साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
नेपाल पत्रकार महासंघ कतार शाखाले नेपाल सरकारका नाममा ज्ञापन पत्र बुझाएको छ । शाखाका अध्यक्ष करिम बक्स मियाँको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले दोहा स्थित नेपाली नियोग प्रमुख प्रोफेसर रमेश प्रसाद कोईराला मार्फत नेपाल सरकारलाई ज्ञापन-पत्र बुझाएको हो।

राज्यद्वारा विधुतीय ऐनको दफा ४७ र ४८ अन्तर्गत देश भरीबाट समाचार लेखेकै भरमा पत्रकारहरुलाई पक्राऊ गर्न थालेपछि नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ।

महासंघले विधुतीय ऐनको दफा ४७ र ४८को खारेजी, पक्राऊ परेका पत्रकारहरुको बिना शर्त रिहाई जस्ता माग राखेर आन्दोलन चर्काए लगत्तै कतार शाखाले महासंघको आन्दोलनप्रती ऐक्यबद्धता जनाउँदै कतारबाट सरकारको नाममा ज्ञापनपत्र बुझाएको हो।
राज्यद्वारा पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दफा अन्तर्गत पटकपट पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघले धर्ना बस्ने, विरोध पत्र बुझाउने लगायत आन्दोलनको तालीका समेत सार्वजनिक गरेको छ।
गत बुधबार महासंघका महासचिव रमेश बिष्टले एक विज्ञप्ती जारी गर्दै सबै शाखाहरु,पत्रकारहरु र सन्चार माध्यमहरुलाई आन्दोलनलाई सफल पार्न आव्हान गरेका थिए।
नेपाल पत्रकार महासंघ कतार शाखाको तर्फबाट प्रतिनिधि मण्डलमा सचिव दिलकुमार श्रेष्ठ, सल्लाहकार क्रान्ती सिंह, पुर्व कार्यसमिति सदस्य चिरञ्जीवी तिमिल्सिना लगायत सहभागी थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend