logo
  • सोमबार, असोज १२ २०८३

अपडेट : बारा र वीरगञ्जका अस्पताल घाइतेले भरिए, रगतको अभाव


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

काठमाडौं, चैत्र १८ ।
हावाहुरीले मच्चाएको बितण्डमा परी बारा र पर्सामा आइतबार ५० जनाको मृत्यु भएको अपुष्ट खबरहरु आएका छन् । घाइतेको संख्या उच्च रहेको छ । हावाहुरीले ढालेका पोल, रुख तथा घरका छाना भत्काउँदा त्यसमा च्यापिएर ठूलो संख्यामा मानवीय क्षति भएको हो । करिब ५ सय घाइते भएका छन् ।

पर्साको वीरगञ्जका सबै स्वाथ्य संस्थाहरुमा घाइतेले भरिएको पर्सा प्रहरी प्रमुख रेवती ढकालले जानकारी दिए । घाइतेको संख्या ठूलो भएपछि रगतको अभाव देखिएको छ । रगतका लागि समाजिक सञ्जालहरुमा अभियानसमेत चलाइएको छ । वीरगञ्ज जान सक्नेहरुलाई रक्तदानका लागि त्यहाँ जान अपिल गरिएको छ ।

यसअघि प्रधानमन्त्री केपी ओलीले २५ जनाको मृत्यु भएको र ४ सय घाइते भएको ट्वीटरमाफर्त जानकारी दिएका थिए । बारा प्रहरी प्रमुख एसपी सानुकुमार भट्टराईले शवहरु थोरै फेला परे पनि मृतकको संख्या बढ्न सक्ने डिसीनेपाललाई बताएका छन् ।

प्रधानमन्त्री ओलीले अर्को ट्वीट गर्दै उद्धार गर्न विमानस्थलमा नाइटभिजन हेलिकोप्टर अलर्ट राखिएको बताएका छन् । उनले मौसममा सुधार भए तत्कालन उद्धारका लागि नाइटभिजन हेलिकोप्टर । जाने बताएका छन् । उनले उद्धारमा खटिन सिंगो पार्टी पँक्तिलाई पनि निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले नेपाली सेनाको दुई बटालियन उद्धारका लागि परिचालन गरिएको जानकारी दिएका छन् । उनले मौसममा भएको खराबीका कारण उद्धारकर्मीसहित नाइट भिजन हेलिकोप्टरले उडान भर्न नसकेको बताएका छन् ।बारा र पर्साका सबै अस्पतालहरु घाइतेले भरिएका छन् ।

उपचारमा रगतको निकै कमी भएको जनाइएको छ । औषधिको भने समस्या नभएको बताइएको छ । ओलीको ट्वीटमा भनिएको छ, ‘हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएकोछ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

बारा र पर्सा प्रहरीले भने ७ जनाको शव फेला परेको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुकुमार भट्टराईले बाराको कैलया अस्पतालमा ४ जनाको शव राखिएको बताए । उनले क्षतिको पूर्ण विवरण आइन नसकेको भन्दै मृतकको संख्या पनि बढ्ने सक्ने डिसीनेपाललाई बताए ।

बाराको दक्षिणी क्षेत्र फेटा पुरैना गाउँपाकिलामा हावाहुरीले व्यापाक क्षति पुर्याएको छ । एसपी भट्टराईले घाइतेहरु र मृतकहरुको शव संकलनमा प्रहरी सक्रिय भएको जानकारी दिए । उनले प्रहरी राहत तथा उद्धारमा खटिएको जानकारी दिए ।

उता जिल्ला प्रहरीका कार्यालय पर्साका रेवती ढकालले पर्सामा हालसम्म ३ वटा शव फेला परेको बताए । उनले सयौं घाइते भएको बताए । घाइतेहरुको वीरगञ्जस्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको बताए । उनले वीरगञ्जका प्रयाः अस्पतालहरुमा घाइतेहरुको उपचार भइरहेको बताए ।

हावाहुरीले विद्युतका पोल ढेलेका छन् भने पर्खालहरु पनि भत्केका छन् । यस्तै घरका छानासमेत भत्केका छन् । यी ढलेका पोल र पर्खालमा च्यापिएर मानवीय क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend