साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी भदौं २२ ।
रेसुङ्गा जिल्लाको पुरानो नगरपालिका । विकासका दृष्टिले अब्बल बन्नुपर्ने । कार्यपालिकामा प्रमुख र उपप्रमुख सहित छ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का र कांग्रेसका १६ जना छन् ।
मतको हिसावले कांग्रेस निकट जनप्रतिनिधीको सहमति विना महत्वपूर्ण निर्णय र प्रस्तावहरु पारित हुने संभावनानै छैन् । त्यहि बहुमतको चंगुलमा नगरपालिका फसेको नेकपा जनप्रतिनिधीहरुको आरोप छ । भने बहुमत हुँदाहुँदै प्रतिकुल निर्णयको पक्षमा कांग्रेस निकट जनप्रतिनिधीहरु छैनन् ।
पहिलो नगरसभानै बहिष्कार
नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीले पहिलो नगरसभा नै बहिष्कार गरे । नगरपालिकाले रेसुङ्गा बहुमुखी क्याम्पसलाई १५ लाख बिनियोजन गरेको थियो । तर त्यो रकम कम भएको भन्दै नेविसंघले प्रर्दशन तथा जनप्रतिनिधीले सभा बहिष्कार गरेको नगरपालिकाका प्रवक्ता पदम अर्यालले बताए । त्यस्तै नगरको दोस्रो सभामा पाल्पाबाट प्रदेश ५ मा निर्वाचित सांसद पुरन बज्राचार्यलाई प्रवेश गराएको बिषयलाई लिएर बहिष्कार गरेको अर्यालले बताए । सोहि सभामा प्रतिपक्षको लेखा सिमिति बन्नुपर्नेमा बिषयमा एक हप्ता सभा स्थगन गरे ।
कार्यपालिका बैठक बहिष्कार
रेसुङ्गा नगरपालिका १३ का वडाध्यक्ष खुम बहादुर खत्रीका अनुसार तीन पटक कार्यपालिका वैठक बहिस्कार गरिएको छ । उनले मेयर डिल्लीराज भुसालले वडा नं १२ मा सिफारिसमा विभेद गरेको बिषयमा बोल्दा र बजेट रकमान्तरमा आफु अनुकुल निर्णय गरेको बिषयलाई लिएर दुई पटक वैठक बहिस्कार गरिएको बताए । मेयर भुसालले बहुमतको दम्भका कारण पाइला–पाइलामा बिरोध भएकाले काम गर्न गाह्रो परेको बताउँदै आएका छन् । ‘नागरिकले सिफारिस नपाएको गुनासो आएपछि मैले सिफारिसमा विभेद नगर्न वडाध्यक्ष आग्रह गरे,’उनले गुनासो गरे,‘त्यहि बिषयलाई लिएर समेत बैठक बहिष्कार भयो ।’ त्यो मात्रै नभएर शुभकामना आदान प्रदान कार्यक्रम समेत बहिष्कार भएका छन् । भने वडा न. १२ र १४ मा वडाध्यक्षको अनुमतिबिना खानेपानीको सर्भे गर्न पठाएको भनेर सर्भे टोलीलाई समेत वडाध्यक्षले फर्काएका तिता अनुभव नगरमा रहेको भुसालले बताए ।
निर्णयमा बहुमत र नोट अफ डिसेन्ट छैन
नेपाली कांग्रेसबाट निर्वाचित चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोर्ण खत्री हुन् । कार्यपालिकामा उनी सहित तीन जना मात्रै छन् । बहुमत अर्थात १३ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित हुन् । तीन र १३ बिच मतान्तर नहुने कुरै भएन । तर अहिलेसम्म कुनै निर्णयमा बहुमत वा नोट अफ डिसेन्ट नभएको खत्रीले बताए । उपाध्यक्ष राधा अर्यालले आफुहरु बहुमतमा भए पनि दम्भ कहिल्यै नदेखाएको बताइन् । उनले बैठकमा अन्तरसंवाद लम्बाएर भएपनि अहिलेसम्म सर्वसम्मत निर्णय भएको बताइन् ।
कालीगण्डकी गाउँकार्यपालिकामा गाउँपालिका अध्यक्ष बेद बहादुर थापा मगरसहित आठ जना नेपाली कांग्रेसका छन् । उपाध्यक्ष तारा थापा राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट छ जना छन् । कालीगण्डकी गाउँपालिकाका कहिलेकाँही कार्यपालिका बैठक लम्बिने बाहेक सभा, बैठक वा कार्यक्रम बहिष्कार नभएको गाउँपालिका अध्यक्ष बेद बहादुर थापा मगरले बताए ।
बहुमत र अल्पमतले काममा समस्या छैन
सत्यवति गाउँपालिकामा पनि गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल हुन् । कार्यपालिकामा नेपाली कांग्रेसको तर्फबाट ढकाल सहित तीन जना मात्रै छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यपालिकामा बुहमत छ । तर सत्यवतिमा अहिलेसम्म सभा, बैठक वा कार्यक्रम बहिष्कार भएका छैनन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले अहिलेसम्म निर्णयमा बहुमत र अल्पमतका कारण काम गर्न समस्या नभएको र कार्यान्वयनमा दवाव नआएको बताए ।
वडा नं १ का वडाध्यक्ष भिमलाल पाण्डेले कहिलेकाहीँ ध्यानाकर्षण गराएपनि बहिष्कार नभएको बताए । ‘बहुमत हेरेर रेसुङ्गा नगर कांग्रेसको जस्तै दम्भ देखाउँदैनौ बरु संबाद गरेका छौ,’पाण्डेले भने,‘समझदारीमा जनताको काम गर्ने हो ।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend