साझा नेटवर्क
-मनिकला महतारा ।
आमाले चुलोमा मलाई मनपर्ने खिर पकाउदै छिन म भोली गएपछी नफर्केसम्म खान पाउदिन भनेर पल्लाघरे कान्छाबाको घरबाट तीन माना दुध किनेर ल्याएकी रैछिन । घरको भैंसी ब्याउन अझै डेढ महिना बाँकि नै छ । खिर पाक्दाको दिन घरमा अघिपछिका दिन भन्दा छुट्टै किसिमको रौनक हुन्छ । तर आज अरु समय झै खिर खाने उत्साह मनमा पटक्कै छैन ।

आमाले पनि जाँगर नलागी नलागी खिर पकाइ रहेको देखेरहेको छु, लाग्छ खिर भन्दा छोरी टाढिने पिरले आमाको मन बढी पाकिरहेछ, गल्तिले पनि यो बेला केही बोले भने आमा आंँखा रसाइ हाल्छ । त्यसैले आजको दिन मौन बस्नुको विकल्प छैन, बा पनि बिहान देखि कता जानू भएको थियो कुन्नि अहिलेसम्म नि आउनु भएको छैन ।
म विदेश जाने भएपछि पल्लाघरे साइलाबाले ऋण दिनु भएको थियो, सायद त्यतै पो जानू भयो कि? नत्र एकलै बसेर मनको बिरह कम गर्दै हुनु होला । हुन त मेरा बा मेरो शक्ति हुन,मेरा प्रेरणाका स्रोत हुन र मेरो सबैभन्दा कमजोर पक्ष पनि हुन । म भित्र जति पनि आँट, साहस छ त्यो सबै बा कै देन हो ।
बाले अंश दिए पनि न दिए पनि जति सुकै दुख, अभाव र समस्यामा पनि म बाको आँखामा सधै आशाका किरणहरु चम्केको देखेको छु । तर आज बा को आँखामा निराशाले घर गरेको छ । बा को आँखामा पनि धेरै प्रश्नहरुका लहर देखि रहेको छु । तर बा पनि आज केही बोल्नु भएको छैन ।
म भने झन आंँखाभरि सुनौला रहर र सपना सजाएको मान्छे भोलि घर ,परिवारसङ छुट्टिदाको पिडा गहभरी आएता पनि छताछुल्ल हुन दिन सक्दिन । भोलि भालेको डाकोसगै आफुले आजसम्म खेलेको आगन छोडेर जानू त छदै छ !
आजसम्म डुलेका वनपाखा, यी बाल्यकाल देखिका सङसाथीहरु, कति खेर कुकुर बिराला झै लुछाचुडी गर्ने भाइबहिनी अनि कतैबाट पाएको एउटा सानो चक्लेट पनि दांँतले टोकेर बराबर बाडेर खाने मेरा मुटुका धड्कन जस्तै मेरा प्यारा भाइबहिनी पनि भोलि देखि टाढा हुने छन ।
उसो त विदेश नगए पनि हुन्न भन्नेहरुको कमी थियन, रित्तो भकारी र भत्किएको भित्तोले बिदेश जान्नु हुन्न कहिल्यै भनेनन्, आमाको उध्रीएको चोली र बा को फाटेको टोपिले सन्तानको कर्तव्यलाई गिज्याइ रह्यो, वर्षदिनमा आउने दशैमा भाइ बैनिको एक सरो नयाँ कपडा लाउने रहरहरुले चिमोटी रह्यो, पारिवारिक कर्तव्य र अभावै अभावले थिचिएको मान्छेको आफ्नै रहर मर्दा रैछन, मन त कहाँ थियो प्रदेशीने ।
दायित्व र कर्तव्यको अघि बिछोड गहिरा दुखाइ पनि फिका हुँदारैछन, पिडाहरु जित्नै पर्छ, सन्तान प्रदेशिनुको पिडाले बा आमा मन जति दुखेपनी यति बेला मलाई जसरी एक्बसाहसी योद्धाको झै अभिनय गर्नु छ । अब बढ्दो उमेर र गुज्रिरहेको समय संगै आफू घरको जेठो सन्तान भएको मैले मेरा दायित्व र जिम्मेवारी बहन गर्ने समय आएको छ ।
म आफू छोरी भएकै कारण परिवार प्रती आफ्नो जिम्मेवारी र दायित्व भुलेर निरीह बन्नु छैन । छोरीको कर्तव्य भनेको बिहे गरेर अर्काको घर जाने मात्रै पनि त होइन । जानू त छ तर त्यो भन्दा पहिला मलाई जन्माउदा हुर्काउदा मेरा बा-आमाले झेल्नु परेको दु:ख कष्टलाई अलिकति भएपनि कम गर्नुछ ।
छोरी भएकै कारण म निरीह भएर उनीहरुको त्याग र बलिदान त्यत्तिकै जान दिनु हुदैन् । युग एक्कासौ शताब्दीमा प्रवेश गरेको छ । आज मान्छेको बौद्धिक क्षमता र योग्यताले ठुलो फड्को मारेको छ । कानुनले छोरीको अधिकार सुनिश्चित गरेको छ, शक्तिको हरेक केन्द्रमा छोरीको पहुँच सहज भएको छ । आमाकै नगरिकता बाटै छोरा छोरीले नागरिकता पाउन बाटो खुलाइ दिएको छ।
तर पनि मनमा अनेकौं प्रश्नहरुले डेरा जमाइ बसेका छन । प्रश्नहरु आउनु पनि स्वभावीकै हो, किनकी म त त्यो समाजको हिस्सा हो, छोरी एक कमजोर पात्र हो भन्ने मानसिकताबाट स्थापित भएको समाज हो, जहाँ कयौ छोरी आजपनि समाजको साघुँरो घेराभित्र रहरहरुलाइ तिलान्जली दिएर बांँच्न विवस छन।
जहाँ छोरी लाई घरको आगनबाट बाहिर जांँदा प्रश्नै प्रश्नको खात लाग्छ, वषौ देखि छोरीलाई पृत्तिसत्ताले खडा गरेको कथित चरीत्र नामक डोरिले बाधिन्छ उसको स्वतन्त्रतालाइ र छोरिलाइ जीवनभर कुनै न कुनै पुरुषको (बाबू, दाजुभाइ, श्रीमान वा छोरा) फ्रेममा कैद रहन बाध्य पारिन्छ । उनीहरुसमेत त्यो डोरिलाई आफ्नो सुरक्षा कवच ठान्दै जीवन भर अनुसार अघोषित खुला कैदि बनी बस्छन् ।
त्यसैले मेरो लागि त यो निर्णय कुनै युद्ध भन्दा कम छैन । बस युद्धको एक पक्षमा मैले उठाएका कदम र निर्णय अर्को पक्षमा पितृसत्तात्मक सोच छ । वर्षो देखि रोपिएका, मलजल गरि हुर्काइएका पितृसत्ताको बिरुवा आज रुखमा परिणत भएको छ । निश्चय पनि यो रुख जरैदेखि ढाल्न केही समय त आवश्यक लाग्ने छ।
हुन त समाजमा असल पुरुषहरु संख्या कम त छैन । मेरा बा पनि त ती पुरुष हुन जस्ले मलाई बाल्यकाल देखि नै स्वतन्त्र सोचमा हुर्काए, बाले मलाई कहिल्यै म छोरी हु कमजोर पात्र भन्ने कुरा महसुस हुन दिनु भएन । कहिल्यै यो काम छोरीले गर्नु हुँदैन भनेर प्रतिबन्ध लगाउनु भएन ।गैरी खेत बन्दकी राखेर भए पनि मलाई शिक्षा आर्जनको अवसर दिनु भो।
बा नै सायद यस्तो व्यक्ति हो जस्ले छोरीलाई यी पितृ सत्ताको जेलबाट मुक्त गराउन सक्छ, बाले मलाई साथ नदिइएको भए सायद आज म पनि यति साहस गर्ने आँटसमेत गर्ने थिइन । कुन्नी किन आजरात कयौ यस्ता बिचारका द्वन्द हुर्हुरिदै थियो, (यतिकैमा अलारामको घन्टी बज्छ) आँखै नझप्काइकिनै बिहान भएछ, साइतको तैयारी पनि सकाउनु भएछ ।
बा त म सँगै काठमाडौसम्म जाने भनेर आफ्नो झोला र मेरो झोला पहिला नै निकालेर बसमा राखी सक्नु भएछ । अनि आमाको निराश अनुहार लगाउदै राता अक्षता निधारमा लगाउदै बिदाइ गर्नु भो । बस हिड्न लाग्दा गित बज्छ….
चुहियो भन्थ्यौ खरको छानो टिन फेरेर छाउँला
तिम्रा आँसु पुछ्न आमा छिट्टै फर्कि आँउला !
यस्तै छ कहानी परदेशिको
किन्न त पाईन्छ
पानि फ्रिजको अनि हावा एसिको
तर, तिर्सना मेट्दैन गाँउवेसी को !!
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend