साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी साउन २१।
जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका सरकारी कार्यालयको छड्के अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको निर्देशनमा प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेय र उद्धब पन्थी सहितको टोलीले अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीको कार्यालयहरुमा सुशासन सेवाप्रवाह भरपर्दो बनाउने कार्ययोजना रहेको छ । जस अनुसार नियमित कार्यालय निरीक्षण गरी राष्ट्रसेवक कर्मचारीहरुलाई अनुशासित र मर्यादित बनाउन अनुगमन थालिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । टोलीले जिल्लाका २० वटा सरकारी कार्यालयको अनुगमन गरेको हो । अनुगमनको क्रममा कार्यालय प्रमुख कार्यालयमा उपस्थित भएको तर हाजिर नगरेको, कार्यालयहरुमा दुई सय ६७ जनाको दरबन्दी मध्ये एक सय ६८ जना मात्रै कार्यरत भएको पाइएको प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।
त्यस्तै ३९ जना कर्मचारीहरु काज र बिदामा रहेको, अनुगमनको समयमा कार्यालयमा २८ जना कर्मचारी अनुपस्थित रहेको, ११ जना कर्मचारीहरु तोकिएको पोशाकमा नभएको र अधिकांश कार्यालयका कर्मचारी परिचय पत्रमा उपस्थित नभएको फेला पारिएको पाण्डेयले बताए । अनुगमन टोलीले पुर्वाधार विकास कार्यालय गुल्मी, राष्ट्रिय पुर्ननिर्माण जिल्ला कार्यान्वयन इकाई, जिल्ला हुलाक, घरेलु तथा साना उद्योग विकास समिति, शिक्षा विकास तथा समन्वय इकाई, जनस्रोत तथा सिचाई विकास डिविजन कार्यालयको अनुगमन गरिएको प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।
त्यस्तै मदन भण्डारी राजमार्ग, स्वास्थ्य कार्यालय, नेपाल बिद्युत प्राधिकरण, मालपोत कार्यालय, कृषि ज्ञान केन्द्र, खानेपानी तथा सरसफाई डिबिजन कार्यालय, नापी कार्यालय, भेटेनरी अस्पताल पशु सेवा बिज्ञ केन्द्रको सम्पर्क कार्यालय, डिविजन वन कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र, कफि, मकै र सुन्तला जोन कार्यालय र गुल्मी अस्पतालको अनुगमन गरिएको पन्थीले बताए ।
टोलीले पहिलो पटक कर्मचारीहरुलाई सुझाव मात्रै दिएका छन् । झुक्काएर अनुगमन गरिने भएकाले यो अवस्था कार्यालयहरुमा दोहोरिए कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend