साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार ।
पाल्पाली सेवा समाजको प्रतिवद्धता, नि:श्वार्थ समाज सेवा आजको आवस्यकता भन्ने मूल नारा सहित स्थापना भएको पाल्पाली सेवा समाज दोहा कतारको छैठौ साधारणसभा तथा विविध कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

सन् २००७ मा कतारमा स्थापना भई समग्र पाल्पालीहरुको सुख दुःखमा साथ दिँदै आएको समाजले साधारणसभा सहित सांगीतिक तथा सम्मान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको तयारी पुरा भएसँगै विविध कारणवश कार्यक्रमको स्थान परिवर्तन गरिएको समाजका अध्यक्ष ईश्वर काफ्लेले साझा नेटवर्कलाई जानकारी दिए ।
यसै अवसरमा समाजले मुस्लिम धर्मावलम्बीहरुको महानपर्व इदको सार्वजनिक बिदाको सदुपयोग गर्दै जिल्ला स्तरीय भलिबल प्रतियोगिताको पनि आयोजना गरेको छ । खेल खेल्नको लागि २५ मे देखि नाम दर्ता गर्न सुरु गरिएको र हरेक जिल्लाबाट आफ्नो जिल्लाको परिचय खुल्ने गरि खेलाडी छनोट गर्ने खेल संयोजक हेम बगालेले जानकारी दिए।
समाजको साधारणसभा तथा विविध कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरुको उपस्थिति रहने भएको छ । कार्यक्रममा वरिष्ठ कलाकार तथा चलचित्र निर्देशक नारायण रायमाझी, रोइलाका राजा मानिने लोक गायक शिरिष देबकोटा, गायिका तथा उद्घोषिका मञ्जु पौडेल, लोक तथा दोहोरी गायक बिक्रम परियार र नृत्यंगना सपना ढेंगा सहित कतारमा रहेका कलाकारहरुको समेत प्रस्तुति रहने ।
कार्यक्रममा पत्रकार तथा पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना र न्युज २४ टेलिभिजनका पत्रकार एवम् मोडल कृष्ण पाण्डेको समेत सहभागिता रहने भएको छ ।कार्यक्रमको मुख्य प्रायोजकको रुपमा रानीमहल ट्रेडिङ टेलरिङ डव्लु एलएल रहेको छ ।
समाजले यसवर्ष मात्रै जिल्लामा आधा दर्जन विद्यालयका गरिब तथा विपन्न परिवारका २ सय ५० विद्यार्थीलाई निःशुल्क झोला बितरण गर्नुका साथै दमकडा माध्यमिक विद्यालयको दृष्टिविहीन शाखामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको अक्ष्यकोष स्थापना गरेको छ ।
यहि जुन ७ तारिख शुक्रबारका दिन कतारको सनैया स्थित डल्ला ड्राभिङ्ग एकाडमीको सभाहलमा आयोजना गरिएको कार्यक्रम स्थानीय समय अनुसार बिहान ११ :३० बजेबाट सुरु हुनेछ भने कार्यक्रममा प्रवेश नि:शुल्क रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend