साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी जेठ ८।
जिल्ला प्रशासन कार्यालय गुल्मीको सहायता कक्षा अत्यन्तै प्रभावकारी बन्दै गएको छ । गत १ भदौबाट सहायता कक्ष संचालनमा आएको थियो । नौ महिनाको अवधिमा सहायता कक्ष मार्फत भण्डै ४२ लाख रुपैयाँ नागरिकको बचत भएको प्रशासन कार्यालयको तथ्याङ्क रहेको छ । कार्यालयमा विचौलीयाको अन्त्य, कार्यालयबाटै हुलाक टिकटको व्यवस्था, नागरिकताको अभिलेख पठाउने र मगाउने कार्य सहायता कक्षबाटै भइरहेको छ ।
बाहिरी जिल्लाको कुनै पनि अभिलेख झिकाउनु परे नागरिकले थुप्रै हैरानी खेप्थे। फयाक्स मगाएकै करिव ६ देखि १२ सयसम्म व्यावसायीले नागरिकसंग असुल्थे । अहिले त्यो सवै काम निशुल्क रुपमा प्रशासनको सहायता कक्षबाटै हुन्छ। भदौ १ देखि बैशाख मसान्तसम्म सहायता कक्षा मार्फत ११ सय ९७ जनाले बाहिरी जिल्लाको अभिलेख मगाएका छन् । न्यूनतम ६ सयका दरले पनि सात लाख १८ हजार दुई सय रुपैयाँ नागरिकको बचत भएको सहायता कक्षका खरिदार चेत नारायण खनालले बताए ।
सहायता कक्षमा अहिले विभिन्न २१ प्रकारका निवेदनका ढाँचा रहेका छन् । अहिलेसम्म चार हजार निवेदन कार्यालयमा पेश भएका छन् । बिचौलियाले बाहिर एउटा निवेदन लेखे बापत पाँच सय लिने गरेका थिए । अहिले त्यो काम सहायता कक्षमा निशुल्क भएको छ । त्यसबाट पनि २० लाख रुपैयाँ नागरिकको बचत भएको खनालले बताए । त्यस्तै राहदानी निवेदन पाँच हजार पाँच सय जनाले पेश गरेका छन् । सर्वसाधरण नागरिकलाई राहादानी फाराम भरेको साढे चार सयदेखि छ सयसम्म व्यावसायीले लिने गरेका थिए । कार्यालयले त्यसलाई व्यवस्थित गरेको छ। अहिले एक जनाको तीन सय रुपैयाँभन्दा बढि लिन पाइदैन् । कागजपत्रसंगै फाराम बापत भुक्तानी गरेको बिलसंगै कार्यालयमा पेश गर्नुपर्ने व्यावस्था गरिएको सुचना अधिकृत लक्ष्मण पाण्डेयले बताए । सरदरमा दुई सय ५० रुपैयाँका दरले पनि नागरिकको १३ लाख ७५ हजार जोगिएको पाण्डेयले बताए ।
हरेक प्रकारका निवेदनमा टाँस गरिने टिकटको मुल्य बजारमा १५ रुपैयाँ पथ्र्यो । तर कार्यालयले टिकट सहायता कक्षबाट १० रुपैयाँमै उपलब्ध गराउने गरेको छ । त्यसबाट पनि ५१ हजार बचत भएको छ। राहादानी फाराम र टिकटको मुल्य व्यावस्थान, सहायत कक्ष मार्फत निशुल्क रुपबाट प्रदान गरिने सेवाबाट नागरिकको ४६ लाख बचत गर्नु सेवाग्राही र कार्यालय दुवैको लागि अत्यन्तै सुखद पक्ष भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सहायता कक्षमा कार्यालयका विभिन्न २१ प्रकारका निवेदनको ढाँचा राखिएको छ । ‘नागरिकसगै विभिन्न बाहानामा चर्को मुल्य असुल्ने बिचौलियाको धन्दा सकिएको छ,’उनले भने,‘ नौ महिनामा धेरै पैसा बचत ग¥यौ, सेवाग्राही र कार्यालय खुसी छौ ।’
जिल्ला प्रशासन कार्यालय गुल्मीले डिजिटल नागरिक वडापत्र सेवा पनि सुरु गरेको छ । बिभिन्न सेवाका लागि कार्यालयमा आउने सेवाग्राहीलाई तुरुन्तै सेवा दिने उदेश्यले डिजिटल नागरिक वडा पत्र सुरु गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। कार्यालयमा आएपछि कुन सेवा कहाँबाट लिने भन्नेमा सेवाग्राहि अन्यौलमा पर्ने गरेका थिए । सोहि समस्याको सहजताको लागि कार्यालयमा डिजिटल नागरिक वडापत्र सुरु गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए । जसले सेवाग्राहीसंगै प्रशासनको कामलाई छिटो र छरितो बनाउन सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । डिजिटल वडापत्रमा शाखाको काम, आवश्यक समय र कागज पत्रको बारेमा समेत जानकारी दिइने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। डिजिटल नागरिक वडापत्रमा जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रजिअ शाखा सहितका ११ वटा शाखाको कामहरुको बारेमा जानकारी राखिएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयमा १ भदौबाट वाईफाई फ्रि समेत गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले यो बर्ष जिल्लाका चार स्थानीय तहमा एकिकृत घुम्ती शिविर सम्पन्न गरेको छ । जिल्लाका कालगण्डकी, चन्द्रकोट, मदाने र मालिका गाउँपालिमा भएका शिविर अत्यन्तै प्रभावकारी भएका छन् । शिविरहरुबाट १७ सय ७९ जना नागरिकले नागरिकता सहितका विभिन्न सेवाहरु घर छेउँमै सेवा पाएका छन् ।
जिल्ला प्रशासन कार्यालयले घुम्ती शिविर मार्फत करिव ९० लाख नागरिकको बचत भएको जनाएको छ । सरदर एक जनाको पाँच हजारका दरले १७ सय ८९ जनाबाट ८९ लाख ४५ हजार रुपैयाँ नागरिकको बचत भएको प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend