logo
  • सोमबार, असोज १२ २०८३

एक बर्ष नहुँदै डेढ करोडको योजना सम्पन्न यो आर्थिक बर्षसम्म १३८७ घरमा खानेपानीको धारा पुग्दै


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल गुल्मी चैत्र २९ । नेपालमै संचालन गरिने अधिकाशं विकास निर्माणका योजनाहरु बर्षैसम्म अलपत्र अवस्थामा छन् । त्यस्ता योजनाहरुले एकातर्फ राज्यको स्रोत र साधनको दुरुपयोग गरिरहेका हुन्छन् भने अर्कोतर्फ देश समृद्ध बन्ने बाटोमा पनि असर पुराइरहेका हुन्छन् । तर चुस्त व्यवस्थापनका कारण कतिपय योजना भने समयमै सम्पन्न हुने गर्दछन् । त्यस्तै समयमै सम्पन्न हुनेमध्येको एक योजना हो, धुर्कोट गाउँपालिका ३ हाडहाडेस्थित ‘घोस बर्दबास खानेपानी तथा सरसफाई योजना ।’ नेपाल सरकार, फिनल्यान्ड सरकार, धुर्कोट गाउँपालिका र स्थानीयको आर्थिक तथा श्रमदानमा निर्धारित समयभन्दा ६ दिन अगाडी नै योजना सम्पन्न भएको हो । वि.स. २०७५ साल वैशाख ११ गतेबाट योजनाको काम सुरु भएको थियो । तर फागुन ३० गतेसम्म सम्पन्न भइसक्नुपर्ने खानेपानी योजनाको काम फागुन २३ गतेदेखि नै संचालनमा आएको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण धुर्कोट गाउँपालिका संयोजक छविलाल विश्वकर्माले जानकारी दिए ।

योजनाको चैत्र २७ गते ५ नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले उद्घाटन गरे । योजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले योजना सम्पन्न गर्नुमात्र नभई त्यसको दीगो प्रयोग हुनुपर्नेमा जोड दिए । ‘धेरै ठाउँमा योजना सम्पन्न हुन्छन्, तर उचित संरक्षणको अभावमा केहि समयमै प्रयोगविहिन हुन्छन् ।’ उनले भने, ‘यसका लागि स्थानीयकै सक्रियतामा संरक्षणको आवश्यकता हुन्छ ।’ त्यसका साथै उनले ५ नम्बर प्रदेशले आगामी चार बर्ष भित्रमा प्रदेशभित्रका सबै नागरिकको घरमा स्वच्छ खानेपानीको धारा पु¥र्याउने लक्ष्य लिएको पनि जानकारी गराए । मानव विकास सुचकाकंको हिसाबमा चौथो प्रदेशको रुपमा रहेको पाचँ नम्बर प्रदेशलाई पहिलो नम्बरमा ल्याउने पनि उनले दाबी गरे ।

त्यस्तै सोहि क्षेत्रका प्रदेश सभा सदस्य दिनेश पन्थीले आफुले निर्वाचनताका बोलेका कुराहरु पुरा गरेरै छाड्ने प्र्रतिवद्धता गरे । गाउँमा विकासका योजनाहरु द्रुत गतिमा अगाडी बढेको खण्डमा बजेटको अभाव हुन नदिने पनि उनले आश्वासन दिए ।

१ करोड ३१ लाखमा १३३ घरमा खानेपानीको धारा

घोस बर्दबास खानेपानी तथा सरसफाई योजनाबाट कुल एक सय ३३ घरधुरीका सात सय ८९ नागरिक लाभाम्बित भएका छन् । जसमध्ये तीन सय ७४ महिला तथा चार सय १५ पुरुष लाभाम्बित भएको पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण धुर्कोट गाउँपालिकाका संयोजक छविलाल विश्वकर्माले जानकारी दिए । उक्त योजना कुल एक करोड ३१ लाख ९५ हजार ७३४ को लागतमा सम्पन्न भएको हो । जसमध्ये नेपाल सरकारको ४० लाख ८२ हजार ३२५, फिनल्यान्ड सरकारको पनि त्यत्ति नै अर्थात ४० लाख ८२ हजार ३२५ लगानी रहेको छ । धुर्कोट गाउँपालिकाको १३ लाख १९ हजार, उपभोक्ताको नगद एक लाख ३१ हजार ९५७ तथा उपभोक्ताको श्रमदान ३५ लाख ७९ हजार ७४३ रहेको विश्वकर्माले जानकारी दिए ।

योजना सम्पन्न भएपछि घरघरमै खानेपानीको धारा आएसँगै घण्टौ लगाएर खोला–पधेँराबाट पानी ल्याउनुपर्ने स्थानीयको बाध्यता हटेको छ । ‘आधा घण्टा भन्दा बढी समय लगाएर स्थानीय पधेँरोबाट पानी ल्याई विद्यार्थीहरुलाई खुवाउनुपथ्र्यो ।’ जीवन निर्माण प्राथमिक विद्यालयका प्रध्यानाध्यापक भुवनेश्वर पन्थीले भने, ‘अहिले विद्यालयमै चौविसै घण्टा पानी आएसँगै निकै हर्षित छौ ।’ त्यसका साथै उनले लामो समयदेखि हाडहाडेस्थित घोस बासिले भोग्दै आएको खानेपानी समस्याको पनि अन्त्य भएको बताए ।

यो बर्ष ५९४ घरमा पानीको धारा पुग्दै

गुल्मीमा स्थानीय तहको निर्वाचनका बेला सबैजसो स्थानीय तहका सबै उम्मेद्धारहरुले आफुले जितेमा पाचँ बर्षभित्र ‘एक घर एक धारा’ पु¥र्याउने प्रतिवद्धता गरेका थिए । त्यसैअनुसार धुर्कोट गाउँपालिकामा पनि खानेपानीका योजनाहरु संचालन भइरहेका छन् । स्थानीय जनश्रमदान, गाउँपालिका, प्रदेश सरकार, केन्द्र सरकार र फिनल्यान्ड सरकारको संयुक्त साझेदारीमा गाउँपालिकामा खानेपानी आयोजनाका काम भइरहेको गाउँपालिकाका योजना शाखा प्रमुख नारायण फुल्देलले जानकारी दिए ।

यो बर्ष कुल दुई करोड ५५ लाख ९२ हजार ५४९ मा ३७ वटा खानेपानी योजना सम्पन्न हुदैछन् । जसमध्ये ३२ वटा योजना गाउँपालिकाद्धारा विनियोजन गरिएको बजेटबाट सम्पन्न हुँदैछन् । उपभोक्ता समितिमार्फत सम्पन्न हुने ती योजनाबाट कुल ३०३ घरमा खानेपानीको धारा पुग्ने गाउँपालिकाका योजना शाखा प्रमुख फुल्देलले जानकारी दिए । भने बाँकि पाचँ वटा प्रदेश सरकारको साझेदरीमा सम्पन्न हुँदैछन् । साझेदारीबाट सम्पन्न हुने योजनाबाट कुल २९१ घरमा ‘एक घर एक धारा’ पुग्ने गाउँपालिकाले जनाएको छ । यसरी स्थानीय स्तर र प्रदेश सरकारबाट समेत गरी यो आर्थिक बर्षमा कुल ५९४ घरमा खानेपानीको धारा पुग्ने प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थीले जानकारी दिए । अहिलेसम्म कुल ७९३ घरमा पानीको धारा पुगिसकेको छ ।

भने यो आर्थिक बर्षको अन्त्यसम्म गरी कुल एक हजार ३८७ घरमा खानेपानीको धारा पुग्ने पन्थीले जानकारी दिए । ‘निर्वाचनका बेला एक घर एक धाराको प्रतिवद्धता गरेका थियौँ, अहिले त्यसैअनुसार काम गरिरहेका छौ ।’ गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले भने, ‘संविधानमै ग्यारेन्टी गरेको खानेपानीसम्बन्धी मौलिक हकलाई पुरा गर्दैछौ ।’

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend