साझा नेटवर्क,काठमाडौं भदौ २२ ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा युवा नेता दामोदर भुषाल राष्ट्रिय शिक्षा दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सम्मानित भएका छन् ।

आइतबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले युवा नेता भुषाललाई विद्याभुषण क बाट सम्मानित गरेकी हुन् । हरेक बर्ष स्वदेश तथा बिदेशवाट विभिन्न विधामा विभिन्न समयमा विद्यावारिधी गरेका व्यक्तिहरुलाई उक्त उपाधिले सम्मान गर्ने प्रचलन रहेको छ ।
उनले चीनको पेकिङ्ग विश्वविद्यालयबाट विद्यावारिधी गरेका हुन् । उनले नेपालमा उद्यमशीलता विकासमा विप्रेषणको भूमिका विषयमा सोध गरेका हुन् । नेता भुषालले यसअघि नै त्रिभुवन विश्वविद्यालयवाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरिसकेका थिए ।

राजनीतिलाई पवित्र कार्य ठान्ने नेता भुषाल परिवारमा राजनीतिमा तेस्रो पुस्ताका प्रतिनिधि पात्र हुन् । उनका बुबा सुरेशचन्द्र भुषाल पनि नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति भएका थिए भने बाजे पनि काँग्रेसका सक्रिय कार्यकर्ता हुन् ।
विद्यार्थी जीवनमा भुषाल सधै चर्चामा रहिरहे । उनी क्याम्पसमा अध्ययन गर्दा काठमाडौ शिक्षा क्याम्पसको स्ववियु सभापति बनेका थिए । नेविसंघको विदेश विभाग प्रमुख रहदाँ नेता भुषालले शिक्षालाई शान्ति क्षेत्र कायम गराउने र विद्यार्थीको अधिकार स्थापित गराउने आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
उनी आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासतमा परेका छन् । मुलधारको राजनीतिमा नेपाली कांग्रेस गुल्मीको क्षेत्रीय सभापतिको जिम्मेवारी निर्वाह गर्दा नेता भुषालले गरेका कामहरु अहिले पनि स्मरणीय छन् ।