बोकेर संसारको भ्रमण गर्दै गर्दा सतीदेविको उपल्लो दांत पतन भएको मान्यता रहेको छ । जुन श्री स्वस्थानी महात्यम्यमा पनि केहि ब्याख्या गरिएको छ ।

त्यस्तै ‘गलफूल’ गुफा पनि गुल्मीको थोर्गा तर्फको भागमा रहेको छ । धार्मिक धरोहर रुरु क्षेत्रमा साना ठूला गरेर १ सय बढि मन्दिर तथा साना ठूला केहि गुफा पनि छन् । रिडीमा मुख्य गरि माघे सक्रंन्तिमा तीन दिन र ऋशिकेश उत्सब २ दिन ठुलो मेला लाग्ने गर्दछ ।

साथै बर्ष भरीको औंशी, पुर्णिमा, ग्रहण तथा बैशाख महिनाको प्रत्येक शनिबार मेला लाग्ने गर्दछ । प्राकृतिक बनावटमा उपत्यका जस्तो देखिने रिडी सामुन्द्रिक सतह देखी १ हजार ८ सय फीटको उचाइमा रहेको छ । भगवान बिष्णुको प्रतिक मानिने शालीग्रााम पनि रिडीमा पाइन्छ । त्यसैले यो क्षेत्र दुर्लब शालिग्रााम पाइने स्थानका रुपमा पनि चिनिएको छ ।

रिडीमा राडि पाखी, डोका डाला, नाम्ला, कम्बल, घिउ, चाकु, तरुल, खुदो, उखु, कफी, अदुवा, लिचि लगायतका स्थानिय उत्पादन पनि प्रख्यात मानिन्छ । पश्चिम नेपालको तानसेन बजारदेखि उत्तर–पश्चिममा गुल्मी र पाल्पाको सिमानाबाट बग्ने पवित्र कालीगण्डकीमा सुन खोज्नेहरुको पनि तांती नै लाग्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend