logo
  • सोमबार, असोज १२ २०८३

सार्वजनिक जग्गा फिर्ता ल्याउन छिट्टै शक्तिशाली छानबीन आयोग गठन हुन्छ : मन्त्री अर्याल


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,काठमाडौं वैशाख १४ । भूमि व्यवस्था,सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कब्जा र अतिक्रमण गरिएका सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउन अधिकार सम्पन्न शक्तिशाली छानबिन आयोग गठनको तयारी भइरहेको बताएकी छन् । रिपोर्टस् क्लब नेपालद्वाराशनिबार यहाँ आयोजित साक्षात्कारमा उनले मुलुकभर जहाँ जहाँ सरकारी र सार्वजनिक जग्गा कब्जा भएका छन् त्यो सबै फिर्ता गर्ने तयारीमा सरकार जुटेको बताइन् ।

उक्त आयोगलाई सरकारी,सार्वजनिक र गुढीसम्बन्धी जग्गाको विवाद हेर्ने अधिकार दिने गरी कार्यादेश बनाइन लागेको मन्त्री अर्यालले बताइन् ।’ललिता निवासबाट लिएको शिक्षाले अब देशभरका सार्वजनिक र सरकारी जग्गा अतिक्रमण र कब्जासम्बन्धी गुनासो छानबिन गर्नु हो,’उनले भनिन्, ‘ललिता निवाससँग जोडिएर आएका विषयको छानबिनका लागि त्यस क्षेत्रका ४५० भन्दा बढी कित्ता मालपोत कार्यालय डिल्लीबजारले बिक्री वितरणका लागि रोक्का राखिसकेको छ ।’

सरकारले ललिता निवासको जग्गा विवादसम्बन्धी विषयको छानबिनका लागि गठन गरेको समितिको प्रतिवेदनका आधारमा त्यस क्षेत्रका जग्गा रोक्का गरिएको उल्लेख गर्दै मन्त्री अर्यालले भनिन्,’त्यस क्षेत्रको जग्गाको रेकर्ड भएको १०२४ र १०२५ नम्बरको फाइल नै गायब छ,त्यो फाइलभित्र धेरै कित्ता छन्, ती कित्ता पत्ता लगाउनु पर्ने हाम्रो दायित्व रह्यो,पुर्जा,कम्युटर र श्रेस्ता भिडाएर ९८ प्रतिशत कित्ताको किटान गरेर रोक्का निर्णय भएको छ ।’

रोक्का रहेको जग्गामध्ये नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीनले खरीद गरेको जग्गासमेत रहेको जानकारी दिँदै उनले बेथितिको अन्त्य गर्ने र सरकारी सम्पत्तिको रक्षा गर्ने अभियानका साथ सरकार अघि बढेको बताइन् ।

विगतमा भएको बेथिति र अतिक्रमणको विषय बाहिर आएकामा सरकारले नै भू-माफियालाई प्रोत्साहन गर्‍यो भन्ने ढङ्गबाट गलत उद्देश्य राखेर बदनाम नगर्न उनले चेतावनी दिइन् । उनले सुशासन स्थापित गर्न अघि बढेको गतिमा ठेस पुग्ने भएकाले सम्बिन्धित पक्षलाई विचार पुर्‍याएर बोल्न आग्रह गरिन् । श्रोत-रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend