साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी भदौ ०९ ।
आजकाल गाउँमा पुजा–पाठ गर्ने पण्डितको अभाव हुँदै गएको छ । पढ्न सुरु गरेका बालबालिकाले विद्यालयको औपचारिक शिक्षा पढ्ने र सँस्कृत पढ्न चाहाने विद्यार्थीहरु गाउँमा सँस्कृत विद्यालय नभएको कारण सहर जाने भएपछि गाउँमा पण्डितको अभाव हुँदै गएको हो ।

यसै समस्यालाई मध्यनजर गर्दै जिल्लाको धुर्कोट गाउँपालिकाले सँस्कृत पाठशाला सुरु गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ वस्तुमा रहेको किरातेश्वर मन्दिरमा सँस्कृत पाठशाला शुरु गरेको हो ।

पाठशालाको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले शुभारम्भ गरे । गाउँघरमा समेत पछिल्लो समय सँस्कृत भाषा लोप हुन थालेपछि गाउँपालिकाकै पहलमा किँरातेश्वर मन्दिरमा पाठशाला शुरु गरिएको पोखरेलले बताए ।
‘पुजापाठ गर्दा मानिसहरु पाउन मुस्किल पर्न थाल्यो ।’ उनले भने, ‘एकातिर पुजापाठ गर्ने मानिसहरु उत्पादन हुने र अर्कोतिर रोगजारी पनि सुर्जना दुवै हुने भएकाले सँस्कृत पाठशाला शुरु गरेका हौ ।’ सँस्कृत पाठशाला सञ्चालन गर्नका लागि गाउँपालिकाले २ लाख सहयोग गरेको छ ।
पाठशालामा रुद्री र कर्मकाण्ड गरि २ कक्षा सञ्चालन हुनेछन् । अहिले सँस्कृत पाठशाला ४० जनासम्मलाई पढाउन सकिन्छ । सँस्कृत कक्षामा सबै जातजातिका मानिसहरुले पढ्न पाउने मन्दिर ब्यवस्थापन समितीका सचिव नन्दराम भण्डारीले बताए ।
‘सस्कृत भाषा पनि लोप हुन थाल्यो, गाउँमा पुजापाठको लागि पण्तिको पनि अभाव हुन थाल्यो ।’ उनले भने, ‘यसैलाई मध्यनजर गर्दै सँस्कृत पाठशाला सुरु गर्ने निर्णय गरेका हौँ ।’ विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरुलाई समेत मध्यनजर राख्दै विहानमा २ घण्टा कक्षा सञ्चालन हुने भण्डारीले बताए ।
सोमवार नै रुद्रीमा ७ जना र कर्मकाण्डमा ११ जना भर्ना भएका छन । जसमध्ये एकजना दलित छन् । गाउँपालिकाले निःशुल्क पठनपाठन र पुस्तकहरुको ब्यवस्था मिलाएको छ । प्रशिक्षकका रुपमा पण्डित कृष्ण प्रसाद पोखरेललाई नियुक्ती गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend