logo
  • मंगलबार, असोज १३ २०८३

रिडीमा गाई आतङ्क : योजना विहिन स्थानीय सरकार, वडाध्यक्षले बृद्धभत्ता समेत रोके


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पोखरेल, गुल्मी भदौ १ ।
जिल्लाको रुरु गाउँपालिका वडा नम्बर १ रिडीबजारमा गाई आतङ्क बढेको छ । बजारमा गाउँगाउँबाट ल्याएर जथाभावि गाई छोडिदिदा स्थानीयलाई सास्ती भएको हो । बजारमा भएको गाईको सङ्ख्या यकिन नभएपनि झण्डै दुई सय गाई भएको अनुमान गरिएको छ ।

गाईले त्यहाँका होटलको खाना, नास्ता, पसलमा विक्रिका लागि राखिएका फलफुल, गुण, चामल, प्याज, दाल, नुन लगायका खाद्यान्नहरु खाइदिने गरेपछि व्यवसायी समेत हैरान भएका छन् । त्यसका साथै गाईले स्थानीयको बारीको मकै, घाँस पनि खाने गरेपछि किसानले पनि हैरानी खेप्नुपरेको छ ।

‘गाईले आँखा झिमिक्क गर्न दिदैँन, खाना पकाएर खाने फुर्सद समेत हुँदैन ।’ स्थानीय फलफुल व्यवसायी ज्येष्ठ कुमारी भण्डारीले भनिन्, ‘मेरै पसलबाट स्याउ र केरा धेरैपटक खाएको छ ।’ त्यसका साथै उनले बजारामा गाईले धेरै पहिलेदेखि नै नोक्सानी गर्ने गरेतापनि पछिल्ला बर्षहरुमा बढी नै सताउन थालेको बताईन् ।

होटल व्यवसायी अन्जली गुरुङले गाईले गाई होटल भित्रै छिरेर पकाएको भात, तरकारी तथा रोटी खाइदिदा आफुहरुलाई समस्या पर्ने गरेको बताए । ‘चोटपटक लाग्ने गरी धेरै पिट्न पनि भएन, सामान्य तरिकाले धपाउदाँ टेर्दैन ।

उनले भने, ‘स्थानीय सरकारले उचित व्यवस्थापन गर्नु जरुरी छ ।’ कतिपय अवस्थामा पकाउन ल्याएको तरकारी खाइदिदा समेत आफुहरु जस्ता व्यवसायीले धेरै दुख पाएको उनले बताए ।

दुध दिन छोडेपछि बजारमा छोड्छन् गाई

व्यवसायी शैलेन्द्र दर्लामीले गाईले दुध दिदासम्म घरमा पाल्ने र दुध दिन छोडेपछि रिडी बजारमा ल्याएर छोड्ने प्रचलनका कारण रिडीमा व्यवहारिसे गाईको सङ्ख्या दिनप्रतिदिन बढीरहेको बताए । अन्य ठाउँबाट रातको समयमा ट्याक्टर वा ट्रकमा ल्याई गाई बजारमा छोड्ने प्रचलन बढेको उनले बताए ।

‘दुध दिने समसम्म गाई पाल्छन्, दुध दिन छोडेपछि बुढो गाई रिडीमा छोड्छन् ।’ उनले भने, ‘मानिसमा बढ्दै गएको स्वार्थिपनाले समस्या थपिएको हो ।’ त्यसरी छोडिएका गाईको स्थानीय सरकारले गौशाला स्थापना गरी उचित व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

दुर्घटना बढाउने डर

गाईले बजारका स्थानीय व्यापारी तथा किसान मात्र होइन, बाटोमा हिड्ने पैदल यात्रु र सवारी साधनलाई समेत असर पार्ने गरेका छन् । बजारमा जथाभावि गाई ओहोरदोहोर गर्ने, सडक तथा पुलको बिच भागमा बस्ने गर्दा पैदल यात्रु र सवारी साधनलाई यात्रामा अप्यारो भएको हो ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. रिडीका इन्चार्ज ज्ञानेन्द्र रावलले रिडीमा व्यवहारिसे गाईको सङ्ख्या दिनप्रतिदिन बढीरहेकोले त्यसको उचित व्यवस्थापन नहुँदासम्म यो समस्या रहिरहने बताए । ‘कहिले पुलको बिच भागमा बस्छ त कहिले सडकमा आफ्नै तरिकाले हिडेको भेटिन्छ ।’

उनले भने, ‘गाईको कारण सडक दुर्घटनाको सम्भावना बृद्धि भएको छ ।’ स्मरण रहोस्, गत साउन २८ गते रुरु गाउँपालिका वडा नम्बर ४ मा रातको समयमा लु २ च ३३९२ नम्बरको गाडीको ठक्करबाट एउटा गाईको मृत्यु भएको थियो ।

गाडी चालक स्थानीय गोविन्दमान श्रेष्ठलाई पशुपक्षिंसम्बन्धी मुद्धा चलाइएकोमा अदालतको आदेशले एक लाख आठ हजार धरौटीमा रिह भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी मिन घलले बताए ।

गाई पालेकै कारण रोकियो बृद्धभत्ता

टिकादेवी न्यौपाने अहिले ६८ बर्षकी भईन् । उनी एकल महिला हुन् । उनले विगत १८ बर्षदेखि आफ्नै घरमा पाचँ/छ वटा गाई पाल्दै आएकी छन् । सुन्दा अचम्म लाग्न सक्छ, गाई पाल्दा बृद्धिभत्ता रोकियो भनेर । तर टिकादेवीले व्यवहारिसे गाई घरमा ल्याएर पाल्दा राज्यबाट पाउने बृद्धभत्ता समेत गुमाउनुपरेको छ ।

गाईले गाउँमा नै फोहोर गराउन थालेको भन्दै स्थानीयले गाई पाल्न छोड्न दबाब दिदैँ वडा कार्यालयमा समेत मुद्धा दर्ता गराएका छन् । ‘दुईपटक गए, वडाध्यक्षले नदिन भन्नुभएको रहेछ ।’ बृद्धभत्ता लिन वडाकार्यालय पुगेकी न्यौपानेले भनिन्, ‘रित्तो हात फर्किए ।’ उनले २०७५ कार्तिक भन्दा यताको बृद्धभत्ता नलिएको बताइन् ।

यससम्बन्धमा वडाध्यक्ष रामलाल विकले पटक–पटकका बैठकमा टिकादेवी नआएकोले बृद्धभत्ता रोकिएको बताए । उनका छिमेकी, वडाका जनप्रतिनिधि, पशु अधिकारकर्मी, बाणिज्य संघ लगायतको रोहवरमा राज्यबाट पाउने सेवा–सुविाधा रोकिएको बताए ।

गाई व्यवस्थापनको स्थानीय सरकारसँग छैन कुनै योजना

रुरु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले रिडी लगायतका स्थानका व्यवहारिसे गाईको व्यवस्थापनका सम्बन्धमा गाउँपालिकाको कुनै योजना नभएको बताए ।

गाईहरुलाई गौशाला बनाई व्यवस्थापन गर्नुपर्ने भएपनि त्यसको लागि धेरै बजेट चाहिने भएकोले समस्या परेको बताए । ‘गाईको समस्याको समाधान भनेको गौशाला बनाई व्यवस्थापन गर्नु हो, तर त्यसका लागि आवश्यक कर्मचारी, दानापानी सबै मिलाउनुपर्छ ।

गिरीले भने, ‘धेरै बजेट लाग्ने भएकोले त्यससम्बन्धी कुनै योजना बनाएका छैनौ ।’ तर गाईहरुले गर्दा पर्ने समस्याबारे सम्बन्धित व्यवसायीलाई भने सचेत बनाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend