साझा नेटवर्क
हुमाकान्त पोखरेल,गुल्मी बैशाख १८ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले दुर्घटनाबाट बच्न र हुने क्षति न्यूनिकरण गर्न सवारी चालक र सह–सह चालकको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । सदरमुकाम तम्घासको बुढाथोकी बसपार्कमा शिविरको आयोजना गरी चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण गरेको हो ।
रक्तचाप,टाउको दुख्ने लगायतका समस्याहरुको जाँच गरि औषधी प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार जगत पौडेलले जानकारी दिए । ट्राफिक प्रहरीले विभिन्न चोक तथा बजार क्षेत्रमा सवारी चालक र पैदल यात्रु सम्बन्धी जनचेतना कार्यक्रम पनि संचालन गरिरहेको छ । ‘दुर्घटना न्यूनिकरणका लागि ठाउँको ठाउँ सुधार’ भन्ने मुख्य उदेश्यका साथ सुरु भएको ट्राफक सप्ताह कार्यक्रम अन्तरगत जनचेतनामुलक कार्यक्रम सुरु गरिएको हो । ट्राफिक प्रहरीले शनिबारबाट देशव्यापी रुपमा सुरु गरेको ‘ट्राफिक सप्ताह’ लाई फलदायी बनाउन गुल्मीमा पनि जनचेतना लगायतका कार्यक्रमहरु गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले सप्ताहलाई सफल पार्न सात दिनसम्म विभिन्न कार्यक्रमहरु बनाई त्यसैअनुसार कार्य गर्ने जनाएको छ । सडक प्रयोगकर्ताहरुलाई सुरक्षित यात्रा गर्नेबारे जानकारी दिन विभिन्न चोक तथा बजार क्षेत्रमा प्रहरी भोलेन्टियर खटाउने,स्थानीय तह तथा स्थानीय क्लवका व्यक्तिहरुलाई ट्राफिक नियम सम्बन्धी तालिम दिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार देवी पौडेलले जानकारी दिए । त्यस्तै बजार चोक क्षेत्रमा सवारी चालकलाई सवारीको गति नियन्त्रण गराउने,यात्रुहरुलाई सडकको दाहिने किनारबाट हिड्न लगाउने, सिट क्षमताभन्दा बढी यात्रु नराख्न भन्ने जस्ता कार्यहरु ट्राफिक प्रहरीले गर्ने उनले बताए ।
चालहरुलाई हेलमेट तथा सिट वेल्टको प्रयोग गर्न भन्ने,पार्किङलाई व्यवस्थित तथा ट्राफिक नियमसम्बन्धी विभिन्न पर्चा पम्पेटहरु वितरण गर्ने योजना पनि गुल्मी ट्राफिकको छ । ट्राफिक प्रहरीले राजमार्ग तथा मुख्य सडकमा केन्द्रित रही ओभरटेक गर्ने सहि तरिका सिकाउने, स्थानीय तह, सडक विभाग, यातायात व्यवस्था कार्यालयहरुसँग छलफल गर्ने र प्रशिक्षण दिनुका साथै ओभरटेकसम्बन्धी भिडियो प्रदर्शन गर्ने योजना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख नारायण खनालले जानकारी दिए । सवारी दुर्घटनापश्चात हुने परिणामहरुको सम्बन्धमा सडक नाटक प्रदर्शन गर्ने तथा चोक–चोकमा सभा गर्ने कार्य ट्राफिक प्रहरीको योजनामा छ । त्यस्तै चालकहरुलाई लक्षित गरी स्वास्थ्य शिविर संचालन गर्ने, विभिन्न अस्पतालसँग समन्वय गरी चिकित्सकहरु उपलब्ध गराउने पनि खनालले जानकारी दिए ।
ठुला व्यापारीले गर्दा तम्घासमा सधै जाम
जिल्ला सदरमुकाम तम्घासमा साँघुरो सडक तथा दिउसाँेमा सामन लोड–अनलोड गर्नाले सधैजसो जाम हुने गर्दछ । सडक जाम हुने अवस्थालाई न्यूनिकरण गरी सहज रुपमा यातायात संचालन गर्न दिउसो तीनदेखि साँझ ५ बजेसम्म सामान लोड–अनलोड गर्न नपाइने सम्बन्धी जिल्ला प्रशासन कार्यालयमा गरिएको सम्झौता कागजमै सिमित भएको छ । त्यस्तै केहि समय रेसुगां नगरपालिकाले पनि मोटरसाईकललाई ‘नो पार्किङ’ को नीति अपनायो । तर नगरपालिकाको यो निर्णय पनि अहिले अलपत्र अवस्थामा छ । जसले गर्दा सर्वसाधारण नागरिक र साना सवारी साधनले समस्या झेल्दै आएका छन् । ‘प्रशानमा सामान लोड–गर्नेसम्बन्धी सम्झौता भएझैँ लाग्थ्यो, तर यहाँ नागरिकले सधै सास्ति खेप्नुपरेको छ ।’ तम्घास उदिनढुङ्गाकी कमला परियारले भनिन्, ‘ट्राफिक प्रहरीदेखि जनप्रतिनिधी तथा प्रशासन सबै मौन बसेका छन् ।’ त्यसका साथै उनले कानुन सबैलाई बराबर हुनुपर्ने बताइन् ।
नियम अटेर गरे कारवाही हुन्छ ः ट्राफिक
जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख नारायण खनालले गल्ति गर्ने जो–सुकैलाई पनि कारवाहिको दायरामा ल्याउने बताए । ‘दिउसँमा सामान लोड–अनलोड गर्न पाइदैँन, यस्तो गर्नेलाई ट्राफिक प्रहरीले कारवाहि गर्छ ।’ उनले भने, ‘कानुनमा कसैलाई भेदभाव गरिने छैन ।’ सदरमुकाम वा अन्य स्थानमा ट्राफिक प्रहरी खटाई यात्रुहरुको यात्रालाई सुरक्षित बनाउने पनि उनले बताए । तर तम्घासमा साघुँरो सडकको कारण आफुहरुलाई काम गर्न अप्ठ्यारो परेको उनले बताए । ‘एकातर्फ सडक नै साघुँरो छ भने अर्कोतर्फ गाउँमा कम यातायातका साधनहरुले गर्दा नागरिकहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुन्छन् ।’ उनले भने, ‘समस्याको दीर्घकालिन समाधान खोज्नु आवश्यक छ ।’
४,७५७ सवारी कारवाहिबाट २८ लाख ६४ हजार राजस्व संकलन
जिल्ला ट्राफिक प्रहरी कार्यालयले राजस्व संकलनलाई पनि तिब्रता दिएको छ । ट्राफिक प्रहरीले यो आर्थिक बर्षको गत साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा चार हजार सात सय ५७ सवारी साधन कारवाहिबाट २८ लाख ६४ हजार राजस्व संकलन गरेको छ । जसमध्ये सबैभन्दा बढी दुई हजार ३८ मोटरसाईकलबाट १३ लाख ३२ हजार संकलन गरिएको हवल्दार देवी पौडेलले जानकारी दिए । त्यस्तै तीन सय ४४ ट्रकबाट दुई लाख १५ हजार, तीन सय ४० बसबाट एक लाख ७७ हजार पाचँ सय, एक हजार आठ सय १३ जीपबा १० लाख १६ हजार पाचँ सय र दुई हजार दुई सय २२ ट्याक्टरबाट १३ लाख ३२ हजार राजस्व संकलन भएको छ ।
भने ४८ जनाले मादक पदार्थ सेवन जाचँबाट ४८ हजार राजस्व संकलन भएको पौडेलले जानकारी दिए । साउनदेखि चैतसम्म सबैभन्दा बढी पुष महिनामा राजस्व संकलन भएको छ । पुषमा ६४० सवारी साधनबाट कुल तीन लाख ७९ हजार राजस्व संकलन भएको छ । साउनमा पाचँ सय १८ सवारी कारवाहिबाट तीन लाख २७ हजार, भदौमा पाचँ सय ९७ सवारीबाट तीन लाख २७ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरीको तथ्यांक छ । असौजमा चार सय ६६ सवारीबाट दुई लाख ७० हजार, कार्तिकमा छ सय १० सवारीबाट तीन लाख ५९ हजार, मंसिरमा चार सय ४७ सवारी कारवाहिबाट दुई लाख ७१ हजार संकलन गरिएको छ । भने माघमा पाचँ सय नौ सवारीबाट दुई लाख ९८ हजार, फागुनमा चार सय ९ सवारीबाट तीन लाख १८ हजार पाचँ सय तथा चैतमा पाचँ सय ११ सवारीबाट तीन लाख १४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लामा कुल १३ ट्राफिक प्रहरी
गुल्मीमा कुल १३ जना ट्राफिक कार्यरत छन् । जसमध्ये सदरमुकाम तम्घासमा छ जना, रिडीमा तीनजना तथा जुहाङ्ग र श्रृङ्गामा दुई÷दुई जना रहेको हवल्दार पौड्यालले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend