साझा नेटवर्क
-हिरा कुँवर, गुल्मी ।
हामी सानो छँदा रातीमा अबेरसम्म ननिदाउँदाको दिन आमा, हजुरआमाहरुले भन्नुहुन्थ्यो “ननिदाए भुत आउँछ, चिम्म गरेर निदाउनुपर्छ ।” त्यसपछि डरले आमाको छातीमा फलाममा चुम्बक टाँसिएजस्तै टाँसिएर निदाइन्थ्यो । एकैचोटी अर्को दिन बिहान उठ्दा नत भुत देखिन्थ्यो नत आमासंग भुत आयो कि आएन भनेर सोधिन्थ्यो ।
भुत कस्तो हुन्थ्यो, कत्तिको ठुलो हुन्थ्यो, कहाँ बस्थ्यो ?आयो भने के गथ्र्यौ ? यी र यस्ता प्रश्न मनभित्र नै खेलिरहन्थे । नत आमासंग सोधिन्थ्यो , नत हामीलाई आमाले नै भन्नुहुन्थ्यो । भुतको डरमा कति काम जबरजस्त गरिएको रहेछ, उमेर बढ्दै जाँदा बिस्तारै आफै थाहा हुँदै गयो ।
भुत केवल हामीलाई ठेगानमा ल्याउने आमा हजुरआमाको काइदाको तरीका रहेछ भनेर । बाल्यकालको कल्पनाको भूतले अहिलेसम्म पनि मेरो मनमा नराम्ररी त्रासको डेरा जमाएर बसेको छ । २०७६ बैशाख ३१ गते प्रकाशित “विद्यालयले तपाईको बच्चालाई मनरोगी त बनाउँदै छैन” भन्ने शिर्षकको लेख पढ्दा दिनहुँ होमवर्कको ओझिलो भारी बोक्ने मेरो ५ वर्षीय छोरालाई सम्झें झलझली ।
मैले बाल्यकालको भूतलाई सम्झिएँ अनि सम्झिएँ होमवर्क गर्न नमान्दा भुतजस्तै डर देखाउन प्रयोग गरीने छोराका सर् अनि मिसहरु । हामीमध्ये धेरैजसोका बच्चाहरुले होमवर्क गर्न मानेनन् भने हामी भन्छौं होमवर्क गर्ने भए गर, नत्र मिसलाई, मेडमलाइ, सरलाई फोन गरिदिन्छु, बोलाइदिन्छु ।
अनि बच्चाले चुपचाप डरैडरमा होमवर्क गर्छ, सिध्याउँछ, । हामी छोराछोरीले होमवर्क गरेकोमा सर, मिसलाई भनिदिने हाम्रो गज्जबको तरिका सफल भएकोमा फुरुंग हुन्छौं, गर्व गछौ र यसैलाई सफलता ठान्छौं । तर हामीले कहिल्यै सोच्दैनौं कि हाम्रो छोराछोरीको मानसिकतामा सर मिसको इमेज कस्तो छ ? भुत जस्तो वा साथी जस्तो ?
हुनसक्छ, कतिपय महंगो शुल्क लिने मण्टेश्वरी विद्यालयमा बालबालिकाको सिकाइको तरिका पनि फरक होला । तर प्रायजसो नीजी विद्यालयमा सिकाउने तरिका अहिले पनि सुगा रटाई नै छ । शिक्षा व्यापार, व्यवसाय जस्तो बनिदिंदा त्यसको अप्रत्यक्ष भार कलिला मस्तिष्कमा पर्दछ । खेल्दै, रमाउँदै, हाँस्दै सिक्ने बेलामा सानै उमेरदेखि घोक्न र रट्न बाध्य छन् बच्चाहरु । यो त भयो विद्यालयको कुरा ।
अब अभिभावकको कुरा गरौं । धेरैजसो समय बालबालिकाले घरमै बिताउने भएकोले अभिभावक उनीहरुका मुख्य मार्गदर्शक हुन् भनिन्छ । बच्चालाई हामीले गर्ने व्यवहार, दिइने वातावरण सबै कुराले उसको बानीको विकास हुने हो । यो विकासका लागि हाम्रो व्यवहार बालबालिकामैत्री हुनु जरुरी देखिन्छ । जसलाई उल्लेखित कुराहरुले केही सहयोग पुग्न सक्छ ।
सबै बच्चाहरुको रुचि, चाहना , क्षमता एउटै हुँदैन । उनीहरु हुर्केको घरपरिवारको वातावरण, साथीभाई, हुर्काइ, हेरचाह, खानपान सबै कुरा फरक फरक हुन्छन् । जसले उनीहरुको शारिरीक मानसिक लगाव र क्षमतामा पनि प्रभाव पारेको हुन्छ ।
तर यसको बुझाई शिक्षित भनिने अभिभावकमा पनि कमजोर देखिन्छ । अरुको बच्चासंग आफ्नो बच्चालाई तुलना गरेर उसलाई हीनताबोध हुने व्यवहार गर्नुहुँदैन । कक्षामा प्रथम नहुने बच्चाहरुले पनि अन्य थुप्रै राम्रा कामहरु गर्न सक्छन्, हाम्रो महत्वाकांक्षा उनीहरुमाथि नथोपरौं ।
बच्चाहरुले गर्ने स साना कामहरु हुन्छन । जस्तै आफ्नो सामानहरु ठीक ठाउँमा मिलाएर राख्ने, राम्रोसंग हात धुने यस्तै यस्त थुप्रै कामहरुमा हामीले उनीहरुलाई स्याबासी दिनु जरुरी छ । जसले उनीहरुको मनोबल बढाउन सहयोग गर्दछ ।
अहिलेका बच्चाहरु मोबाइलको अत्यधिक प्रयोग, एकल परिवार, अभिभावकको ब्यस्त जीवनशैली लगाएतका कारणले सामाजिकीकरणबाट टाढा हुँदै गइरहेका छन् । आफन्त, मान्यजन, घरपरिवारसंगको भेटघाट, चिनजान पातलिंदा एक्लो हुँदै गइरहेका छन् । जसले उनीहरुको सामाजिकीकरणलाई कमजोर बनाउँदै लगेको छ ।
तसर्थ आजका अभिभावकले समय समयमा सार्वजनिक समारोह, कार्यक्रम, बाहिरी परिवेश, आफन्तसंगको नियमित भेटघाट र सम्बन्धमा पनि बच्चालाई सहभागी गराउन जरुरी छ ।
बच्चाहरुको स्वभाव जिज्ञासु हुन्छ, कैंयौ प्रश्नहरु उनीहरुको मनमा आउँदछ । कुनै कुरा कसरी भयो ? किन भयो ? यी र यस्ता थुप्रै विषय उनीहरुको मनमा खेलिरहेका हुन्छन् । हामीलाई सामान्य र अनावश्यक लाग्ने विषय पनि उनीहरुका लागि महत्वपूर्ण हुन्छन् ।
हामीले झञ्झट नमानीकन प्रतिक्रिया दिंदा उनीहरुका लागि राम्रो सिकाई हुनसक्छ । प्रायजसो कामकाजी अभिभावकले बच्चाहरुको यस्तो कुरामा कम समय दिएको पाइन्छ ।
दिनभरको अफिसको कामको बोझले गर्दा बेलुका घरमा आउँदा थकान महसुस भइरहेको हुन्छ । बच्चासंग फ्रेस मूडमा कुरा गर्ने, कुरा सुन्ने गर्न जरुरी छ । जसले उनीहरुमा आत्मसम्मानको महसुस हुन्छ ।
औसतमा हामी अभिभावकले बच्चाहरुले जुन काम गर्दा हामीलाई खुसी मिल्छ, त्यही काम गर्न लगाइरहेका हुन्छौं । उनीहरु आफैलाई कुन कामले खुसी दिन्छ , त्यसको अलि कम वास्ता गरिन्छ ।
जस्तै भर्खर सफा कपडा लगाइदिएको बच्चा माटोमा नखेले हुन्थ्यो, कपडा फोहोर नबनाए हुन्थ्यो , सफा ठाउँमा थपक्क बसे हुन्थ्यो भन्ने हाम्रो चाहना हुन्छ । किनकि कपडा फोहोर भयो भने कपडा धुने काम हामीले गर्नुपर्छ, जसमा हाम्रो स्वार्थ छ । तर माटोमा साथीहरुसंग खेलेर बच्चाले पाउने खुसी अरुबाट मिल्दैन ।
यी र यस्ता थुप्रै विषय छन, जुन बच्चाको मनोभावनासंग प्रत्यक्ष जोडिएका छन । अहिले विकासको क्रममा बालमैत्री संरचनाहरु बनिरहेका छन् । विद्यालयमा पिउने पानीको धारादेखि लिएर, शौचालयसम्म, कक्षा कोठामा राखिने टेबुल, डेस्क, बेञ्च लगाएत धेरै संरचना बालमैत्री बन्दैछन, जुन सकारात्मक पक्ष हो ।
यसका साथै बालकको पहिलो पाठशाला घरभित्रका हामी अभिभावकको व्यवहार नै बालमैत्री हुन जरुरी छ । हामीले बच्चाहरुलाई दिने वातावरण, सिकाउने संस्कार र सामाजिकीकरण जस्ता पक्षहरुमा अझै पनि सुधार गर्न जरुरी छ ।
हामी जसरी हुर्कियौ, त्यो विषय त्यतिबेलाको लागि स्वभाविक हो । तर हामी दोस्रो पुस्ताले त्यही व्यवहार गर्नु जाहेज हुँदैन । बालमैत्री घरपरिवार, विद्यालय र समाज निर्माण गर्न सके भोलि देशले असल नागरिक पाउन सक्छ ।
अबका बच्चाका शिक्षक, अभिभावक सबै उनीहरुका साथी बन्न जरुरी छ, जोसंग आफ्ना कुराहरु खुलेर भन्न सकुन्, बोल्न सकुन्, सहयोगीको महसुस गर्न सकुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend