साझा नेटवर्क
साझा नेटवर्क, दोहा ।
कतारमा नेपाल आइडल “बुगीवुगी” इद फेस्टिवल हुने भएको छ । कतारको सनैया स्थित ग्राण्ड मलको एसियन टाउन, एम्पिथियटरको हलमा जुन ६ (इदको द्रोस्रो दिन)मा नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल कार्यक्रम हुने भएको हो ।

सोहि फेस्टिवलको आयोजक रहेका गैरआवासीय नेपाली संघ(एनआरएनए) मध्यपूर्व उपसंयोजक प्रबिन गुरुङले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

उपसंयोजक गुरुङले कतारमा रहेका सम्पूर्ण नेपालीहरुलाई मनोरञ्जनसहित देशको झझल्को मेटाउने उक्त कार्यक्रममार्फत चितवनमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा सहयोग गर्ने पनि वताए । गुरुङले उक्त कार्यक्रम नाफा वा घाटा जे भए पनि धुर्मुस सुन्तलीले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० लाख सहयोग गर्ने घोषणा गरे ।
यसअघि पनि गुरुङले नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित कार्यक्रमको कतारको दोहामा सफलता पुर्वक ग्राण्ड फिनाले सम्पन्न गरेका थिए। नेपाल आइडल र बुगीवुगी इद फेस्टिवल कार्यक्रमका सल्लाहकार सागर नेपालले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिएका थिए।
शोभा त्रिपाठी र बिबेक खतिवडाले संचालन गर्ने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय एबं ख्यातिप्राप्त कलाकारहरु, नेपालकै पहिलो उत्कृष्ट रियालिटी शो नेपाल आईडल सिजन २ का (टप फोर) कलाकारहरु फस्र्ट रनरअप गण्डकी प्रदेश कास्कीका विक्रम बराल, सेकेण्ड रनरअप प्रदेश नं १ झापाका सुमित पाठक, थर्ड रनरअप प्रदेश १ झापाकी अस्मिता अधिकारीसंगै बिजेता सूदूरपश्चिम प्रदेश कञ्चनपुरका रबि ओडले आफ्नो धमाकेदार प्रस्तुति दिनेछन् ।
यसैगरी नेपालको पहिलो अन्तर्रा्ष्ट्रिय फ्रेन्चाइज रियालिटी शो बुगी वुगी सिजन १ का (टप फोर) कलाकारहरु बिजेता कविता नेपाली, दोश्रो स्थानमा पर्न सफल तनँहुकी प्रतिभा पुन, तेश्रो सरोज मोक्तान र चौथो रबिन भुजेल सहभागी हुनेछन ।
यस्तै कार्यक्रममा चर्चित रयापर भिटेन, सालको पात टपरी हुनीका गायक कुलेन्द्र बिक, नायिका एलिना रायमाझी, हाँस्यकलाकार एबं विभिन्न चरा चुरुङ्गिकोआवाज निकाल्न सक्ने रमेश दुलाल कागे लगायत अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजक गुरुङले बताए ।
कार्यक्रमलाई कतार तथा नेपालका प्रतिष्ठित कम्पनी तथा समूहको प्रायोजन र सहयोग रहेको छ । उक्त कार्यक्रमले भिजिट नेपालको अभियानमा समेत सहयोग पुग्ने आयोजक गुरुङले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend