logo
  • शनिबार, साउन ३० २०८३

धुर्कोटमा निःशुल्क स्वास्थ्य शिविर, ६६३ जना लाभाम्बित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हुमाकान्त पोखरेल, गुल्मी जेठ ०५।
गुल्मीको धुर्काेट गाँउपालिका ६ रजस्थलकी जमुना भुसाल लामो समयदेखि सेतोपानी बग्ने, ढाड कम्मर दुख्ने लगायतका समस्याले ग्रसित थिइन ।
जाँच गराई औषधी लिनकै लागि उनी बुटवल जाने तयारीमा थिइन । तर गाँउपालिकाको धुर्काेट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना भएपछि उनलाई औषधी लिनकै लागि कतै जानुपरेन । ‘बुटबल जाने तयारी थियो, तर घरदैलोमै शिविर संचालन भयो ।’ उनले भनिन, ‘ढुङ्गा खोज्दा देउता मिलेझै भयो ।’ गाँउपालिकामा यसरी निःशुल्क स्वास्थ शिविर संचालन हुनु आफुहरूको लागि खुसिको कुरा भएको उनले बताइन ।
अर्की स्थानीय ७० बर्षिय नरी कुमारी थापा पनि ढाड दुख्ने समस्याले पिडित थिइन । औषधी लिनकै लागि उनलाई बुटलब, भैरहवा, काठमाडौ लगायतका ठाँउमा धाउनुपर्थाे । तर गाँउमै संचालन भएको निःशुल्क स्वास्थ शिविरले उनलाई उपचारकै लागि टाढा–टाढा धाउनुपरेन । ‘यहि औषधी लिन धेरै रकम र समय खर्च हुन्थ्यो ।’ उनले भनिन, ‘तर अहिले समय र पैसा दुवैको बचत भएको छ ।’

धुर्काेट गाँउपालिकाको व्यवस्थापन तथा नेपाल मेडिकल कलेज जोरपाटी काठमाडौको प्राविधिक सहयोगमा गाँउपालिकाको धुर्काेट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा स्त्रीरोग, सामान्य चिकित्सा, सर्जरी, बालरोग, भिडियो एक्सरे र प्रयोगशालाको निशुल्क परिक्षण गर्नुका साथै निशुल्क औषधी पनि वितरण गरिएको थियो । नेपाल मेडिकल कलेजका कर्मचारी डाक्टर दिनेश पोखरेलको संयोजकत्व तथा मेडिकल कलेजका अध्यक्ष एवम् स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालको नेतृत्वमा १८ सदस्यिय समुह शिविरको लागि धुर्कोट पुगेको थियो ।

शिविरबाट कुल ६६३ जनाले सेवा लिएका छन् । जसमध्ये ४२ जना बालबालिका रहेका छन् । सेवा लिएकामध्ये स्त्री रोग सम्बन्धि १०३ जना र सामान्य चिकित्सासम्बन्धी ४९० जना रहेको गाँउपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए । शिविरबाट विशेषगरी गरिब, विपन्न, अपाङ्ग तथा अशक्त नागरिकहरु बढी लाभाम्बित भएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । ‘नागरिकहरु सामान्य उपचारको पहुँचमा छन् तर विशेषज्ञ सेवाबाट बञ्चित थिए ।’ पोखरेलले भने, ‘सबै नागरिकलाई स्वस्थ्य राख्ने उदेश्यले शिविरको आयोजना गरिएको हो ।’

स्त्रीरोग सम्बन्धी बिरामी धेरै, गाउँगाउँमा जनचेतना जगाउनुपर्ने

नेपाल मेडिकल कलेजका अध्यक्ष एवम् स्त्री रोग विशेषज्ञ ढाक्टर रिजालले जाँच गरेकामध्ये पाठेघर खस्ने, सेतो पानी बग्ने लगायतका स्त्री रोगसम्बन्धी बिरामीहरु धेरै भेटिएको बताए । गाउँगाउँसम्म स्वास्थ्य सेवाको राम्रो पहुँच नहुनु, रोग लुकाएर राख्नु तथा महिनावारीको समयमा सरसफाईमा ध्यान नदिएकोले यस्तो रोग भेटिएको उनको भनाई छ । त्यस्तै असुरक्षित यौन सम्पर्क तथा असुरक्षित गर्वपतन, असुरक्षित प्रसुति लगायतका कारण पनि महिलाहरुमा यस्तो समस्या देखिएको उनले बताए । यसको न्यूनिकरणका लागि गाउँगाउँसम्म विशेषज्ञ सेवा संचालन गर्नुपर्ने तथा नागरिकमा जनचेतना जगाउनुपर्ने उनले बताए ।

गाउँमै अस्पताल संचालन गर्नु कठिन

धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष तथा धुर्कोट गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले दुर्गम ठाउँमा स्वास्थ्य सँस्था संचालन गर्नु कठिन बिषय रहेको प्रतिक्रिया दिए । ‘दुर्गम ठाउँमा डाक्टर नै बस्न मान्दैनन, तरपनि अधिकतम रुपमा सेवा संचालन गरेका छौ ।’ उनले भने । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले नागरिकको स्वस्थ बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्नको लागि स्वास्थ्य शिविरको आयोजना गरिएको बताए ।

यसभन्दा अगाडी पिपलधारामा पनि निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको भन्दै अध्यक्ष पोखरेलले आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिदैँ लैजाने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend