साझा नेटवर्क
कमल पौडेल, बागलुङ जेठ २१ ।
गल्कोट नगरपालिका वडा नम्बर ११ रिघामा सोमबारदेखि जारी क्विक्स कप अन्तर विद्यालय फुटबलको इलाका छनौट प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला फुटबल संघ बागलुङको आयोजना र रत्नलक्ष्मी मावि, धर्मापोखरी युवा क्लब र रिघा खेलकुद विकास समितिको सह–आयोजनामा सुरु भएको प्रतियोगिताको दोश्रो दिन फइनल खेल सम्पन्न भएको हो ।

रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघाले नव प्रभात वोर्डिङ स्कुल गल्कोटलाई ३–० गोल अन्तरले हराउँदै जिल्ला स्तरीय खेलको लागी छनौट भएको छ । विजेता भए संगै रिघाले १० हजार हात पारेको छ । नव प्रभातले उपविजेता बन्दै ५ हजारमा चित्त बुझाएको छ ।
फाइनल खेलको उद्घाटन गर्दै गल्कोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचाले खेल स्वास्थ्यको लागी र राष्ट्रको लागी भएको भन्दै खेलले अनुशासन र राष्ट्रिय एकता कायम गर्ने वताउनु भएको छ । रिघामा प्रतियोगीता आयोजना हुनु खुसिको कुरा भन्दै आयोजकलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को बार्षिक क्यालेन्डर अन्तरगतको प्रतियोगिता विगतका वर्षहरुमा जिल्ला सदरमुकाममा मात्र हुने भएपनि यस वर्ष जिल्लाको पश्चिम भेगको लागि इलाका छनौट सुरु गरिएको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले बताउनु भएको छ ।
जिल्लामा मात्र केन्द्रित रहँदा गाउँ–गाउँमा रहेका खेलाडीहरुको प्रतिभामाथि अन्याय गरेको अनुभुति भएकाले यस वर्षदेखि गल्कोट भेगको लागि इलाका छनौटका रुपमा स्कुलस्तरीय प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनु भएको छ ।
गाउँ स्तरमै पुगेर गरिएको प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने तथा सहि प्रतिभा पहिचान हुने इलाका छनौट प्रतियोगिताका खेल संयोजक राजकुमार बोसेलले दावि गर्नुभएको छ ।
प्रतियोगिताको विजेता टिम जेठ २५ गतेदेखि बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा हुने अन्तर विद्यालय क्विक्स कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने जिल्ला फुटबल संघ बागलुङले जनाएको छ ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend