साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी साउन २९ ।
सार्वजनिक विदाका बारेमा गुल्मीका स्थानीय तह विभाजित बनेका छन् । बिहिबार हिन्दु नेपालीहरुको जनैपुर्णिमाका अवसरमा जिल्लाका ६ स्थानीय तहले सार्वजनिक विदाको घोषणा गरेका छन् ६ स्थानीय तहले विदा दिएका छैनन् ।
संविधानमा स्थानीय तहलाई विदा दिन सक्ने अधिकार उल्लेख छ । त्यसै अधिकारलाई आधार मान्दै जिल्लाका केहि स्थानीय तहले विहिबारको जनैपुर्णिमाको अवसरमा सार्वजनिक विदाको घोषणा गरेका हुन् । जिल्लाका निर्वाचन क्षेत्र नम्बर १ का स्थानीय तहले सार्वजनिक विदा दिएका छन् भने क्षेत्र नम्बर २ का स्थानीय तहले विदा दिएका छैनन् ।
जसले स्थानीय तहमा एकरुपता आउन सकेको छैन । गुल्मीको कालिगण्डगी, गुल्मीदरबार, चन्द्रकोट, छत्रकोट, सत्यवती र रुरु गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका हुन् । उनीहरुले आफ्नो स्थानीय तहमा अधिकाशं मानिसहरु हिन्दु धर्ममा आस्था राख्ने भएकोले विदा दिएको जनाएका छन् ।
चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले संविधानले दिएको अधिकारको उपयोग गर्दै सार्वजनिक विदा दिइएको प्रतिक्रिया दिए । ‘संविधाले स्थानीय तहलाई दिएको अधिकारलाई आधार मान्दै गाउँकार्यपालिकाको बैठकले जनैपुर्णिमाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।’ उनले भने ।
सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीले स्थानीय तहलाई बर्षमा ६ वटा सार्वजकि विदा दिने अधिकार रहेको बताए । ‘गाउँपालिकामा धेरै हिन्दु धर्ममा आस्था नागरिक छन्, स्थानीय तहलाई विदा दिने अधिकार पनि छ ।’ उनले भने, ‘त्यसैअनुसार विदा दिएका हौँ ।
त्यस्तै जिल्लाका रेसुङ्गा र मुसिकोट नगरपालिका, धुर्कोट, इस्मा, मदाने र मालिका गाउँपालिकाले विदा दिएका छैनन् । यससम्बन्धमा मदाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुरेश भण्डारीले प्रदेश वा केन्द्र सरकारले कुनै निर्णय नगरेकोले विदा नदिएको बताए । त्यसका साथै उनले विदा दिने अधिकार गाउँकार्यपालिकामा भएपनि मदाने गाउँकार्यपालिकाले कुनै निर्णय नगरेकोले विदा नदिइएको बताए ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिबाट सम्बन्धित स्थानीय तहका कार्यपालिका सदस्य तोकिने व्यवस्था छ । अधिकाशं निर्णयहरु गर्ने अधिकार कार्यपालिकामा हुन्छ । कुनै पनि स्थानीय तहले कार्यपालिकाको निर्णयबिना कुनै पनि काम गर्न पाइदैन् ।
तर जिल्लाको कालिगण्डगी गाउँपालिकाले गाउँकार्यपालिकाको निर्णयबिनै सार्वजनिक विदा दिएको छ । स्थानीय तहमा कार्यपालिकाको निर्णयबिना कुनै निर्णय गर्न पाइदैन । तर कालिगण्डगीले कानुनको समेत उल्लघंन गर्दै जनैपुर्णिमाको अवसरमा मौखिक सल्लाहको आधारमा विदा दिएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्षमण गाहाले गाउँपालिका अध्यक्षले फोन गरेर विदाको सुचना निकाल्न भनेपछि आफुले विदाको सुचना प्रकाशन गरेको प्रतिक्रिया दिए ।
गाउँपालिका अध्यक्ष वेद बहादुर थापा मगरले भु–गोलको हिसाबले टाढा हुदाँ निर्णय गर्न नसकिएको जानकारी दिए ।‘फोनबाट त सल्लाह भएर नै विदा दिएका हौँ, तर लिखित गर्नुपर्ने हो ।’ उनले भने, ‘व्यवहारिकताका आधारमा निर्णय लिएका हौँ ।
जिल्लाको हर्मिचौर लगायतका क्षेत्र टाढा हुदाँ कार्यपालिकाको बैठक बस्न नसकिएको उनले बताए । तर मौखिक रुपमा सल्लाह गरी विदा दिएकोमा भने उनले गल्ति स्वीकार गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend