साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी चैत्र २०।
प्रथम सांस्कृतिक तथा पर्यटन महोत्सब एवं ब्यापार मेलाको सवै तयारी पुरा भएको छ । चैत्र २० देखि ३० गतेसम्म संचालन हुने महोत्सवको स्टल निर्माण, मञ्च व्यावस्थापन, रमाइलो मेला व्यावस्थापन तथा अन्य सवै काम सकिएको महोत्सव मुल आयोजक समितिका संयोजक नवराज भुसालले जानकारी दिए ।
निकै चुनौतिकाबिच गुल्मी चेम्बर अफ कर्मशले महोत्सवको आयोजना गरेकाले दर्शकहरुलाई केहि नयाँपनको आभास दिलाउन केहि नयाँ काम गरिरहेको सह–संयोजक भुसालले बताए ।
खादा प्रतिबन्द: गुल्मेली कफी उपहार
प्रथम सांस्कृतिक तथा पर्यटन महोत्सब एवं ब्यापार मेलामा खादा प्रयोगमा प्रतिबन्द लगाइएको छ । आयोजकले खर्च कम गर्ने र स्थानीय मालाको प्रर्बद्धन गर्ने उदेश्यले महोत्सव अवधिमा कुनै पनि खादा प्रयोग नगर्ने गुल्मी चेम्बर अफ कर्मशका महासचिव कृष्ण प्रसाद भण्डारीले जानकारी दिए । त्यस्तै महोत्सवमा आउने सवै अतिथी र कलाकारहरुलाई गुल्मेली कफी उपहार प्रदान गरिने भएको छ । जिल्लाको पहिचानको रुपमा रहेको कफीको प्रचार प्रसार गर्ने उदेश्यले सवै पाहुनालाई कफी प्रदान गर्ने निर्णय आयोजकले गरेको भण्डारीले बताए ।
छुटै–छुटको नयाँ आकर्षण
महोत्सवमा छुटै–छुटको नयाँ आकर्षण थपिएको छ । यो बिगतका महोत्सवमाभन्दा नयाँ गरिएको छ । आयोजकले महोत्सवमा ७० वर्ष भन्दा माथिका बृद्धबृद्धाहरु निशुल्क टिकटको व्यावस्था गरेको छ । भने बिद्यार्थी र एकल महिलाहरुलाई पनि प्रबेश टिकटमा ४० प्रतिशत छुट दिइने व्यावस्था स्टल संयोजक प्रकाश बुढाथोकीले बताए । महोत्सव अबलोकनको लागि प्रति व्यक्ति रु ५० रुपैयाँको टिकट रहेको छ । एकल महिलाहरु, बिद्यार्थीहरुले छुट अनुसार रु ३० रुपैयामा प्रबेश टिकट पाउने छन् ।
कुन स्थानीय तहको के आकर्षण ?
गुल्मी महोत्सवमा जिल्लाका १२ स्थानीय तहले आआफ्नै प्रमुख उत्पादन र पहिचान प्रर्दशन गर्ने भएका छन् । इस्मा गाउँपालिकाले सेरामिक्सबाट उत्पादन भएका माटाका भाँडालाई प्रमुख आकर्षणको रुपमा राख्ने भएको छ । भने इस्माली कोदो पनि स्टलमा राखिने इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए । मदाने गाउँपालिकाले कलात्मक ढुंगालाई आफ्नो आकर्षण बनाएको छ ।
आलु उत्पादनमा राम्रो मानिएको मालिका गाउँपालिकाले महोत्ससव अवधीमा आलुको स्टल राख्ने भएको छ । मासुमा आत्म निर्भर रहेको धुर्कोट गाउँपालिकाले बोका र सुन्तलाको जुस साथै सत्यवति गाउँपालिकाले बोका र शालिकग्राम शिलालाई महोत्सवमा राख्ने गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए । काली गण्डकी गाउँपालिकाले कालो सिमी, मुसिकोट नगरपालिकाले आँपचौरको कफी र वामीको महलाई आकर्षणको रुपमा राख्ने भएको छ ।
गुल्मी दरवार गाउँपालिकाले खुकुरी, छत्रकोट गाउँपालिकाले खुदो र रुरु गाउँपालिकाले गुणलाई महोत्सवमा प्रर्दशनका लागि ल्याउने महोत्सव प्रचार प्रसार समिति संयोजक जर्नादन घिमिरेले बताए । त्यस्तै चन्द्रकोट गाउँपालिकाले सिलाम र भाँगोलाई स्टलमा राख्ने भएको छ । महोत्सवमा दुई सय ३० स्टल रहेका छन् । स्थानीय होटललाई १० र फेन्सीलाई २० प्रतिशत छुटको व्यावस्था गरिएको छ ।
नेपाली सेनाको सरायँ
गुल्मी महोत्सवमा नेपाली सेनाको बिरभद्र जंग गुल्मले मौलिक ऐतिहासिक सरायँ नाच प्रस्तुत गर्ने भएको छ । त्यस्तै दिव्रुङ, भार्से, जुभुङ, बलिथुमको भैलो, कौडा तथा सोरठी महोत्सव अवधिमा प्रस्तुत गरिने योजना रहेको महोत्सव सचिवालय सदस्य अनिल खत्रीले बताए । साथै जिल्लाका विभिन्न स्थानका पञ्चेवाजा र अन्य जाति बिशेषको नाच तथा परिकारहरु महोत्सवमा राखिने खत्रीले बताए ।
मेलामा झण्डै छ दर्जन वढि नेपालका ख्याती प्राप्त हास्य व्यग्य सहित बिभिन्न बिधाका कलाकारहरुको प्रस्तुति रहने भएको छ । महोत्सवबाट बचत भएको रकम मध्ये ४० प्रतिशत सामाजिक कार्यमा र ६० प्रतिशत संस्थागत बिकासमा खर्चिने महोत्सव मुल आयोजक समिति संयोजक युवराज न्यौपानेले बताए ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend