साझा नेटवर्क
-हीरा कुँवर, गुल्मी ।
साथी बिन्दु पन्थीको जन्मदिन गुल्मीको आशा अपांग केन्द्रमा बस्नुहुने दाजुभाई दिदिबहीनीहरुसंग संगै खाजा खाएर मनायौं । उहाँहरुका अनुभव, बसाइ र दैनिकीको बारेमा नजिकबाट बुझ्ने मौका पायौं । केन्द्रका प्रमुख गंगा रायमाझी एक सामाजिक व्यक्तित्व हुनुहुन्छ ।

अपांगता भएका थुप्रै भाइबहिनीहरुको अभिभावक हो उहाँ । अहिले पनि ६ जना भाइबहिनीहरु सोही केन्द्रमा बसेर नियमित विद्यालय पढ्दै हुनुहूँदो रहेछ । केन्द्रको सबै व्यवस्थापन समाजका केही अगुवा व्यक्ति र गंगाजीकै पहलमा भएको देखियो । विभिन्न सामाजिक व्यक्तित्व, सरकारी, गैरसरकारी र अन्तराष्ट्रिय दाताहरुको सहयोगमा यो केन्द्रको सञ्चालन भएको रहेछ ।
साथी बिन्दुलाई सबैले जन्मदिनको शुभकामना दिनुभयो । केन्द्र प्रमुख गंगा रायमाझीले पनि शुभकामना दिनुभयो, उहाँले अरु थुप्रै सुभेच्छाका शब्दहरु बोल्नुभयो र अन्तिममा भन्नुभयो “हामीजस्तो अपांग हुन तपाइलाई नपरोस्”। अपांगताको क्षेत्रमा उल्लेख्य काम गरेर देशभित्र र विदेशमा समेत सम्मानित हुनुभएकी गंगाजीको यो वाक्यले मेरो मन चसक्क भयो, साथी सञ्जीवनी अर्याललाई पनि यस्तो महसुस भएको रहेछ, जुन कुरा बाटोमा फर्किंदा भन्नुभो ।
हाम्रो समाजमा सवलांग व्यक्तिले अपांगप्रतिको गर्ने व्यवहार र सम्मानको निकै कमी रहेछ भन्ने कुरा उहाँले भन्नुभएका अरु केही अनुभवले पनि प्रष्टै भयो । यो एउटा प्रतिनिधि घटना मात्रै हो, उठान गर्न खोजिएको विषय अपांगताप्रति गरिने समग्र व्यवहार र समाजिक दृष्टिकोणको हो ।
विशेष गरी अपांगता भएका व्यक्तिहरूको अधिकारको विषय वि.सं. २०२१ बाट नै उठान गरीएतापनि त्यतिबेला दया र सहयोगमा मात्रै सीमित भएको पाइन्छ । कानुनी तथा संवैधानिक रुपबाट हेर्दा यो विषय नेपालमा २०४६ सालको जनआन्दोलनपछि अलि प्रष्टरुपमा अधिकार र सेवा तथा सुविधासँग जोडिएर आएको पाइन्छ ।
नेपालको अन्तरिम संविधान, २०६३ ले पनि राज्यको दायित्व निर्देशक सिद्धान्त तथा नीतिहरू अन्तर्गत अपाङगता भएको व्यक्तिहरूको अधिकारको व्यवस्था गर्दै सकारात्मक हिसाबले विशेष व्यवस्था गर्ने नीति अवलम्बन गरेको थियो । नेपालको संविधान २०७२ सहभागिता र प्रतिनिधित्वको दृष्टिले अपांगमैत्री बनेको छ ।
विभिन्न १४ ओटा बुँदामा संविधानले अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गरेको छ । संविधानले प्रत्येक प्रदेशबाट माथिल्लो सदनमा कम्तीमा एकएक जनाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । कानुनी रुपमा जे जति व्यवस्थाहरु छन्, यो महत्वपूर्ण उपलब्धि हो ।
साथै विगत र अहिले अपांगता भएका व्यक्तिहरुले आफुसंग भएका आन्तरिक क्षमताहरुको विकास गर्दै जानु, उनीहरुको दैनिकी र व्यवस्थापनमा राज्यको लगानी बढ्दै जानु, समाज र परिवारको समेत चासो र हेरचाह बढ्दै जानु सकारात्मक पक्ष हो । अझ उनीहरुलाई आत्मसम्मानका साथ बाँच्न र हीनताबोध महसुस हुन नदिनका लागि केही विषयहरुमा ध्यान दिनुपर्ने देखिन्छ ।
क) राज्यको लगानी : अहिले पनि अपांगता भएका व्यक्तिहरुको लागि राज्यको तर्फबाट यथोचित लगानी भएको देखिंदैन । विभिन्न वर्गमा छुट्याएर सामाजिक सुरक्षा भत्ता दिएर केही राहत त मिलेको छ । तर उनीहरुको दैनिकी, स्वास्थ्य अवस्था, खानपान, व्यक्तित्व विकास, शिक्षा र पुनस्थापनामा ठोस सहयोग पुग्ने गरी नीतिगत रुपमा नै व्यवस्था गरी लगानी गर्नुपर्ने देखिन्छ । जसले गर्दा सडकका गल्ली गल्लीमा सहयोग माग्दै हिंड्नुपर्ने अवस्थाको अन्त्य होस् ।
ख) अपांगमैत्री भौतिक संरचना : सार्वजनिक भवन, कार्यालय, सार्वजनिक स्थलमा जाने बाटो, शौचालय आदिमा अपांगमैत्री संरचना बन्नुपर्दछ । पछिल्लो समय निर्माण भएका कतिपय नयाँ सरकारी कार्यालयका भवन, आकाशे पुल आदिमा र्याम्प राख्ने, अपांगमैत्री संरचना बनाउने गरेको देखिन्छ । जुन सकारात्मक पक्ष हो ।
ग) उचित सामाजिक र पारिवारीक वातावरण : अपागंता भएका व्यक्तिहरुप्रति समाज र परिवारले गर्ने व्यवहार सकारात्मक तथा सहयोगी हुन जरुरी छ । यो परिवारको आर्थिक, सामाजिक, शैक्षिक अवस्थाको आधारमा फरक फरक हुनसक्दछ । कतिपय समाजमा अहिले पनि अपांगतालाई पापको रुपमा हेर्ने गरीन्छ ।
अपांग भएका व्यक्तिहरु परीवारभित्रै हेला भएर बस्नुपर्ने, सामाजिक रुपमा अपमानित हुनुपर्ने अवस्था पनि छ । यसको अन्त्यका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, अपांगताप्रति गर्ने व्यवहार र सोचमा नै सुधार गर्नुपर्ने देखिन्छ ।
घ) अनुभव आदान प्रदान फोरम : स्थानीय तहबाट नै समय समयमा अपांगता भएका व्यक्तिहरुका एकआपसका अनुभव साटासाट गर्ने, सफलताका कथाहरु सुन्ने , भन्ने र अरु आम व्यक्तिलाई सुनाउने फोरमको निर्माण गर्नु आवश्यक देखिन्छ ।
जसले आफुजस्तै जीवन बाँचिरहेका र सोही जीवनबाट राम्रो काम गरिरहेका व्यक्तिहरुका अनुभव आदान प्रदान गर्न सहयोग पुग्दछ । साथै उनीहरुका समस्या, अप्ठ्यारा र आवश्यकताका विषयमा समेत स्थानीय सरकारले सुनुवाई गर्नुपर्दछ ।
ङ) सामाजिकीकरण र सहभागिता : अपांगता भएका व्यक्तिहरुको सामाजिकीकरणका लागि सामाजिक सभा, समारोह, कार्यक्रममा उनीहरुलाई सहभागी गराउने गर्नुपर्दछ । जसले सामाजिक रुपमा घुलमिल हुन सहयोग पुग्दछ ।
च) जनचेतना : आम व्यक्तिहरु अपांगता भएका व्यक्तिहरुप्रति सामान्य जानकार भएतापनि उनीहरुका मुद्धाहरुप्रति त्यति संवेदनशील भएको पाइँदैन । तसर्थ अपांगताका मुद्धा अब पैरवीका मुद्धा बनाउनु जरुरी छ ।
परिवार, समाजलाई नै उक्त मुद्धाप्रति संवेदनशील बनाउन, सार्वजनिक चेतना र बुझाइको विकास गर्न सचेतना फैलाउन जरुरी छ । सवलांग व्यक्तिले अपांगता भएका व्यक्तिलाई कसरी अरु सरह सामान्य व्यवहार गर्ने, कस्तो भाषा र शब्दको प्रयोग गर्ने, अरु मानिसलाई जस्तै समान दृष्टिकोण र सोचाइ कसरी राख्ने, अपांगता भएका व्यक्तिको सम्मान कसरी गर्ने आदि विषयमा समुदाय, समाज सचेत भई सोहीअनुसार व्यवहार गर्नुपर्दछ ।
यसरी अपांगता भएका व्यक्तिहरुलाई समाजमा अन्य व्यक्ति सरह समान रुपमा बाँच्ने वातावरण निर्माण गर्न परीवार, समुदाय, समाज र राज्य संवेदनशील बन्नुपर्दछ । हामीले बोल्ने भाषा, गरिने व्यवहार, हाम्रो विचार र दृष्टिकोण सबै कुरा अपांगमैत्री बन्न सकेमा परीवर्तन हुनसक्दछ ।
नेपाली समाजमा अहिले पनि अपांगतालाई धर्मसंग जोडेर हेर्ने गरेको पाइन्छ । यो कुनै पूर्वजन्मको पाप होइन केवल शारीरिक तथा मानसिक फरकपनमात्रै हो भन्ने सचेतना हरेक नागरिकले बुझ्न जरुरी छ ।
अपांगता व्यक्तिका अप्ठ्यारा, सहयोग गनुपर्ने विषय, उनीहरुप्रति गरीने व्यवहार, बोन्नुपर्ने भाषा सम्बन्धी विभिन्न अन्तरक्रिया, छलफल र सार्वजनिक चासोको विषय बनाउनु पर्ने देखिन्छ । जसले उनीहरुलाई आत्सम्मानका साथ समाजमा बाँच्नका लागि सहयोग गर्दछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend