साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी भदौ १८ ।
रेसुङ्गा नरपालिकामा तालाबन्दी गरिएको छ । नगरपालिकाका सात जना वडाध्यक्ष तथा तीनजना कार्यपालिका सदस्यले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।
नगरप्रमुख डिल्लिराज भुसाल र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको कार्यकक्षमा वडाध्यक्ष र कार्यपालिका सदस्यले तालाबन्दी गरेका हुन् । महेन्द्र नमुना माध्यमिक विद्यालयमा हुने कक्षा १२ को स्तरोन्नतीसम्बन्धि परिक्षामा केन्द्राध्यक्षको विषयमा नगरपालिकामा तालाबन्दी गरिएको हो ।
त्यसका साथै नगरपालिकाका निर्णय गुपचाप राखिएको, एकलौटि ढङ्गबाट नगरपालिकाका काम आगाडी बढाइएको लगायतका विषयमा नगरपालिकामा तालाबन्दी गरिएको वडा नम्बर १ का अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले जानकारी दिए ।रेसुङ्गा नगरपालिकास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समितिको गत साउन ९ गते बसेको प्रध्यानाध्यापक नियुक्तिसम्बन्धी निर्णय नगरपालिकाले खारेज गरेको थियो । ९ गते बसेको बैठकले प्रध्यानाध्यापकमा शिक्षक युवराज ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयविरुद्ध विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यले नै उजुरी दिएपछि नगरपालिकाले उक्त निर्णय खारेज गरेको थियो ।
निर्णय खारेज गरेसँगै प्रध्यानाध्यापकमा केशर बहादुर थापालाई पुर्नबाहली गरिएको थियो । ज्ञवालीलाई विधान र कानुन विपरित विद्यालय व्यवस्थापन समितिको अध्यक्षले आफु निकटको व्यक्तिलाई प्रध्यानाध्यापकमा नियुक्त गरिएको भन्दै शिक्षक अभिभावक संघका सदस्य कुलदिप थापा र विद्यालय व्यवस्थापन समिति सदस्य विजय लक्ष्मी बस्नेतले रेसुङ्गा नगरपालिकाको कार्यालयमा उजुरी दिएका थिए । नमुना माध्यमिक विद्यालय संचालन निर्देशिका २०७४ को सशोंधन २०७५ मा करारमा शिक्षक नियुक्त गर्न पाउने सम्बन्धी व्यवस्था छ ।
त्यसको लागि विद्यालय व्यवस्थापन समिति निर्देशन परिच्छेद ८ अनुसार प्रध्यानाध्यापक नियुक्त गर्दा तीन जनाको छनोट समिति बनाउनुपर्ने व्यवस्था छ । छनोट समितिले विद्यालय प्रस्ताव आह्वान गर्छ । त्यसमा उम्मेद्धार बन्ने व्यक्ति ५ बर्ष स्थायी सेवा गरेको, विकास प्रस्ताव र व्यक्तिगत विवरण गरी न्युनतम ७० अकं आएको हुनुपर्छ । तर सो नियमबिपरित प्रध्यानाध्यापकमा ज्ञवालीलाई नियुक्त गरेको भन्दै नगरपालिकाले निर्णय बदर गरेको थियो । तर विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयमाथि नगरपालिकाले हस्तक्षेप गर्ने अधिकार नभएको भन्दै बुधबार नगरपालिकामा नै तालाबन्दी गरिएको हो ।
‘व्यवस्थापन समितिले निर्णय गरेका ज्ञवाली नै केन्द्राध्यक्ष गराउन आवश्यक पर्ने सिफारिस लेखिदिन भन्नुभएको थियो ।’ रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले भने, ‘त्यो मेरो अधिकारको विषय थिएन, उहाँहरुले ताला लगाउनुभयो ।’ उनले बिहिबार बिहानसम्म पनि ताला नखोले आफुहरुले नै ताला खोल्ने प्रतिक्रिया दिए । यससम्बन्धमा वडा नम्बर २ का अध्यक्ष उदय बहादुर थापाले नगरपालिकाले विधि र प्रक्रियाभन्दा बाहिर रहेर महेन्द्र नमुना माविमा प्रअ नियुक्ति गरेकोले ताला लगाएको प्रतिक्रिया दिए । त्यसका साथै उनले मेयर र प्रमुख प्रशासयिक अधिकृतलाई पटक पटक भन्दापनि नसुनेपछि बाध्य भएर ताला लगाएको प्रतिक्रिया दिए । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले जनप्रतिनिधिहरले अनैतिक काम गरेको आरोप लगाए ।
‘जनताको सेवाका लागि खटिएका जनप्रतिनिधिले जनताले सेवा पाउने ठाउँमा नै ताला लगाउनु अशोभनिय विषय हो ।’ उनले भने, ‘ताला लगाउने जनप्रतिनिधिहरु सच्चिन जरुरी छ ।’वडा नम्बर १ का वडाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, वडा नम्बर २ का अध्यक्ष उदय बहादुर थापा, ५ का अध्यक्ष हरी प्रसाद शर्मा खनाल, ८ का अध्यक्ष भरत भलामी, १२ का अध्यक्ष कुल बहादुर टण्डन, १३ का अध्यक्ष खुम खत्री, १४ का अध्यक्ष शेर बहादुर पहराई, कार्यपालिका सदस्यहरु लक्ष्मी भनेर चिनिने उमकला पाण्डे, खिमा बस्नेत, देवी कुँवर, शान्ता वि.क. लगायतका समुहले नगरपालिमा ताला लगाएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend