साझा नेटवर्क
-हुमाकान्त पोखरेल।
जीवन बिमालाई धेरैले फरक–फरक ढङ्गले व्याख्या गर्ने गरेको पाइन्छ । ति मध्ये धेरैले बीमालाई ‘नाफा’ सँग जोडेर परिभाषित गर्दछन् । आम मानिसमा जीवन बीमा भनेको नाफा कमाउने उदेश्यले स्थापना गरिएको सँस्था वा कम्पनी हो भन्ने बुझाई छ ।

त्यो सत्य पनि हो । तर जीवन बीमा कार्य त्यतिमै सिमित भने होइन् । जीवन बीमा गर्ने कार्य र यी कम्पनीहरुको स्थापनाको फाइदा भने पर्दापछाडी लुकेको पाइन्छ । भनिन्छ, राम्रो कुराको धेरै प्रचार हुँदैन । नकारात्मक कुराको धेरै प्रचार हुन्छ । तर जीवन बीमाबारे नकारात्मक कुराको प्रचार नभएपनि राम्रो कुराको पनि प्रचार हुन सकेको छैन् । जुन अलि चित्तनबुझ्दो पक्ष हो ।
जीवन बीमा बीमित (जसले बीमा गर्छ) र बीमक (जसले बीमाको जोखिम बहन गर्छ, कम्पनी) बिचको सम्झौता हो, जुन निश्चित समयसम्म मात्र कायम रहन्छ । वास्तवमा बीमा नेपाल जस्तो विकासोन्मुख देशको लागि अति नै आवश्यक छ । किनभने हामिहरु न्यून आय भएका नागरिक हौँ ।
थोरैथोरै रकम जम्मा गरेर केहि समयपछि दोब्बर रकमको रुपमा लिई कुनै उद्यम गर्न सक्छौ । वा जवानीमा बचत गरेको रकम बुढेसकालको पेन्सन बन्न पनि सक्छ । अनि धेरैजसोको बुझाईमा जीवन बीमा धेरै पैसा हुनेले मात्र गर्ने हो भन्ने छ । जुन बुझाई गलत छ । जीवन बीमा त न्यून आयस्तर भएका व्यक्तिहरुले गर्नुपर्छ ।
किनकि अहिले थोरैथोरै रकम जम्मा गरे त्यो रकम भविष्यको सहारा बन्न सक्छ । उदाहरणको लागि नजिकै रहेका दुईवटा घरमध्ये एक घरको कुनै सदस्यको सरकारी नोकरी छ । अनि अर्को घरको परिवारले सामान्य दैनिकी मात्र चलाएका छन् ।
यस्तो अवस्थामा हामि स्वत: अनुमान गर्न सक्छौ कि, दीर्घकालमा पनि सरकारी नोकरी हुने घरमै बढी खुसि छाउछ भनेर । तर सामान्य दैनिकी चलाउने परिवारले पनि सानो–सानो रकमको बीमा गर्यो भने भविष्यमा उसको पेन्सन जीवन बीमाले प्रदान गरेको बोनस हुन्छ । जीवनमा निरास बन्नुपर्ने अवस्था आउदैन् ।
बीमा गर्ने बीमितले पैसा नभएको गुनासो गर्नुहुन्छ । हुन पनि हो, स्वदेशमै प्रशस्त सम्भावना रहेको देशमा काम गर्ने युवालाई विदेश जान बाध्य बनाएर उनैले पठाएको रेमिटान्सको करबाट आफ्नो ज्यान, परिवार र कार्यक्रता पाल्ने नेता तथा राजनीतिक दलका कारण सामान्य नागरिकसँग कहाँबाट जीवन बीमा गर्ने पैसा रहोस ? तर हार नखानुहोस् ।
एउटा उखान छ नि, ‘जहाँ इच्छ्या, त्यहाँ उपाय’ । हो, बीमामा पनि इच्छ्या रहनुपर्छ । उपाय आइहाल्छ । जीवन बीमा धेरै ठुलो रकमको गर्नुपर्छ भन्ने होइन, आफुसक्दो भने सबैले गर्नु आवश्यक छ । आजभोली अधिकाशं मानिसहरुको ध्यान विलासिताका सामाग्रीहरु तर्फ गइरहेको छ ।
जस्तै ः मोटरसाईकल, स्कुटी, जीप, कार आदि । कुनै ठाउँ जानुपरे सवारी नै कुर्छौ, वा आफूसँग भए कुदाइहाल्छौँ । कम भन्दा कम समय पनि हामि हिड्दैनौँ । यसलाई अल्छिपना भन्ने कि समयको परिवर्तन भन्ने ? आफ्नो हिसाबले बुझ्नुस । तर जोड्न खाजेको चाँही कुनै पनि सवारी साधनको बीमा अनिवार्य छ ।
यदि सवारी साधनको पनि कम्तिमा ‘थड पार्टी’ सम्मको बीमा नगरे त्यसको कर नै सरकारले बुझ्दैन । अनि सवारी चलाउन अनुमती नै हुँदैन् । त्यसरी एउटा निर्जिव वस्तु सवारी साधनको बीमा गरिन्छ । उसको मुल्य तोकिन्छ । तर त्यसैमा चढ्ने हाम्रो मुल्य खोई ? यो गम्भिर बहसको बिषय छ ।
जीवन बीमा कम्पनी नाफामुलक सँस्था हो । त्यसमा दुईमत छैन । तर यसलाई केवल नाफासँग मात्र सिमित रहेर अर्थ लगाउनुहुँदैन । वास्तवमा जीवन बीमाको भुमिका पर्दापछाडी लुकेर बसेको छ । यहाँ केहि फाईदाहरुको चर्चा गर्न खोजिएको छ ।
१. जीवन बीमा नागरिककै लागि हो । यसले जनताको हितमा काम गर्छ । सामान्यत बीमा गर्ने मानिसहरुलाई तीन उमेर समुहमा विभाजन गरी व्याख्या गर्न सकिन्छ । पहिलो त १० बर्षभन्दा मुनिका बालबालिकाहरुको बीमा गरिदियौँ भने उनीहरुलाई उच्च शिक्षा हाँसिल गर्ने बेला त्यो रकम उपयोगी हुन्छ ।
दोस्रो, त्यो भन्दा माथि ४० बर्षसम्मका व्यक्तिहरुले बीमा ग¥र्यौ भने भविष्यमा लगानीको लागि रकम उपयोगी बन्न सक्छ । त्यस्तै ४१ बर्षभन्दा माथि उमेर समुहका व्यक्तिहरुले बीमा ग¥र्यौ भने त्यो रकम बुढेसकालको सहारा बन्न सक्छ ।
२. नेपालमा अत्याधिक बेरोजगार छ । यस्तो अवस्थामा बीमा कम्पनीहरुले केहि हदसम्म भएपनि रोजगारी दिएका छन् । नेपालभर कुल १९ जीवन बीमा कम्पनी छन् । ति कम्पनीले प्रत्येक जिल्लामा दुई/दुई कर्मचारीलाई नियुक्ति दिए भने एक जिल्लामा कम्तिमा ३८ जनाले रोजगारी पाए ।
सबै जिल्लामा सबै कम्पनीका शाखा बिस्तार भइसकेका छैनन् । तर देशका ठुला शहरमा भने एकभन्दा बढी शाखा छन् । र ति शाखामा दुईभन्दा धेरै कर्मचारी छन् । त्यसैले देशभर बीमा कम्पनीमा मात्रै दुई हजार ९२६ भन्दा धेरैले रोजगारी पाएको अनुमान गर्न सकिन्छ । भने कम्पनीका अभिकर्ताहरु अत्याधिक छन् ।
ति अभिकर्ताहरुले पनि व्यक्तिको बीमा गरेबापत निश्चित पारिश्रमिक पाउँछन् । त्यसरी दैनिक जीवनयापनमा उनीहरुलाई पनि धेरै सहज भएको छ । त्यस्तै कम्पनीका पर्चा–पम्लेट छाप्ने कम्पनी, विभिन्न सेमिनार, गोष्ठि आदिमा सहभागिता जनाउदा होटल, आन्तरिक पर्यटक पर्वद्धन लगायत फाइदा पनि बीमा कम्पनीका छन् ।
३. नेपालमा चरम मात्रामा आर्थिक अभाव छ । जसका कारण प्रशस्त विकास हुन सकिरहेको छैन । भने नेपाल वैदेशिक ऋणमा डुब्न बाध्य भएको छ । यस्तो अवस्थामा बीमा कम्पनीले सरकारलाई कर बुझाएर आन्तरिक आम्दानीमा बृद्धि गरेका छन् । जसका कारण सरकारको आन्तरिक आम्दानीमा बृद्धि भई विकास निर्माणका काममा सहजता भएको छ ।
बीमा ऐन २०४९ अनुसार ‘कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएमा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिएको करारसम्बन्धी व्यवसाय’ लाई जीवन बीमा भनिन्छ । मानिसको जीवनमा धेरै जोखिमहरु हुन्छन् ।
जसमध्ये सबैभन्दा ठुलो जोखिम मृत्यु हो । विभिन्न कारणले मानिसको अकालमा ज्यान जान सक्छ । जसका कारण परिवारका सदस्यलाई आर्थिक समस्या पर्न जान्छ । यस्तो अवस्थामा बीमा कम्पनीले त्यसको जोखिम बहन गर्छ छ । र त्यो परिवारलाई बोनस रकम प्रदान गर्छ ।
जसका कारण परिवारको आर्थिक समस्या केहि हदसम्म भएपनि समाधान हुन्छ । अझै पनि गाउँगाउँसम्म नागरिकहरुलाई जीबन बीमाको फाइदाबारे बुझाउन नसक्दा उनीहरु बीमाबाट बञ्चित भएका छन् ।
बीमा कम्पनीहरु शहर केन्द्रित होइन्, गाउँ-गाउँसम्म पुग्नु जरुरी छ । सबै मानिस वा परिवारलाई बीमाको परिधिमा समावेश गरेमात्र ‘सुखि नेपाली, समृद्ध नेपाल’ बन्न सक्छ । यो कार्यमा सरकारले पनि आवश्यक सहयोग गर्नु जरुरी छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend